शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

पेट्रोलियम पदार्थको आयातमार्फत विदेशिने रकम घट्यो

बिहीबार, ०७ भदौ २०८०, १० : १४
बिहीबार, ०७ भदौ २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पेट्रोलियम पदार्थको आयातमार्फत बाहिरिने रकमको परिमाण पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा पेट्रोलियम पदार्थ आयातमार्फत बाहिरिने रकम घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा आयातको परिमाण बढे पनि यसमार्फत बाहिरिने रकम खुम्चिएको तथ्याङ्कले देखाएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा मट्टितेल बाहेक पेट्रोल, डिजेल र हवाई इन्धनकै आयात मूल्य घटेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा पेट्रोल आयातमा ५ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । यो गत आर्थिक वर्षको तुलनामा ९४ अर्बले कम हो । गत आर्थिक वर्षको साउन महिनामा ६ अर्ब ३८ करोड रुपैयाँको पेट्रोल आयात भएको थियो ।

यो वर्ष पेट्रोलको आयात मूल्य खुम्चिए पनि आयातको परिमाण भने गत वर्षको तुलनामा बढेको विभागको तथ्यांकले देखाएको छ । गत वर्षको साउन महिनामा ५४ हजार ७०४ किलोलिटर पेट्रोल आयात भएको थियो । चालु वर्षको साउन महिनामा भारतबाट ५६ हजार ९०१ किलोलिटर पेट्रोल भित्रिएको छ । यो गत वर्षको तुलनामा २ हजार किलोलिटरभन्दा धेरै हो ।

यस्तै, चालु वर्षमा ९ करोड ८६ लाख रुपैयाँको मट्टितेल आयात भएको छ । यो रकम गत वर्षको यही अवधिको तुलनामा बढी हो । गत वर्षको साउन महिनामा ७ करोड ९४ लाख रुपैयाँको ५४० किलोलिटर मट्टितेल भित्रिएको थियो । चालु वर्षमा भने १ हजार ६० किलोलिटर मट्टितेल भित्रिएको छ ।

तथ्याङ्कअनुसार हवाई इन्धनको आयातमा चालु वर्षको पहिलो महिनामा १ अर्ब १७ करोड बाहिरिएको छ । यो गत वर्षको पहिलो महिनाको तुलनामा १७ अर्बले न्यून हो । गत वर्षको यही अवधिमा हवाई इन्धनको आयातमा १ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै, गत वर्ष १० हजार १८१ किलोलिटर हवाई इन्धन भित्रिएकोमा चालु वर्षमा १२ हजार ५४८ किलोलिटर भित्रिएको छ ।

हवाई इन्धनसमेत गत वर्षको तुलनामा २ हजार किलोलिटरभन्दा धेरैले आयात भएको छ । यद्यपि, आयातमार्फत बाहिरिने रकम भने १७ अर्बले खुम्चिएको छ । यसबाहेक, गत वर्षको साउन महिनामा ८ अर्ब ९८ करोडको डिजेल भित्रिएकोमा यो वर्षको सोही अवधिमा ७ अर्ब ३४ करोडको डिजेल भित्रिएको छ ।

जबकि, गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा डिजेलको आयात परिमाणसमेत बढेको छ । गत वर्षको साउनमा ६५ हजार १८६ किलोलिटर डिजेल भित्रिएकामा यो वर्ष साउनमा ७६ हजार ७१६ किलोलिटर डिजेल भित्रिएको छ । यो करिब १० हजार किलोलिटरले बढी हो । यो तथ्याङ्कले आयातको परिमाण बढे पनि बाहिरिने रकम भने घटेको देखाउँछ ।

डेढ अर्बले घट्यो एलपीजीको आयात

चालु वर्षको पहिलो महिनामा एलपी ग्यासको आयात १ अर्ब ४५ करोड रुपैयाँले घटेको छ । तथ्याङ्कअनुसार गत वर्षको साउन महिनामा ५ अर्ब २७ करोड रुपैयाँको एलपी ग्याँस आयात भएको थियो । जबकि, चालु वर्षको साउन महिनामा एलपी ग्यास आयातमा ३ अर्ब ८२ करोड रुपैयाँ बाहिरिएको छ । यस अवधिमा आयात रकम घटे पनि आयात परिमाण भने बढेको छ ।

गत वर्षको साउन महिनामा ४ करोड १४ लाख किलोग्राम एलपी ग्यास आयात भएकोमा चालु वर्षको सोही अवधिमा ४ करोड ५६ किलोग्राम एलपी ग्यास आयात भएको छ ।

कच्चा तेलको मूल्य घट्दा फाइदा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपालमा गत वर्षको तुलनामा आयात बढे पनि आयातमार्फत बाहिरिने रकममा गिरावट आएको छ । तथ्याङ्कअनुसार गत वर्ष सन् २०२२ को अगस्ट २४ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलर थियो । जुन, सन् २०२३ को अगस्ट २४ मा प्रतिब्यारेल ७८ अमेरिकी डलर कायम छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर गत वर्षको तुलनामा कच्चा तेलको मूल्य घटेका कारणः नेपालमा आयातको परिमाण बढे पनि बाहिरिने रकम घटेको बताउँछन् । यद्यपि, पछिल्लो समय फेरि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दो अवस्थामा छ । जुन, नेपाललाई समेत चिन्ताको विषय हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप