बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी अफ्रिकामा प्रवासी चढेको डुङ्गा पल्टियो, ६० भन्दा बढीको मृत्यु भएको आशङ्का

बिहीबार, ३२ साउन २०८०, ०९ : ५२
बिहीबार, ३२ साउन २०८०

पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीको डुङ्गा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ ।

उक्त डुङ्गामा करिब १०० जना सवार थिए, जसमध्ये अधिकांश सेनेगल र सियरा लियोनका थिए र एक महिनादेखि समुद्र यात्रा गरिरहेका थिए ।

यो दुर्घटना कहिले भएको हो भन्ने अझै खुलेको छैन ।

पुलिसले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार जहाज पहिलो पटक सोमबार देखिएको थियो । प्रारम्भिक रिपोर्टमार्फत डुङ्गा डुबेको जानकारी प्राप्त भयो । 

प्रहरीका अनुसार काठको डुङ्गा साल टापुबाट लगभग ३२० किलोमिटर (२०० माइल) पर देखिएको थियो । त्यसपछि अधिकारीहरूलाई सतर्क गरिएको थियो ।

सेनेगलको विदेश मन्त्रालयले मङ्गलवार ढिलो जारी गरेको विज्ञप्तिमा उक्त डुङ्गा १०१ जना यात्रु लिएर सेनेगलबाट जुलाई १० मा प्रस्थान गरेको जनाएको छ ।

मन्त्रालयले केप भर्डेका अधिकारीहरूसँग बाँचेकाहरूलाई फिर्ता गराउनका लागि सम्पर्कमा रहेको बताएको छ ।

केप भर्डे स्पेनिस क्यानरी टापुका लागि समुद्री मार्ग हो, पश्चिमी अफ्रिकाको तटबाट लगभग ६०० किलोमिटर टाढा, जुन प्रायः युरोपियन युनियनमा प्रवेश गर्न प्रयोग गरिन्छ ।

आइओएमका प्रवक्ता सफा मशेलीले भनिन्, ‘माइग्रेसनका लागि सुरक्षित र नियमित मार्गको निकै कमी छ । जसले गर्दा मानव तस्करहरूलाई त्यस्ता जोखिमपूर्ण मार्गमा मानिस पठाउने अवसर मिल्छ ।’

आइओएमको तथ्याङ्कअनुसार सन् २०२२ मा क्यानरी टापु पुग्ने प्रयास गर्दा कम्तीमा ५५९ जनाको ज्यान जाने अनुमान गरिएको छ भने यस वर्षको पहिलो ६ महिनामा सोही मार्गमा १५ वटा जहाज दुर्घटनामा परी १२६ जनाको कि त मृत्यु भएको कि घाइते भएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप