शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा स्याउखेती विस्तार

बिहीबार, ३२ साउन २०८०, १४ : १०
बिहीबार, ३२ साउन २०८०

गण्डकी । गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । 

हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ स्याउका लागि उर्बर भूमि हुन् । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए ।

स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट तीन सय ९२ र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत एक सय ८० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको उनको भनाइ छ । “मुख्यरुपमा मुस्ताङ र मनाङमा स्याउ खेतीलाई केन्द्रित गरिएको छ, अरु जिल्लाका उच्च पहाडी भेगमा पनि थोरैथोरै क्षेत्रमा स्याउखेती सुरु गरिएको छ”, प्रमुख रेग्मीले भने ।

गत आवमा स्याउखेती विस्तारतर्फ रु ११ करोड ५० लाख र शितोष्ण फलफूल विस्तारमा रु छ करोड बजेट खर्च भएको निर्देशनालयले जनाएको छ । स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट मुस्ताङमा ५८ हजार आठ सय स्याउका बिरुवा वितरण गरिएको थियो ।  शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत अन्य जिल्लामा २७ हजार स्याउका बिरुवा वितरण गरिएको प्रमुख रेग्मीले बताए । शितोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत १० हजार एक सय ओखरका बिरुवासमेत वितरण गरी थप पाँच सय पाँच रोपनीमा ओखर बगैँचा विस्तार भएको जनाइएको छ ।  

विस्तार गरिएको स्याउ खेतीबाट प्रतिकिलो रु एक सय ५० का दरले वार्षिक झन्डै रु १७ करोड ३७ लाख बराबरको स्याउ उत्पादन हुने निर्देशनालयको अनुमान छ । औसतमा १० प्रतिशत बोट मरे पनि बाँकी बोटले वर्षमा १५ किलो उत्पादन दिँदा वार्षिक एक हजार एक सय ८५ मेट्रिकटन स्याउ उत्पादन हुने जनाइएको छ । 

स्याउका लागि मुस्ताङमा एक सय टन क्षमताका दुई चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत हरिप्रसाद न्यौपानेले बताए । थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो ।

अधिकृत न्यौपानेका अनुसार लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिकामा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको हो । “किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाएका छन्”, उनले भने, “उच्च घनत्वको आधुनिक प्रविधिको स्याउखेतीतर्फ किसानको आकर्षण बढ्दो छ, बर्सेनि मुस्ताङमा स्याउको क्षेत्रफल बढिरहेको छ ।” 

रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने उनको भनाइ छ । छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् ।  उच्च घनत्वको स्याउखेतीका लागि एउटै बिरुवाको रु एक हजारदेखि एक हजार दुई सयसम्म मूल्य पर्ने र बगैँचा व्यवस्थापन पनि खर्चिलो भएकाले सरकारले थप अनुदान सहुलियत दिनुपर्ने किसानको माग छ । 

उक्त प्रविधिको स्याउखेती सात÷आठ वर्षअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो ।  “यो स्याउका बिरुवा इटालीदेखि नेपाल भित्र्याइएको हो, थोरै जग्गामा पनि धेरै बिरुवा लगाउन सकिन्छ, छिटो र धैरै पनि फल्छ, २५ वर्षसम्म यसले उत्पादन दिन्छ”, अधिकृत न्यौपानले भने, “मुस्ताङमा धेरैजसो गाला, फुजी, गोल्डेनलगायत जातका स्याउखेती गरिएको छ, तीन÷चार वर्षमै यसले उत्पादन दिन सुरु गर्छ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप