आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
एसिया कप क्रिकेट

एसिया कपको उद्घाटन समारोहमा त्रिशाला गुरुङले प्रस्तुति दिने

बुधबार, १३ भदौ २०८०, १२ : ०१
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण बुधवारदेखि पाकिस्तानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपालको सामना गर्दैछ । 

उद्घाटन खेल नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ । त्यसअघि पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा प्रतियोगिताको उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोह नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन समारोह धेरै लामो नहुने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन समारोहमा पाकिस्तान र नेपालका एक–एकजना गायिकाले आफ्नो प्रस्तुति दिन पीसीबीले जनाएको छ । उद्घाटन समारोहमा नेपाली गायिका त्रिशाला गुरुङ र पाकिस्तानी गायिका आइमा बेगले प्रस्तुति दिने भएका छन् । 

आइमा पाकिस्तानकी चर्चित गायिका हुन् । इन्स्टाग्राममा उनको ६० लाखभन्दा बढी फलोअर रहेका छन् । नेपाली गायिकाका त्रिशालाको भने इन्स्टाग्राममा दुई लाख ३९ हजार फलोअर रहेका छन् । यसका अतिरिक्त अन्य केही कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने पीसीबीले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन समारोहमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजिव शुक्ला पनि उपस्थित हुने पीसीबीले जनाएको छ । पीसीबीले उद्घाटन समारोहमा अतिथिका रूपमा बीसीसीआईका सचिव जय शाहलाई पनि निम्तो पठाएको थियो । तर, एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्षसमेत रहेका शाह भने उद्घाटन समारोहमा उपस्थित हुने छैनन् । 

एसिया कपमा ६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल र पाकिस्तानसँगै भारत पनि रहेको छ । समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । पाकिस्तानका अतिरिक्त एसिया कपका खेलहरू श्रीलंकामा पनि खेलाइने छ ।

trisala

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप