शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार तस्करी र दलाल नोकरशाहीतन्त्रलाई प्रोत्साहन गर्नेतर्फ केन्द्रित छ : महासचिव पोखरेल

बिहीबार, ३२ साउन २०८०, २० : १९
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलनलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिगारेको आरोप लगाएका छन् । 

बिहीबार एमाले मुख्यालयमा ललितपुरका माओवादी कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउँदै पोखरेलले माओवादी वा एकीकृत समाजवादीबाट एमाले आउनेहरुलाई अपमान नगर्ने पनि बताए ।

 ‘नेपालको वामपन्थी आन्दोलन बिगारेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हो, कार्यकर्ताले होइन । प्रचण्ड र नेपालका कारण वामपन्थी आन्दोलनलाई ठूलो क्षति पुगेको छ’, पोखरेलको भनाइ छ ।  

पोखरेलले मुलुकमा देखिएका समस्या र चुनौतीलाई सामना गरेर सुखी र समृद्ध नेपाल बनाउनुपर्छ भन्ने मान्यताका आधारमा एमाले अघि बढेको दाबी गरे ।

‘बहुदलीय व्यवस्थाको स्थापनाको ३५ वर्षमा हामीले २८ जना प्रधानमन्त्री हेरिसकेका छौँ । एउटा प्रधानमन्त्रीले औसतमा ६ महिना पनि काम गर्न पाएको छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा मुलुकको विकास र समृद्धिको अपेक्षा गर्न सकिँदैन ।’ 

पोखरेलले पछिल्लो समय नेपाली समाजमा सामाजिक अराजकताको स्थिति उत्पन्न भएको भन्दै त्यसले राज्य र संरचनालाई कमजोर बनाएको र नेपाली समाजलाई अगाडि बढ्नबाट बाटो छेकेको स्मरण गराए ।

‘यस्तो अवस्थामा हाम्रो पार्टीको मान्यता के–हो भने अब नेपालमा धेरै राजनीतिक दल होइन । बलिया राजनीतिक दलहरुको आवश्यकता छ । त्यो भनेको नीतिका आधारमा देशको नेतृत्व गर्न सक्ने बलियो राजनीतिक दल आवश्यक छ भनेको हो,’ पोखरेलले भने, ‘हामीले दुनियाँको विकसित मुलुक हेरेका छौँ । त्यहाँ दलहरु थोरै मात्रै हुन्छन् । हामीले अमेरिकाकै उदाहरण हेर्ने हो भने पनि त्यहाँ सयौँ वर्षदेखि दुई ओटा दल मात्रै प्रतिस्पर्धामा छन् ।  ती दुई दलले नै जनताको परिवर्तनको अपेक्षाको नेतृत्व गर्दछन् र नयाँ नेतृत्वको निर्माण पनि ती दलले नै गरेका हुन्छन् ।’ 

संसदीय दलको जननी भन्ने बेलायतमा पनि त्यस्तै रहेको भन्दै पोखरेलले देशमा धेरै राजनीतिक दलका कारण बलियो सरकार बनाउन नसकेको बताए । ‘धेरै राजनीतिक दल हुनु भनेको जनमतको विभाजन हो र राज्यलाई कमजोर पार्ने आधार हो,’ उनले भने, ‘त्यसकारण हामीले बुझ्नुपर्छ जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक विचलन, जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक अस्थिरता, जति धेरै राजनीतिक दल त्यति धेरै वैदेशिक हस्तक्षेप ।’ अहिले आफूहरूले भोगिरहेको पीडा त्यही भएको उनको भनाई थियो । त्यसैले नेपालमा बलियो राजनीतिक दलको आवश्यकता रहेको प्रष्ट पार्दै उनले भने, ‘विश्वको अनुभवलाई हेर्ने हो भने तीन वटा कुराले मात्रै समृद्धिको यात्रा अघि बढ्न सक्छ । पहिलो दूरदर्शी नेतृत्व, दोस्रो बलियो राजनीतिक दल र तेस्रो राजनीतिक स्थायित्व यी तीन कुरा भयो भने देश निर्माणको यात्रा अघि बढ्न सक्छ ।’ 

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र पहिलो संविधानसभामा करिब ३० प्रतिशत मतसहित पहिलो दलका रुपमा आएको स्मरण गर्दै दोस्रो संविधानसभामा पुग्दा ओरालो लागेर करिब २३ प्रतिशतको हाराहारीमा पुगेको तथ्य प्रस्तुत गरे । त्यसपछिको निर्वाचनमा १७ प्रतिशत र गत मंसिर–४ को निर्वाचनमा करिब ११ प्रतिशतको हाराहारीमा माओवादी झरेको भन्दै माओवादीको अब भविष्य नरहेको बताए । ‘अहिले त्यो दलले जुन प्रकारका गतिविधि गरिरहेको छ त्यसका आधारमा भन्न सकिन्छ आउँदो निर्वाचनमा त्यो दल अझ कमजोर भएर जानेछ,’ उनले भने, ‘त्यसलाई मुलुकको बलियो शक्तिका रुपमा स्थापित गर्ने सम्भावना छैन ।’ 

ललितपुर कम्युनिष्टको उर्भर भूमि 

पोखरेलले ललितपुर नेपालको कम्युनिष्ट आन्दोलनको निकै उर्भर भूमि भएको भन्दै त्यहाँका मतदाताले अब आफूलाई माओवादीका नाममा मत विभाजन नगर्ने बताए । ‘तुलसीलाल अमात्यले २०१५ सालमा विजय हासिल गरेको थलो हो, ललितपुर,’ उनले भने, ‘त्यस अर्थमा त्यो जिल्लामा नेकपा ९एमाले०लाई अघि बढाउने कुरामा तपाईँहरुले जुन संकल्प लिएर पार्टी प्रवेश गर्नुभएको छ, त्यो सही छ ।’  

पोखरेलले अहिलेको सरकार वैधानिक अर्थतन्त्रलाई कमजोर र अवैधानिक अर्थतन्त्रलाई बलियो बनाउने तस्करीतन्त्र र दलाल नोकरशाहीतन्त्रलाई प्रोत्साहन गर्ने जस्ता गतिविधिमा अघि बढेको आरोप समेत लगाए । ‘त्यसले माओवादी जनताको सरकार होइन दलाल नोकरशाहीहरुको हिमायती बनेको छ,’ पोखरेलले भने, ‘हामीले देश र जनताको पक्षमा काम गर्ने हो ।  युवा साथीहरुको राष्ट्र निर्माणमा तपाईँहरुको भूमिका महत्त्वपूर्ण छ । हामी परसम्मको यात्रा अर्थात उज्यालो भविष्य बाेकेर अघि बढेका छौं । हामी मिसन ८४ को अभियानसहित बहुमतको सरकार बनाउने योजनासहित अघि बढेका छौँ ।’

पार्टी प्रवेश कार्यक्रममा वाइसीएल ललितपुर महानगरका अध्यक्ष सुजिन महर्जनसहित करिब ७० जनाले एमाले प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप