मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
सर्वदलीय बैठक

ओली नआएपछि अर्को दिनलाई सारियो बैठक

के भयो प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय दलको बैठकमा ?
आइतबार, ०३ भदौ २०८०, १६ : २१
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । संसदमा जारी गतिरोध अन्त्य गर्नका लागि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका नेताहरुको सर्वदलीय बैठक राखेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा राखिएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको समयमा बैठक सुरु गरिएपनि ओली नै नआएपछि बैठक सोमबार भोलिका लागि पुनः बोलाइएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले रातोपाटीलाई जानकारी दिए । 

रातोपाटीसँग कुरा गर्दै पाण्डेले भने–‘राष्ट्रिय दलका सबै नेताहरुको सहभागितामा बैठक प्रधानमन्त्रीको कार्यालयमा भएको छ । बैठकमा जसरी भएपनि संसद् सुचारु हुनुपर्छ भन्ने स्पिरिटका साथ छलफल भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताले साढे १२ बजे आउँछु भनेकाले त्यही समयमा बैठक बोलाएका थियौँ तर उहाँ आउनुभएन, सुवास नेम्वाङ र पदम गिरी आउनुभएको थियो । संसद् खोल्ने विषयमा बैठक सकारात्मक भएकोले निर्णयमा पुग्न ओलीजीसँगपनि छलफल गर्नुपर्ने भएकोले भोलिका लागि बैठक गर्ने तय भएको छ ।’ 

बैठक संसद् खुलाउने विषयमा सम्पूर्ण दल एकमत रहेको र यसबारेमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँगपनि छलफल गरेर निचोडमा पुग्न भोलिका लागि अर्को बैठक बोलाइएको उनले बताए । ओलीले नै मागेको समयमा बैठक राखिएपनि अस्वस्थ भएको भन्दै बैठकमा सहभागी नभएको उनले बताए । एमालेको तर्फबाट बैठकमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका थिए । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीबाट अनिता देवी साह, जसपाबाट राजकिशोर यादव सहभागी थिए । छलफलका क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई अनुसन्धान गर्नका लागि आफूले मागेको समय १५ दिन बाँकी रहेकोले त्यतिञ्जेल सदन खुलाउन र प्रहरीको अनुसन्धान चित्त नबुझे त्यसपछि समिति गठनको माग गर्न आग्रह गरेको बैठकपछि रास्वापा सभापति लामिछानेले बताएका छन् । उनले तस्करीको सुन प्रकरणमा प्रहरीको छानबिन प्रभावित पार्न नहुने बताउँदै छानबिन समिति गठन गरेपनि नगरेपनि संसद् बैठक सुचारु गर्न जोड दिएका थिए । 

आइतबारको बैठक संसद् खुलाउने विषयमा निचोडमा नपुगेपछि दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अर्को दिनका लागि सार्न प्रधानमन्त्री प्रचण्डले प्रमुख सचेतक पाण्डेमार्फत सभामुख देवराज घिमिरेलाई सन्देश पठाएका थिए । त्यसपछि सूचना टाँस गरेर भदौ ५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । 

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको तस्करीको सुन प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गते यताका संसद् बैठक अवरुद्ध गर्दै आएको छ । उता सरकारले भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेकाले अर्को छानबिन समिति आवश्यक नपर्ने बताउँदै आएको छ । प्रमुख प्रतिपक्षी दल र सरकारबीच कुरा नमिल्दा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक प्रभावित हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप