मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

बुधबार, ०६ भदौ २०८०, १२ : ४६
बुधबार, ०६ भदौ २०८०

मनहरी (मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । मकवानपुरको हर्नामाणीस्थित ठूलो दमार प्रहरी चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रहरीले दिने सेवालाई  छिटोछरितो र थप प्रभावकारी बनाउन प्रविधिसँग जोड्नुपर्ने बताएका हुन् ।

 “आफू प्रदेशको कानुनमन्त्री हुँदा ४१ प्रहरी चौकी निर्माणका लागि बजेट विनियोजन गरिएको थियो”, उनले भने, “प्रदेशभित्र जीर्ण अवस्थामा रहेका सबै प्रहरी चौकी निर्माणका लागि प्रदेश सरकार लागिपरेको छ ।”

प्रदेश सरकारअन्तर्गतका प्रहरी कार्यालयहरुले ‘प्रहरी मेरो साथी’ भन्ने अवधारणा अनुरुप काम गरिरहेका भन्दै मुख्यमन्त्री जम्कट्टेलले व्यवस्थित र सुविधा सम्पन्न भवन भएमा प्रहरीलाई सेवा प्रवाहमा थप सहजता हुने बताए । उनले अब बन्ने सबै भवन प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै हेटौँडा–१८ डिपो चौरमा प्रहरी अस्पताल निर्माणका लागि प्रदेश सरकारले रू तीन करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रहरी सेवामा थुप्रै अभाव भए पनि शान्ति सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रहरी सेवालाई प्रदेशमा समायोजन गरेपछि विद्यमान सबै समस्या समाधान हुने बताए ।  कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी सेवालाई प्रदेश मातहतमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै समायोजनपश्चात् समस्या समाधान हुने बताए । उनले यस वर्ष प्रहरी भवन निर्माणका लागि बजेट विनियोजन नभए पनि जीर्ण अवस्थामा रहेका चौकी मर्मतका लागि बजेट नरोकिने जानकारी दिए ।

ठूलो दमार प्रहरी चौकीमा १८ जना जनशक्ति रहनसक्ने गरी साढे दुई तले कार्यालयसहित ब्यारेक भवन निर्माण गरिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले जानकारी दिए । उनका अनुसार भवन निर्माणका क्रममा रू दुई करोड ३५ लाख ८६ हजार खर्च भएको छ । प्रदेशमा पहिलो चरणमा ४६ र दोस्रो चरणमा दुई गरी ४८ प्रहरी इकाइको निर्माण सम्पन्न भई समुद्घाटनसमेत भइसकेको राणाले बताए ।

कार्यक्रममा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँलगायतको सहभागिता थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप