शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललिता निवासको मुद्दा सरकारी वकिलले किन ‘संगठित किर्ते’ मा चलाएन ?

वकिलले टेकेका यस्ता छन् चार आधार
आइतबार, १० भदौ २०८०, १४ : १९
आइतबार, १० भदौ २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ‘संगठित किर्ते’ मुद्दा नलाने निर्णय गरेको छ । वकिल कार्यालयले ‘लिखत किर्ते’ कसुरमा मात्रै आइतबार जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र लगेको हो ।

असार १२ मा आरोपितहरूलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ५७ दिनसम्म ‘संगठित किर्ते’ कसुरमा अनुसन्धान गरेको थियो । ब्यूरोले अनुसन्धान सुरु गरेको ५७ औँ दिनमा राय सहितको प्रतिवेदन बुझाएको थियो । वकिलले ‘संगठित कसुर’ हटाएर अभियोग पत्र अदालतमा लगेसँगै ब्यूरोका अधिकारीहरूले असन्तुष्टि जनाएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले चारवटा आधारमा ‘संगठित कसुर’ हटाइएको रातोपाटीलाई बताए । उनले भने–‘मिसिल हेर्दा संगठित रूपमा किर्ते भएको प्रमाण भेटएन ।’

संगठित अपराध निवारण ऐन–२०७० जारी हुनुअघि नै अपराध भएको देखिएको भन्दै पछि आएको कानुन पुरानो अपराधमा आकर्षित नहुने सरकारी वकिलको निष्कर्ष छ । संगठित अपराध निवारण ऐन–२०७० को दफा–३ ललिता निवासमा आकर्षित नहुने नेउपानेले बताए । उनी भन्छन्–‘संगठितको वारदात समेटेको छैन ।’

संगठित अपराधको आधार र विशेषता ललिता निवासको मुद्दामा नदेखिएको सरकारी वकिलको निष्कर्ष छ । संगठित अपराध निवारण ऐन–२०७० को दफा–३ ले ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा घोटालालाई ‘संगठित अपराध हो’ भनेर नसमेटेको सरकारी वकिलको निष्कर्ष छ ।

प्रहरीले बुझाएको राय सहितको अनुसन्धान प्रतिवेदनमा संगठित अपराधको प्रमाण फेला नपरेको भन्दै ४ वटा आधारमा आरोपीहरू विरुद्ध ‘लिखत किर्ते’ कसुरमा मात्रै अभियोग पत्र लैजाने निर्णय गरिएको छ ।

कानुन आउनुअघि नै अपराध भएको हुनाले संगठितमा मुद्दा लैजान नमिल्ने सरकारी वकिलको जिकिर छ । संगठित अपराध निवारण ऐन २०७० साल चैत १२ मा आएको थियो । सो ऐन अनुसार आरोपितले गरेको मूल कसुरको भन्दा ५० प्रतिशत सजाय हुने व्यवस्था छ ।

ललिता निवासमा आफूले खरिद गरेको जग्गा ‘फिर्ता गर्छु’ भनेर ४८ जनाले निवेदन दिएका छन् । काठमाडौँ महानगरपालिका–३१ कमलादी घर भएकी सिपीका खेतान सहित निवेदन दिनेहरूलाई प्रहरीले ‘जग्गा फिर्ता प्रयोजनका लागी मात्र’ प्रतिवादी कायम गर्न राय दिएको थियो ।

जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ मा प्रतिवादी कायम गर्न प्रहरीले सरकारी वकिललाई राय दिएको थियो । तर, वकिलले २९० जनालाई प्रतिवादी बनाएको छ ।

बालुवाटार स्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना  भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप