आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
महासचिवसँग कफी र कुरा

एमालेको राष्ट्रिय राजनीतिमा कर्णालीलाई किन उपेक्षा ?

अब कर्णालीमा नेतृत्व विकासमा ध्यान दिन्छौँ: पोखरेल
बुधबार, ०६ भदौ २०८०, १६ : ३४
बुधबार, ०६ भदौ २०८०

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधवार बिहान ७ बजे नै ‘महासचिवसँग कफी र कुरा’ शीर्षकमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरे । प्रचार तथा प्रकाशन विभाग कर्णाली प्रदेशको आयोजनामा गरेको उक्त कार्यक्रममा पोखरेलसँग समसामयिक विषयमा ‘कफी र कुरा’ गर्ने भनिएको थियो । 

नयाँ तरिकाले आयोजना गरिएको उक्त कार्यक्रमका करिब ४५ मिनेट पत्रकारहरूले एमालेका गतिविधि र विशेषगरी एमालेको राष्ट्रिय राजनीतिमा कर्णालीलाई उपेक्षा गरिएको विषय उठाए । 

यति मात्र होइन, ०७९ पुसमा एमाले–माओवादी गठबन्धनको सरकार बन्दै गर्दा पोखरेलले नै कर्णालीमा एमाले नेतृत्वको सरकार बनाउन नचाहेकाले माओवादीको नेतृत्वमा सरकार गठन गर्नुपरेको विषयले चर्चा पायो । पोखरेलकै कारण यामलाल कँडेलले प्रदेश सरकारको नेतृत्व गर्न नपाएको प्रश्न पत्रकारले राखे ।  

पत्रकारका प्रश्न र जिज्ञासा सुनेपछि पोखरेलले कर्णालीमा एमाले बलियो राजनीतिक दल भएर पनि राष्ट्रिय राजनीतिमा उपस्थित हुन नसक्नु, सरकारको नेतृत्व लिन नसक्नु लगायतका विषयमा प्रस्ट पार्ने कोसिस गरे । 

उनले प्रदेश सरकारको नेतृत्वको विषयमा उठेको प्रश्नमा आफूबाट त्यस्तो कुनै कार्य नभएको दाबी गरे । ‘महासचिवले नै कर्णालीलाई पेलेको हो कि भन्ने कुरा आयो, त्यो सत्य होइन,’ उनले भने,‘ त्यो बेला कर्णालीमा माओवादीले नछाड्ने भयो, स्वयम् प्रचण्डज्यूले नै कर्णालीमा माओवादीले नेतृत्व छोड्नै सक्दैन, पाउनुपर्छ भनेकाले सम्भव भएको हैन ।’

०७४ मा कर्णालीमा एमालेसँग एक्लै २० सिट हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसर पाएन । यामलाल कँडेलले पटक–पटक नेतृत्व लिने प्रयास गरेपनि एमाले केन्द्रकै कारण नेतृत्व पाउन नसकेको आरोप प्रदेशका नेताहरूले लगाउने गरेका छन् । 

साङ्गठनिक कर्णालीमा एमाले बलियो हुँदा पनि पार्टी केन्द्रको उपेक्षाले न केन्द्रको मन्त्री पाउँछन् न त पार्टीको केन्द्रमा नै कर्णालीको उपस्थिति बलियो छ । कांग्रेसमा पूर्णबहादुर खड्का, माओवादीमा जनार्दन शर्मा, शक्ति बस्नेतहरूको उपस्थिति बलियो हुँदा एमालेमा भने कर्णालीको उपस्थिति नै छैन ।

 महासचिव पोखरेलले भने उक्त कुरा स्वीकार गरे । भने,‘ यो विषयमा हामी जानकार छौँ । नेतृत्व विकास गर्नुपर्छ । तर, राष्ट्रिय राजनीतिमा स्थापित हुने नहुने कुरा व्यक्तिमा भर पर्ने कुरा रहन्छ ।’ 

पोखरेलको भनाइमा कर्णालीका एमाले नेताहरूले पार्टी केन्द्रमा उपस्थिति बलियो बनाउन नसकेको देखिन्छ । सापेक्ष रूपमा यामलाल कँडेल र गोरख बोगटी जस्ता नेताहरूको योगदान रहे पनि केन्द्रका भूमिका बनाउने कुरामा उहाँहरू आफैले सङ्घर्ष गर्नुपर्ने उनको भनाइ थियो । महाधिवेशनमा पदाधिकारीमा कर्णालीले दाबी गर्ने भनेर चितवन पुगे पनि खाली हात फर्कनु परेको थियो ।

‘राष्ट्रिय राजनीतिमा भूमिका बनाउने कुरामा पहिलो कुरा व्यक्ति आफैमा भर पर्छ,’ उनले भने,‘ नेताहरू कर्णालीमै केन्द्रित हुने कि राष्ट्रिय राजनीतिमा स्थापित हुने उहाँहरूमा निर्भर रहने र लादेर नै लिने भन्ने कुरा रहँदैन । यद्यपि पार्टीले आफ्नो भूमिका भने निर्वाह गर्नुपर्छ नै ।’ 

०७९ को चुनावमा प्रतिनिधि सभामा एमाले शुन्य भएको र प्रदेशमा पनि कमजोर उपस्थिति बनेपछि एमाले केन्द्रीय नेताहरूको ध्यान कर्णालीमा देखिन्छ । पछिल्लो समय प्रायः नेताहरू कर्णाली केन्द्रित भएका छन् ।

 यद्यपि एमाले केन्द्रका नेताले कर्णालीलाई माया भन्दा दयाभाव देखाउने गरेको कुरा छलफलमा उठ्यो । उदाहरणका लागि अहिले कर्णालीको इन्चार्जको रूपमा सुदूरपश्चिम प्रदेशका लेखराज भट्ट छन् । तर, कर्णालीको कुनै पनि नेताहरू अन्य प्रदेशको इन्चार्ज भएर काम गरिहरेका छैनन् । ‘के कर्णालीका एमाले नेताहरूको अन्य प्रदेशको इन्चार्ज भएर काम गर्न सक्ने क्षमता नभएको हो ?’ एक पत्रकारको प्रश्न थियो, ‘तपाईँहरू हिजोआज कर्णाली दौडेको दौडेई हुनुहुन्छ, यो त तपाईँहरुको मनैदेखि कर्णालीप्रति माया भन्दा पनि दयाभाव मात्र देखियो । कर्णालीप्रति हेर्ने तपाईँहरको दृष्टिकोण बदल्नुहोस् ।’ 

पोखरेलले अब कर्णालीमा नेतृत्व विकासमा ध्यान दिइने बताए । कमी, कमजोरी केही रहेको र बाँकी समाधान गर्दै अघि बढिने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप