आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको चीन भ्रमण

उत्तरतर्फको व्यापार पूर्वाधार निर्माणमा जोड, कुन नाका प्राथमिकतामा ?

मङ्गलबार, १२ भदौ २०८०, २० : ०५
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । यही सेप्टेम्बरमा हुने प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालले उत्तर तर्फका व्यापारिक नाका विकासमा जोड दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका क्रममा चीनतर्फका सीमा नाकामा आधुनिक र व्यवस्थित व्यापार पूर्वाधार निर्माणमा जोड दिइने बताएका छन् ।

प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणमा सीमा नाका सञ्चालनलाई जोड दिइएको बताए । 

‘नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउन भ्रमण केन्द्रित रहनेछ,’ उनले भने, ‘नेपाल र चीनबीचको सीमा नाकाको सञ्चालनलाई प्रभावकारी बनाउन पहल गर्नेछु ।’

प्रधानमन्त्रीका अनुसार नेपाल र चीनबीच सञ्चालनमा रहेका र सञ्चालनको सम्भाव्यता रहेका सीमा नाका प्राथमिक्तामा छन् । हाल नेपाल र चीनबीच तातोपानी र केरुङ गरी दुई वटा नाका सञ्चालनमा छन् । यी नाकाबाट आयात–निर्यात नै हुने गरेका छन् । यसबाहेक, अन्य नाका स्थानीय स्तरमा सञ्चालनमा रहेपनि ठूलो परिमाणको आयात–निर्यात सम्भव छैन ।

सञ्चालनमा रहेका मध्ये चालू आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा तातोपानी नाकाबाट १ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको छ । यस्तै, यो नाकाबाट गत आर्थिक वर्षको यही अवधिमा १ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको थियो । यो नाकाबाट चालू वर्षको साउन र गत वर्षको यही अवधिमा निर्यात भने शून्य छ ।

यस्तै, साउन महिनामा केरुङ नाकाबाट २ अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात भएको छ भने २२ करोड ४१ लाख रुपैयाँको निर्यात भएको छ । जुन, गत वर्षको साउन महिनामा २ अर्ब ४२ करोडको आयात हुँदा निर्यात शून्य थियो । 

यी दुई नाकाबाहेक पूर्वदेखि पश्चिम हिमालय क्षेत्रमा गरी विभिन्न ५ स्थानमा थप व्यापार पूर्वाधार बनाउने दुवै तर्फका सरकारको योजना छ ।

यी स्थानमा हुँदैछ सम्भाव्यता अध्ययन

नेपाल चीन सीमा क्षेत्रमा तातोपानी र केरुङबाहेक कोरला, यारी, किमाथांका र ओलाङचुङ्गोलामा समेत व्यापार पूर्वाधार बनाउने तयारी छ । 

यीमध्ये हाल कोरलामा बन्ने सुख्खा बन्दरगाह निर्माणका लागि चाहिने विस्तृत आयोजना प्रतिवेदन (पीडीआर) बनिरहेको छ । यो प्रतिवेदन नेपाल इन्टरमोडल तथा यातायात विकास समितिले बनाइरहेको छ । यी नाकामा व्यापार पूर्वाधार बनाउन ठोस सहमति बन्ने अपेक्षा नेपाल पक्षको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘यतिबेला चीन भ्रमणमा उठाउने व्यापार पूर्वाधारका एजेन्डाको विषयमा छलफल चलिरहेको छ । तातोपानीको सुख्खा बन्दरगाह पनि चीनले नै बनाइदिएको हो । हाल रसुवाको टिमुरेमा बनाइरहेको छ ।’ 

यस बाहेकका अन्य स्थानमा समेत सुख्खा बन्दरगाह बनाइ दिन चीन सहमत देखिएको र यसका लागि नेपालले आधिकारिक प्रस्ताव लग्नुपर्ने मन्त्रालयको भनाई छ ।

‘चीनले नेपालबाट कोरला लगायतका स्थानमा सुख्खा बन्दरगाह बनाइ दिन प्रस्ताव खोजेको छ,’ उनले भने, ‘यसका लागि अनुदानमा बनाइ दिने प्रस्ताव लग्ने तयारी छ । ऋण सहायतामा आयोजना नबनाउने आन्तरिक बुझाई छ ।’ 

यस्तै, कोरला नाका चीनले बनाएमा डीपीआरसमेत आफैले बनाउने चीनको तयारी छ । यसअनुसार नेपालले बनाएको डीपीआर खेर जाने देखिन्छ ।

नेपाल र चीनबीचको व्यापारमा कोरला, ओलाङचुङगोला, किमाथांका र यारीबाहेक अन्य स्थानमा पनि पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । र, हाल सञ्चालनमा रहेका र भावी दिनमा निर्माणको अध्ययन भइरहेका गरी कूल ७ वटा आयोजना छन् ।

‘अहिले ओलाङचुङ्गोला, किमाथांका, यारी र तिञ्जे धोमा सुख्खा बन्दरगाह निर्माणको पूर्व सम्भाव्यता अध्ययन भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘कोरलाको डीपीआर बन्दैछ । यसबाहेक मुगुको नाक्च्या लाग्न्या नाकामा समेत पूर्वाधार बनाउने योजना नेपाल सरकारको छ ।’ यस विषयमा मन्त्रालयले इन्टरमोडललाई समेत पत्र लेखर सम्बन्धित नाकाहरुको जानकारी मागिसकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप