शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

युवा संघमा पार्टी हस्तक्षेप, संयोजकमा विक र सहसंयोजकमा पौडेल

आइतबार, १० भदौ २०८०, २० : ५५
आइतबार, १० भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा नेतृत्वका लागि विवाद चर्किँदै जान थालेपछि पार्टी नेतृत्वले हस्तक्षेप गरेको छ । आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले संघमा थप विवाद बढ्न नदिन अध्यक्ष नरेश शाहीलाई बिदा गर्दै कृष्ण विकलाई संयोजक र उपाध्यक्ष नितेष पौडेललाई सहसंयोजक चयन गरेको हो । 

अध्यक्ष शाही प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री समेत हुन्  । युवा संघमा दोहोरो जिम्मेवारी नदिने नीति रहेकाले शाहीलाई पार्टीले युवा संघबाट बिदा गरेको हो । 

शाहीलाई बिदा गर्दै महाधिवेशन आयोजक कमिटीको संयोजकमा विक र सहसंयोजकमा पौडेललाई चयन गरिएको सचिवालयका एक नेताले जानकारी दिए । साथै नयाँ नेतृत्वलाई फागुनभित्र महाधिवेशन गर्न पनि सचिवालयले भनेको छ । युवा संघमा शाही पक्ष र पौडेल पक्षले शनिबार छुट्टा छुट्टै भेला राखेका थिए ।

पौडेल पक्षले बानेश्वर र शाही पक्षले कालोपुलमा भेला राखेपछि नेतृत्वले हस्तक्षेप गरेको हो । यसैबीच युवा संघका सचिव फुर्वा लामाले पार्टी नेतृत्वले गरेको पछिल्लो हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने बताए । उनले पौडेल पक्षको बहुमत हुँदाहुँदै सहसंयोजकमा सीमित गर्नु  न्यायसंगत नभएको दाबी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप