सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी !

मङ्गलबार, ०५ भदौ २०८०, १९ : १८
मङ्गलबार, ०५ भदौ २०८०

 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनु नपर्ने बताएका छन् । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्याससम्बन्धी क्षमता अभिवृद्धि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले उक्त विचार राखेका हुन् । 

नेपालमा अहिले फर्मासिष्टको संख्या भन्दा फार्मेसीको संख्या बढी भएको दाबी गर्दै फर्मासिष्ट विना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको बताएका हुन् ।

मन्त्री बस्नेतले भने, ‘यसरी फर्मासिष्ट विनै फार्मेसी चलाउनु भनेको ज्यानमारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारबाही गर्नेछौ ।’  

केही दिन पहिले स्वास्थ्य सेवा विभागले गरेको फार्मेसीहरुको अनुगमनका क्रममा धेरैजसो फार्मेसी फर्मासिष्ट विनै चलिरहेको पाइएको, अर्कै फर्मासिष्टको सर्टिफिकेट राखेर चलाइरहेको र फार्मेसी पढिरहेका विद्यार्थी फार्मेसीमा राखेर चलाइरहेको पाइएको थियो । 

सो अनुगमनबारे सुनाउँदै मन्त्री बस्नेतले औषधि जस्तो संवेदनशील चिजको विक्रीबितरणमा बदमासी गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गर्न पछि नपर्ने बताए ।

औषधिको उत्पादन र भण्डार गुणस्तरीय भएन भने जनताले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न नसक्ने भएकाले फर्मासिष्टहरुले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय गर्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विभागले प्रभावकारी ढंगले देशैभरिका सबै फार्मेसीहरुको अनुगमनको काम गर्न नसकिरहेको विवशता जनाए ।

ढकालले गत वर्ष मात्र ३ हजार भन्दा बढी फार्मेसीको निरीक्षण गरेको, २ हजार नयाँ फार्मेसी दर्ता गरेको र २५ प्रकारका औषधिमा समस्या देखिएकाले बजारबाट फिर्ता गराई विक्री वितरणमा रोक लगाइएको जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप