शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सरकारी वकिलमा अनुसन्धान प्रतिवेदन

ललिता निवास प्रकरणमा २३८ जना प्रतिवादी, ७ सय ७१ पेज लामो अनुसन्धान प्रतिवेदन

मङ्गलबार, ०५ भदौ २०८०, १४ : ५६
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ । मंगलबार ब्युरोले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाउँदै सो राय दिएको हो ।

योजनाबद्ध सरकारी कागजात किर्ते गरेर ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिना गर्ने काममा संलग्न २३८ जनालाई प्रतिवादी बनाउन राय दिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

जसअनुसार ‘सङ्गठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई प्रतिवादी नबनाउन प्रहरीले राय दिएको छ । यस्तै सञ्चार सचिव कृष्णबहादुर राउतलाई प्रतिवादी नबनाउन राय दिइएको छ ।  

यस्तै पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । 

सीआईबीले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री गच्छदार, राज्यमन्त्री सञ्जय शाह ‘टकला’, पूर्व भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई प्रतिवादी कायम गर्न राय दिएको हो ।

प्रहरीले ४०६ जना विरुद्ध पक्राउ अनुमति लिएको थियो । तर, चार वटा मुद्दामा एउटै आरोपित दोहोरिँदा प्रतिवादीको सङ्ख्या घटेको अनुसन्धान अधिकृतहरू बताउँछन् । ब्युरोका अनुसन्धान अधिकृतहरूले मुद्दा नम्बर २४, २५, २६ र २७ मा छुट्टाछुट्टै अनुसन्धान गरेका थिए ।

ब्युरोले ५६ दिनसम्म अनुसन्धान गरेर मंगलबार सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो । अनुसन्धान अधिकृतहरूले ७ सय ७१ पृष्ठ लामो अनुसन्धान प्रतिवेदन बुझाएका छन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार २०४९, ०६२, ०६६ र ०६९ सालमा सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएका थिए ।

२०१८ मा तत्कालीन श्री ५ को सरकारले सुवर्ण शमशेर लगायत राणा परिवारको जग्गा जफत गरेको थियो । २०२१ मा सरकारले ६ वटा दरबार अधिग्रहण गर्दा ललिता निवास कम्पाउन्डको पनि थप केही जग्गा मुआब्जा दिएर अधिग्रहण गरेको थियो । २०४७ सालमा प्रजातन्त्र स्थापनापछि कृष्ण प्रसाद भट्टराई नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले जफत भएको जग्गा फिर्ता गर्ने निर्णय लियो । भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले हदबन्दीभित्र नपरेको जग्गा मात्र फिर्ता दिने र जफत भएको जग्गाको सम्बन्धमा गृह मन्त्रालयले अनुसन्धान गर्ने निर्णय लियो ।

मन्त्रिपरिषद्को सो निर्णयलाई टेकेर २०४९ मा मालपोत कार्यालय डिल्लीबजारले अधिग्रहण गरेको जग्गा पनि राणा परिवारलाई फिर्ता दियो । जफत गरेको जग्गा मात्र फिर्ता दिनुपर्ने मन्त्रिपरिषद्को निर्णयलाई तत्कालीन मालपोत अधिकृतहरूले बिचौलियाहरूसँग मिलेर गलत व्याख्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

राणा परिवारले जग्गा फिर्ता पाएपछि शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारको जग्गामा चलखेल गरेका हुन् । नक्कली मोही खडा गरेर उनीहरूले जग्गा आफ्नो नाममा ल्याएर बेचेको अनुसन्धानबाट थाहा भएको छ ।

२०६२ मा सो समूहले नक्कली कागजात बनाएर सुनीति राणाको नाममा १२ आना जग्गा ल्याए । तत्कालीन श्री ५ को सरकारले सुनीति राणाको नाममा छुट जग्गा दर्ता गर्न भनेर मालपोत कार्यालयलाई निर्देशन दिएको थियो । २०६६ सालमा भिआईपीको निवास क्षेत्र बिस्तार गर्ने नाममा जग्गा हिनामिना गरिएको थियो । ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्ने र प्रधानमन्त्रीको कार्यालय विस्तार गर्ने प्रस्ताव तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छदारले अघि बढाएका हुन् ।

२०६९ मा बिचौलियाले पशुपति टिकिन्छा गुठी दर्ता गरेर सरकारको जग्गा व्यक्तिको नाममा ल्याएका थिए । टिकिन्छा गुठी खडा गर्न तत्कालीन मन्त्रिपरिषद्ले नै अनुमति दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप