मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

जोड–घटाउ

शनिबार, ०९ भदौ २०८०, ११ : ००

म प्रायः बिदाको दिन, त्यस्तै कुनै धार्मिक अवसरको दिन अनि बाटोमा परेको मन्दिरमा जाने गर्छु ।

एक दिन बिहानीपख मन्दिर गएको थिएँ । मन्दिर बाहिर छेउमै ९÷१० वर्षकी एक सानी नानी दियो, बत्तीको पेसा लिन बसेकी थिइन् । त्यहाँ ठुलो दियोको ३० रुपैयाँ र सानोको १५ रुपैयाँ लेखी छुट्याएर राखेको थियो । म ती सानी नानीलाई ५० को नोट दिन्छु र सानो १५ रुपैयाँ पर्ने दियो बत्ती लिन्छु। 

ती सानी नानी मोबाइल झिकी आफ्नो सानो औँला मोबाइलको स्क्रिनमा खेलाउँछिन् । अनि, क्यालकुलेटर चिन्ह थिचेर कति फिर्ता गर्नुपर्छ भनी हिसाब गर्न थाल्छिन् । 

त्यतिकैमै एकजना अन्दाजी ७०÷७२ वर्ष जतिको वृद्ध मानिस आई पुग्छन् । सायद ती सानी नानीका हजुरबुबा हुनुपर्छ ।

“नानी, अङ्कललाई ३५ रुपैयाँ फिर्ता गर त । यति सानो हिसाब गर्न पनि क्यालकुलेटर थिच्नु पर्छ र ? मुखैले हिसाब गर्न सकिहालिन्छ नि ।’ 

स्कुल बिदा भएकाले जिद्दी गरेर ती नातिनी मन्दिर आएकी थिइन् ।

अनि मलाई हेरी हजुर बा भन्छन्, “हेर्नुस् न हजुर, हामी साधारण अङ्क मात्र चिनेका बुढापाका अनपढले त सानो जोड घटाउ हिसाब मुखैले गर्न सक्छौ । तर, आजकल स्कुल पढेका नानीहरूलाई सानोतिनो जोड घटाउ गर्न पनि क्यालकुलेटर थिच्नुपर्ने ।

“यस्तै छ बुबा । नयाँ पीढीका बालबालिकाहरू आफ्नो दिमाग खियाउनै चाहँदैनन् । सबै मेशिनले नै सहज गरिदिएपछि किन आफ्नो दिमाग खियाउन् र ।’

‘फेरि अचेल स्कुलहरूले पनि व्यवहारिक ज्ञान सिकाउन पनि त्यति महत्त्व दिँदैनन् भन्या ।’ ती वृद्धले भने ।

म अलि हतारमा थिएँ । उनको कुरामा हो मा हो मिलाउँदै ती सानीनानीले फिर्ता गरेको ३५ रुपैयाँ र दियो बत्ती लिई मन्दिर प्रवेश गर्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अच्युत मान सिंह प्रधान ‘उत्सुक’
अच्युत मान सिंह प्रधान ‘उत्सुक’
लेखकबाट थप