शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

प्रहरीले नै सूचना चुहाउँदा विजय गच्छदारसहित ३ पूर्वमन्त्री फरार

पूर्वमन्त्री जोशीले भने, ‘म त घरमा नै छु, मेरो फोन सम्पर्क पनि चालु छ’
शुक्रबार, २६ साउन २०८०, १२ : ५९
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । पूर्व राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पनि पक्राउ पुर्जी आएको छ । तर, साह अहिले नख्खु कारागारमा थुनामा छन् ।

जनकपुर बम काण्डमा थुनामा परेका साहलाई नख्खुस्थित डीआरसी ब्लकमा राखिएको नख्खु कारागारकी जेलर कल्पना घिमिरे नेपालले बताइन् । उनले भनिन्– ‘पूर्व राज्यमन्त्री साह ५ वर्षदेखि नख्खुमा हुनुहुन्छ ।’

पक्राउ पुर्जी जारी भएको सुराक पाएपछि ३ जना पूर्वमन्त्रीहरु फरार भएको प्रहरीको दाबी छ । पूर्वमन्त्री चन्द्रदेव जोशीले भने आफू फरार नरहेको जनाएका छन् । उनले शुक्रबार ट्वीटरमार्फत भनेका छन्, ‘म त घरमा नै छु, मेरो फोन सम्पर्क पनि चालु छ ।’

आफूले जीवनभर राजनीति र देशको लागि त्यागमात्र गरेको उल्लेख गर्दै पूर्वमन्त्री जोशीले कहिल्यै कुनै स्वार्थमा नपरेको जिकिरसमेत गरेका छन् ।

फौजदारी मुद्दामा संलग्न देखिएपछि प्रहरीको आग्रहमा अदालतबाट न्यायाधीशले पक्राउ पुर्जी जारी गर्छन् । आरोपित पक्राउ गर्नुअघि पुर्जी जारी भएको विषय गोप्य राख्नुपर्ने भए पनि सो सूचना चुहिँदा कसुरमा संलग्नहरू भाग्ने गरेका छन् ।

उप–प्रधानमन्त्री विजय गच्छदार सहितका पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना प्रहरीबाट चुहिएको थियो । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४७ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरु संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

साउन २१ मा पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले गच्छदार समेतलाई खोजी सूचीमा राखेको छ । तर, पक्राउ गरेको छैन । राजनीतिक पहुँच भएका पूर्व मन्त्रीहरूलाई पक्राउ नगरेको बारे प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायत ‘थुना बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने’ बताउँछन् ।

रातोपाटीसँग कुरा गर्दै कडायतले भने– ‘कतिपय अवस्थामा पक्राउ नगरीकन पनि अनुसन्धान गर्ने अधिकार अनुसन्धान अधिकृतलाई हुन्छ ।’ अनुसन्धान अधिकृतले शंकितलाई जिल्ला सरकारी वकिल कार्यालयमा बोलाएर बयान गर्न र छाड्न सक्ने अधिकार भएको डीआईजी कडायतले बताए ।

कसको भूमिका के ?

भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदार जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । गच्छदारसँगै राज्यमन्त्री थिए, सञ्जय साह ‘टकला’ । २०७६ पुसमा सीआईबीले गृह मन्त्रालयमा बुझाएको छानबिन प्रतिवेदनले ‘सरकारी लिखत किर्ते’ मुद्दामा उनीहरूलाई कारबाहीको सिफारिस गरेको थियो । उप–प्रधान तथा मन्त्री भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गरेर ‘टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा लगेको’ ब्युरोको छानबिनबाट देखिएको छ ।

२०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी मन्त्री गच्छदारकहाँ पेश गरेका हुन् । सो प्रस्ताव राज्यमन्त्री सञ्जय साह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए ।

निवास बिस्तार र ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । सभामुख निवासबाट एनआरएनए भवनतर्फ जाने बाटोमा ८ रोपनी जग्गा परेको छ । सो प्रस्तावमा तत्कालीन सह–सचिव नारायणगोपाल मलेगोले टिप्पणीमा रायसहित पेश गरेका थिए ।

पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ भूमिसुधार मन्त्री हुँदा ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका छन् ।

२०६९ मा ‘पशुपति टिकिन्छा गुठी’को नाममा जग्गा दर्ता गर्ने निर्णय हुँदा चन्द्रदेव जोशी भूमि सुधार तथा व्यवस्था मन्त्री थिए । चन्द्रदेव जोशीले पनि ‘टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको’ आरोपमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भूमिसुधार मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने कार्यमा तत्कालीन सचिव दिनेशहरि अधिकारी पनि संलग्न देखिएका छन् । सीआईबीको प्रतिवेदनमा भनिएको छ– ‘सचिव दिनेशहरि अधिकारीले टिप्पणी रायसहित मन्त्रीज्यू समक्ष पेश गरेको र भूमि सुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीले टिप्पणी सदर गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको ।’ अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार पूर्व सचिव अधिकारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

डम्बर श्रेष्ठले पनि तत्कालीन सचिव छविराज पन्तले लगेको राय सहितको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेका थिए । त्यतिवेला माधव घिमिरे मुख्य सचिव थिए । घिमिरे अहिले बेपत्ता छन् । पशुपति टिकिन्छा गुठी खडा गर्दा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छानबिन समितिको ठहर छ ।

अध्यावधिक गरिएको

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप