मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
महामारी

लम्पी स्किन विरुद्धको खोपका लागि ६ प्रदेशले छुट्याए बजेट, आयातका लागि परेन निवेदन

शुक्रबार, २६ साउन २०८०, ०६ : २५
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । लम्पी स्किन महामारीले लाखौँ पशु संक्रमित र हजारौँ पशु मरेपछि सरकारले खोप आयातका लागि बाटो खुलाएको छ ।  सरकारले किसानलाई राहत दिने नाममा केही व्यक्तिको फाइदाका लागि जैविक पदार्थसम्बन्धी भेटनरी मापदण्ड २०६३ लाई संशोधन गरी खोप गोटपक्स खोप आयात गर्ने बाटो खुलाएको हो । तर, खोप आयातका लागि भने निवेदननै परेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मापदण्ड संशोधन गरी गोटपक्स ल्याउन अनुमति दिएको दुई साता पुगे पनि खोप खरिदका लागि आवेदन नपरेको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक तथा सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिए ।

गोटपक्स खोप आयात गर्न इच्छुकले नेपाल एकद्वार राष्ट्रिय प्रणालीमा निवेदन दिन सक्ने उनले बताए ।उनले भने, ‘खोप आयातकर्ताले पेश गरेको कागजात पुगेको खण्डमा विभागको आयात निर्यात प्राविधिक उपसमितिले आवेदन भेरिफाइ गरी सिफारिस समितिमा निवेदन पठाइ तत्काल आकस्मिक बैठक बसी विभागले फाष्ट ट्«याकबाट अनुमति दिनेछ ।’ 

विभागबाटतिपाएका आयातकर्ताले गोटपक्स उत्पादन गर्ने राष्ट्रहरूबाट खरिद गर्न सक्ने उनले बताए ।

विभागले खोप खरिद गर्छ त ?
६ वटा प्रदेशले लम्पी स्किन रोग विरुद्धको खोप खरिदका लागि बजेट विनियोजन गरेका छन् ।  यस अघि पशु विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त १३ लाख डोज निथ्लिङ स्ट्रेन खोप आयात गरिएको थियो । 

एक पशु विज्ञका अनुसार बिचौलियाको प्रभावमा परी मापदण्ड २०६३ लाई संशोधन गरी गोट पक्सखोपका लागि अनुमति दिइएको छ । यसरी खोप खरिदका लागि बाटो खुलाइएको गोटपक्स खोप भेडाबाख्रालाई दिने विज्ञको भनाइ छ । यद्यपि नेपालमा बाख्रामा गोट पक्स रोग देखा नपरेको विभागको भनाइ छ । 

नेपालमा हाल लम्पी स्किन रोगबाट १ लाख ७५ हजार ५५३ पशु सक्रिय संक्रमित छन् भने ४७ हजार ६४९ पशु मरेका छन् । लम्पी स्किन देखापरेदेखि १३ लाख ५ हजार ३६१ पशु संक्रमित भएको विभागले जनाएको छ । 

यता विभागका सूचना अधिकारी डा ढकालका अनुसार पालिका, प्रदेश, निर्देशनालयहरूले लम्पी स्किन रोग विरुद्धको खोप खरिद गर्दा आफ्नो बजेटअनुसार र इच्छाअनुसार गोड पक्स वा निथ्लिङस्ट्रेन खोप आयात गर्न सक्छन् ।

उनले भने, ‘विज्ञहरूको सुझावमा र गोट पक्स खोप चाइना भारत लगायतका राष्ट्रमा प्रयोग भईसकेको छ । किसानहरूले रोजेर खोप आयात गर्न सक्छन् ।’ विभागले लम्पी स्किन विरुद्धको खोप खरिद गरी प्रदेश तथा स्थानीय निकायलाई वितरण नगर्ने हुँदा तिनले आफै खरिद गर्न पाउने व्यवस्था भएकाले खोप रोज्न सक्ने उनले बताए ।

खोप आयातका लागि बजेट विनियोजन
विभागका अनुसार कोशी तथामधेसप्रदेशले खोप खरिदको लागि ५०-५० लाख रुपैया विनियोजन गरेका छन् ।यस्तै, गण्डकी प्रदेशले१ करोड तथा बागमती प्रदेशले ६५ लाख बजेट विनियोजन गरेको छ ।

उता, लुम्बिनी प्रदेशमा खोप खरिद कार्यको लागि थप २ करोड ८३ लाख बजेट व्यवस्थाको प्रक्रिया अघि बढेको विभागका सूचना अधिकारी डा. ढकालले बताए ।

सक्रिय संक्रमित कति?
नेपालमा ०७७ असार महिनामा पहिलो पटक मोरङको सुन्दरहरैंचा नगरपालिकामा गाईमा लम्पी स्किन पुष्टि भएको थियो । त्यसपछि  छिटफुट रुपमा देखिँदै हराउँदै गरेको यो रोग विगत पाँच महिना यता क्रमशः बढ्दै महामारीको रुपमा देखिएको छ ।

नेपालमा हाल लम्पी स्किन रोगबाट १ लाख ७५ हजार ५५३ पशु सक्रिय संक्रमित छन् भने ४७ हजार ६४९ पशु मरेका छन् । लम्पी स्किन देखापरेदेखि १३ लाख ५ हजार ३६१ पशु संक्रमित भएको विभागले जनाएको छ । 

हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात गरिएको छ, जुन सातै प्रदेशका विभिन्न जिल्लामा ४ लाख ४५ हजार ९४५ पशुलाई खोप दिइएको छ ।

खरिद गरिएको खोप विभागको सिफारिसमा जोर्डन, तान्जानिया र टर्कीबाट आयात गरिएको हो । अहिले बागमती प्रदेशले अघिल्लो आवमा खरिद गरिएको खोप दिइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप