शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले भने, ‘चन्द्रयान अवतरण भएको स्थानलाई ‘शिव शक्ति’ पोइन्ट भनिनेछ

शनिबार, ०९ भदौ २०८०, १० : ०७
शनिबार, ०९ भदौ २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रमामा ल्यान्डर अवतरण गरेको ठाउँलाई  ‘शिव शक्ति’ पोइन्ट भनिने बताएका छन् ।

मोदीले सो कुरा शनिवार बिहान बेंगलुरुमा रहेको इसरोको नेटवर्क कमाण्ड सेन्टर पुगेर यहाँका वैज्ञानिकहरूसँग भेटघाटका क्रममा भनेका हुन् ।

मोदीले सो कुराकानीमा भने, ‘चन्द्रमाको त्यो भाग जसमा हाम्रो चन्द्रयान अवतरण भएको छ । चन्द्रयान– ३ को चन्द्रमा अवतरण गर्ने ठाउँ अब शिव शक्तिको नामले चिनिनेछ ।’

मोदीले थपे, ‘एकातिर विक्रमको विश्वास छ, अर्कोतिर प्रज्ञानको बहादुरी छ । हाम्रो प्रज्ञानले निरन्तर चन्द्रमामा आफ्नो पाइलाको छाप छोडिरहेको छ । विभिन्न क्यामेराबाट खिचिएका तस्बिरहरू अचम्मका छन् । पृथ्वीको करोडौँ वर्षको इतिहासमा पहिलो पटक मानिसले आफ्नो आँखाले त्यो ठाउँको तस्बिर देखिरहेका छन् । यो तस्बिर विश्वलाई देखाउने काम भारतले गरेको छ ।’

अगस्ट २३ मा भारतले चन्द्रयानलाई सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको थियो र भारतको रोभर प्रज्ञानले चन्द्रमामा आफ्नो गतिविधि सुरु गरेको छ ।

बैंगलोरमा रहेको इसरोको केन्द्रमा प्रधानमन्त्री मोदीले वैज्ञानिकहरूबाट प्रज्ञान रोभरको जानकारी समेत लिएका छन् ।

सो अवसरमा इसरोका वैज्ञानिकहरूले मोदीलाई चन्द्रयानको मोडल पनि प्रस्तुत गरेका छन् ।

वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले भने, ‘म दक्षिण अफ्रिकामा थिएँ, त्यसपछि ग्रिस गएँ, तर मेरो दिमाग पूर्ण रूपमा तपाईंहरूमा केन्द्रित थियो । कहिले काहीँ लाग्छ म तपाईंहरुलाई अन्याय गर्छु । मेरो अधैर्य र तपाईंहरुको समस्या । तपाईंहरु यति बिहानै आउनुपर्‍यो तर तपाईंहरुलाई कहिले भेटौँ र नमन गरौँ जस्तो लागिरहेको थियो ।’

मोदीले भावुक हुँदै भने, ‘म भारत आउने बित्तिकै छिटोभन्दा छिटो तपाईंहरुको दर्शन गर्न चाहन्थेँ । तपाईंहरु सबैलाई स्यालुट गर्न चाहन्थेँ ।’

आँसु रोक्दै मोदीले भने, ‘स्यालुट तपाईंहरुको परिश्रमलाई, स्यालुट तपाईंहरुको धैर्यलाई, स्यालुट तपाईंहरुको लगनलाई । स्यालुट तपाईंहरुको जोसलाई, स्यालुट तपाईंहरुको आत्मालाई ।’

मोदीले थपे, ‘तपाईंले देशलाई जुन उचाइमा पुर्‌याउनु भएकाे छ, त्यो कुनै सामान्य सफलता होइन, यो असीम अन्तरिक्षमा रहेको भारतको वैज्ञानिक क्षमताको शङ्ख हो । भारत चन्द्रमामा छ । कोही नपुगेको ठाउँमा पुग्यौँ । हामीले त्यो काम गर्‍यौँ जुन यसअघि कसैले पनि गरेका थिएनन् । यो हो आजको भारत, निडर भारत, जुझारु भारत । यो त्यो भारत हो जसले नयाँ सोच्दछ, नयाँ ढङ्गले सोच्दछ । अँध्यारो क्षेत्रमा गएर पनि संसारमा उज्यालोको किरण फैलाउँछ ।’

मोदीले भने, ‘२१ औँ शताब्दीमा यही भारतले विश्वको सबैभन्दा ठुलो समस्या समाधान गर्नेछ ।’

‘आज सारा विश्वले हाम्रो प्रविधि र वैज्ञानिक सोचको क्षमता बुझिसकेको छ । चन्द्रयान महाअभियान भारतको मात्र होइन सम्पूर्ण मानव जातिको सफलता हो,’ मोदीले भने । ‘हाम्रो मिसनले जुन क्षेत्रको अन्वेषण गर्नेछ, त्यसले सबै देशहरूलाई चन्द्रमामा जानका लागि नयाँ बाटो खोल्नेछ । यसले चन्द्रमाको रहस्य मात्र खोल्ने छैन, पृथ्वीका चुनौतीहरू समाधान गर्न पनि मद्दत गर्नेछ ।’

प्रधानमन्त्रीले चन्द्रयानको अवतरण र रोभरको निकासको प्रस्तुति पनि हेरे । प्रज्ञान रोभर ल्यान्डरको ५०० मिटर भित्र रहनेछ र चन्द्रमाबाट नमुना सङ्कलन गर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप