झुम्सा खानेपानी आयोजना झण्डै तीन दशकसम्म पनि अधुरै
बुटवल । झुम्सा खानेपानी आयोजना सुरु भएको झण्डै तीन दशक पुग्न थालेको छ । २०५२/०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना सुरु भएको हो ।
सुरुमा केही वर्षको प्रयासका बाबजुद आयोजना असफल भएपछि फेरि २०६४ सालमा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरु गरिएको थियो ।
सो अवधिमा खानेपानीको मुहानमा निर्माण गरेको ट्याङ्की नै खोलाले बगाइदियो । २०७७ सालमा तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिलान्यास गरेको झुम्सा खानेपानी आयोजना अझै पूरा भएको छैन ।
पछिल्लो ठेक्काको जिम्मा पाएको कन्काई कालिका जेभीले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि आगामी असोजसम्म म्याद थप गरिएको खानेपानी संस्थान बुटवलले जनाएको छ ।
लामो समय आयोजना सम्पन्न नहुँदा बुटवलवासी खानेपानीको अभाव झेल्न बाध्य छन् । बुटवलमा जनसंख्या वृद्धि हुँदा खानेपानीको माग थपिँदै गएको छ ।
वर्षामा तिनाउ खोलाबाट मोटरले तानेर धमिलो खानेपानी ल्याएर वितरण गर्नुपर्ने बाध्यता रहे पनि दशकौंदेखिको सपन ाबनेको झुम्सा खानेपानी आयोजना सम्पन्न गर्नेतिर कसैको ध्यान गएको देखिन्न ।

बुटवल, मिलनचोक ज्ञवाली पथका कृष्ण प्रसाद पाण्डेयले अहिले पिउने पानी उमालेर या फिल्टर गरेर नखाँदा आफू पटकपटक बिरामी परेको अनुभव सुनाउँछन् । अन्यत्र भन्दा बुटवलको दिपनगर, सुक्खानगरमा पानीको समस्या धेरै छ ।
ती ठाउँमा घरको धारामा पानी निकै कममात्र आउने गरेको बुटवल चाँदवारीका विमलराज भट्टराईले बताए । वर्षामा धेरैको धारामा धमिलो पानी आउँछ । तर बुटवलमा खानेपानी समयमा सम्पन्न गर्न पटकपटक नेताहरूले बोल्ने गरे पनि काम अघि नबढेकोमा उनको आक्रोश छ ।
उनले भने, ‘धरानमा ४२ किलोमिटर टाढाबाट एक वर्षमै जनश्रमदानबाट खानेपानी योजना सम्पन्न भएको छ । तर १२ किलोमिटर दुरीको खानेपानी आयोजना सम्पन्न गर्न दशकौँ लाग्छ यहाँ ।’
पटक–पटक शिलान्यास गर्ने, एक ठाउँमा ५/७ वर्ष काम गर्ने, त्यहाँ असफल भएपछि अर्को ठाउँमा जाने गर्दा झुस्सा खानेपानी आयोजना पूरा हुन नसकेको हो ।
पछिल्लो समय २०७७ सालमा शिलान्यास गरेको झुस्सा खोलाको काम अहिले भइरहेको छ । कन्काई कालिका जेभीले १२ करोडमा पाएको ठेक्कामा अहिले पाइप बिछ्याउने काम जारी गरेको निर्माण कम्पनीले जनाएको छ ।
यस्तै मुहानमा तीन वटा पुल बनाउनु पर्नेमा २ वटा पिलर हालेर काम जारी रहेको ठेकेदार अर्जुन पाठकले बताए । यहाँ अझै अर्को पुल पनि बनाउनुपर्ने हुन्छ ।
उनले अहिले बिछ्याएको पाइप पनि सिद्धबाबा मन्दिरतिर सडक निर्माण गर्दा बिग्रिएकाले फेरि बनाउनु पर्ने अवस्था आएको बताए ।

ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले बुटवलको वडा नम्बर ३ स्थित रामफेदीसम्म पानी ल्याइदिने छ । त्यहाँबाट वितरणका लागि खानेपानी संस्थान आफैँले फेरि ट्याङ्की निर्माण गर्नुपर्छ ।
झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसंख्या लाभान्वित हुने गरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको खानेपानी कार्यालयले जनाएको छ ।
सोही अनुसार कम्पनीसँग पहिलो चरणमा झुम्सा खोलामा बाँध निर्माण गर्ने, ट्रस्ट पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने तथा दोस्रो चरण अन्तर्गत बुटवल–३ स्थित राम फेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने खानेपानी कार्यालय बुटवलले जनाएको छ ।
बुटवलमा दैनिक ३ करोड लिटर खानेपानीको माग रहे पनि अहिले जम्मा २ करोड २५ लाख लिटर पानी वितरण हुँदै आएको छ । यो परियोजना पूरा भएमा बुटवल उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा खानेपानी उपलब्ध खानेपानी संस्थानकोे दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण