बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

एमाले लुम्बिनी प्रदेश अधिवेशन मिति नजिकिँदै : नेताहरू स्थानीय तहमा झर्दै

अध्यक्षका लागि रिजाल र कँडेल मुख्य दाबेदार
सोमबार, ११ भदौ २०८०, ०९ : ४२
सोमबार, ११ भदौ २०८०

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका भदौ १६ र १७ गते हुँदै छ, त्यसको लागि प्रदेशका १०९ पालिकाबाट प्रदेश परिषद् प्रतिनिधि छनौट भएका छन् ।

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठका अनुसार अहिले प्रदेशमा रहेका पालिकाबाट १ हजार ४ जना प्रदेश प्रतिनिधि परिषदमा आउने छन् । त्यसमा आजसम्म झन्डै ९९ प्रतिशत प्रतिनिधिको चयन भैसकेको छ । अब बाँकेको नरैनापुर लगायतका ठाउँमा बाँकी छ । त्यो पनि साँझसम्म आउने उनले बताए । 

प्रदेश प्रतिनिधिमा निर्वाचनमा एक सय पार्टी सदस्य बराबर १ प्रतिनिधि र दलितको हकमा ७५ बरावर एक आउने व्यवस्थाअनुसार अहिले प्रतिनिधि छनौट भएको हो ।

एमालेको निर्णयअनुसार प्रदेश कमिटी अध्यक्षलाई एमाले पोलिटब्युरो समिति सदस्य बरावर हैसियत दिने भए पनि हाल केन्द्रीय सदस्य रहेका समेत र सांसदहरूसमेत प्रतिनिधि बनेर आएका छन् । यसरी आउनेमा केन्द्रीय सदस्य, प्रदेश सांसद, प्रदेश समिति रहेका अध्यक्षदेखि सदस्यहरू रहेका छन् । 

यसरी माथिल्लो तहका नेताहरू पनि अहिले स्थानीय तहमा झरेर प्रतिनिधि बन्ने थालेका छन् । प्रदेश समितिको अधिकारको कारणले पनि धेरैको आकर्षण भएको एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरीले रातोपाटी बताए । 

विधानले पार्टीको माथिल्लो तहमा जानको लागि पनि प्रदेश प्रतिनिधि परिषद् सदस्य आफैमा एक शक्तिशाली ठाउँ रहेकाले धेरै नेताहरूको ध्यान खिचेको उनको भनाई छ । 

2

अध्यक्षमा रिजाल र कँडेल  मैदानमा निश्चित  

प्युठानको नौबहिनी गाउँपालिकाबाट प्रदेश प्रतिनिधि परिषद् सदस्य बनेर एमाले केन्द्रीय सदस्य रहेका हरि रिजाल लुम्बिनी प्रदेशको अध्यक्षको उम्मेदवार छन् । पार्टीको विधानअनुसार प्रदेश प्रतिनिधि बनेर उम्मेदवारी मनोनयन गरेपछि केन्द्रीय सदस्य पद स्वतः निस्क्रिय हुन्छ ।

हालका एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पुनः अध्यक्षको दाबी स्वाभाविक भएकाले भन्दै तयारी गरिरहेका छन् । पाल्पाबाट प्रतिनिधि भएर आएका कँडेल अहिले आफ्नो अध्यक्ष उम्मेदवारी भन्दा पनि अहिले प्रतिनिधिहरू को कहाँ छन् बुझ्ने काम भइरहेको बताउँछन् ।

कँडेल आफू २ वर्ष पहिले तदर्थ समिति अध्यक्ष भएकोले अहिले पहिलो अध्यक्ष बन्न केन्द्रदेखि तल्लो तह सम्मका साथीहरूको साथ पाउन आकाङ्क्षा राख्नु स्वाभाविक ठान्छन् । 

यस्तै, दाङबाट प्रतिनिधिमा निर्वाचित भएका हालका प्रदेश सचिव लक्ष्मण आचार्य पनि अध्यक्षको लागि आन्तरिक तयारी गरेको बताइन्छ । 

अध्यक्षमा कँडेल र रिजाल मुख्य दाबेदार भएसँगै नेतृत्वले सर्वसम्मत मिलाउने विषय थप चुनौतीपूर्ण देखिएको एमालेका प्रदेशस्तरीय कार्यकर्ताहरूको भनाई छ । 

एमाले केन्द्रीय पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले अन्तिममा कँडेल र रिजालबीच चुनाव हुन सक्ने सम्भावना रहेको रातोपाटीलाई बताए । उनले भने, ‘ पार्टीमा चुनाव हुने अवस्था जहाँसम्म नआउला, निर्वाचन हुने अवस्था आए कँडेल र रिजालबीच नै प्रतिस्पर्धा हुने देख्छु ।’

यसैगरी, अधिवेशनको मिति नजिकिएसँगै अध्यक्षबाहेक अन्य पदमा पनि नेतृत्वका आकांक्षीहरु नेतृत्वमा आउन लबिङ तीव्र बनाएका छन् । 

१०४ प्रतिनिधिबाट २२५ सदस्य प्रदेश समिति बन्नेछ । त्यसमा पछि २० प्रतिशत मनोनयन गर्ने प्रावधान रहेको छ । 

लुम्बिनी प्रदेश वामपन्थी वर्चस्व क्षेत्र भएको र अन्य प्रदेशभन्दा पहिले अधिवेशन हुन थालेपछि केन्द्रीय नेताहरूको चासो बढ्दै गएको छ ।

3

पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीका प्रभावशाली नेताहरू रहेकाले एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी नेतृत्वमा को आउला भन्नेमा तीव्र चासो छ । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले रुपन्देहीमा अधिकांश प्रतिनिधिहरू सर्वसम्मत चयन भएर आएकाले प्रदेशमा सर्वसम्मत नेतृत्व आउनुपर्ने भावना रहेको बताए । 

खास गरी यहाँबाट केन्द्रमा पुगेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरले, छविलाल विश्वकर्मा, ठाकुर गैरेलगायत नेताहरू रहेकोले उनीहरूको आफ्नो प्रदेशमा के कस्तो नेतृत्व आउँछ छ भन्ने चासो लिएको एमालेको कार्यकर्ताहरू बताउँछन् ।  

यसअघि नै पार्टीले एमाले सचिव तथा पूर्व मन्त्री पद्मा अर्याललाई अधिवेशन गर्नको लागि बुटवलमा खटाएको छ । प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू बुटवल आउने तय भइसकेको छ ।

झन्डै एक दर्जन प्रदेश सांसद प्रतिनिधि

लुम्बिनी प्रदेश एमालेका प्रदेश प्रतिनिधि परिषद्को लागि झन्डै एक दर्जन प्रदेश सांसद पनि प्रतिनिधि बनेका छन् । 

प्रदेश कार्यालयमा अझैसम्म प्रतिनिधिको सम्पूर्ण विवरण आएको छैन । एमालेले लुम्बिनी प्रदेश उपाध्यक्ष एवं तथा प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले एमालेका १० जना भन्दा धेरै प्रदेश सांसद अहिले प्रदेश प्रतिनिधि बनेर आउने देखिएको रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप