बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सडक विभागको प्रगति ७० प्रतिशत, वैदेशिक सहायताका आयोजनाको प्रगति  कम

आइतबार, २८ साउन २०८०, १५ : २१
आइतबार, २८ साउन २०८०

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९/८० मा ७० प्रतिशत भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरेअनुसार नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।  

अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति सोचेअनुरुप हुन नसकेको उनको भनाइ थियो । उनले भने, “विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको थियो । त्यस अनुसार काम हुन सकेनन् ।” 

वैदेशिक सहायताका आयोजनामा आवश्यकता भन्दा बढी स्रोत राख्ने गरिएकाले अन्य आयोजनाको तुलनामा कम प्रगति हुने गरेको महानिर्देशक ढकालले बताए । “सरकारले एक वर्षमा रकम विनियोजन गरेको आधारमा प्रगति मापन गरिन्छ”, उनले भने, “वैदेशिक सहायता र नेपाली गरी दुई किसिमको स्रोत विनियोजन भएका हुन्छन् । सोही अनुसार प्रगति पनि फरक हुन्छ ।”

बुटवाल–नारायणगढ सडकका लागि रु सात/आठ अर्बभन्दा बढी खर्च गर्न नसकिने जानकारी गराइएको जनाउँदै महानिर्देशक ढकालले उक्त आयोजनाका लागि १० अर्ब बढी रकम विनियोजन भएको बताए । “बुटवाल–नारायणगढ वैदेशिक आयोजना भएकाले बढी रकम विनियोजन भयो । जसले गर्दा कम प्रगति देखियो”, उनले भने ।

राष्ट्रिय गौरवका सडक आयोजनामा अघिल्ला वर्षको तुलनामा गत वर्ष बढी प्रगति भएको ढकालले बताए । उनका अनुसार उत्तर दक्षिण करिडोरअन्तर्गत कोशी, कर्णाली र कालीगण्डकी राजमार्ग पर्दछन् । कोशीमा ४२, कालीगण्डकीमा ४३ र कर्णालीमा २४ प्रतिशत भौतिक प्रगति भएको ढकालले जानकारी दिए । उनका अनुसार पुष्पलाल (मध्यपहाडी) मा ७२ र हुलाकी राजमार्गमा ९१ प्रतिशत प्रगति भएको थियो ।  

झन्डै तीन आर्थिक वर्षमा कोभिडका कारण अपेक्षाकृत काम हुन नसकेको बताउँदै महानिर्देशक ढकालले अघिल्ला वर्षको तुलनामा गत आवमा सन्तोषजनक प्रगति भएको उल्लेख गरे । विभागले सङ्घीय सडक र त्यसअन्तर्गतका पुलको निर्माण तथा मर्मत गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप