सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

बुधबार, १३ भदौ २०८०, २२ : ३५
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् । 

बुधवार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका हुन् । उनले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि निर्देशन दिए । 

बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकबारे जानकारी दिँदै उनले भने, ‘निर्णयहरु अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरु अब समितिमार्फत पूरा गर्ने । र समितिहरुलाई प्रभावकारी ढंगबाट काममा अगाडी बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरु भयो । खासगरी आएका विधेयकहरु समितिमा गएका छन् । अब आउने विधेयकहरु पनि समितिमै जान्छन् । समितिमा सरोकारवालाहरुसँग आवश्यकता अनुसार बस्ने उहाँहरुको कुराहरु सुन्ने । र सबै आ–आफ्नो समितिमा माननीयज्यूहरुले घनिभुत ढंगबाट दफावार छलफल गर्ने, छिटो टुंग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडी बढ्नुस् भन्ने कुराहरु सभामुखको तर्फबाट भन्ने काम भयो । उहाँहरुले त्यसलाई एकदम ठिक भयो । यो दायित्व पूरा गर्छौं भनेर उत्साहसाथ लिनुभयो ।’

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरुले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सहि ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनले समितिले गरेका निर्णयहरुलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको बताए । 

उनले भने, ‘आर्थिक हिसावले अहिले पनि हामी कमजोर अवस्थामा छौँ । बजार चलायमान नभएको अवस्थामा छौँ । व्यापार घाटाको अवस्थामा छौँ । निर्यात कमजोरी छ । आयात वृद्धि भइरहेको अवस्था छ । रेमिट्यान्स्ले मात्रै मुलुक धानिनुपर्ने अवस्था छ । यसबाट पार पाउनका लागि हामीले लिनुपर्ने निर्णयहरु र दशवटै समितिले खेल्नुपर्ने आ–आफ्नो भुमिकाहरु हामीले एकदमै  आफूलाई देशको लागि साक्षि राखेर काम गर्नुपर्ने अवस्था भएको हुनाले चाँडै भन्दा चाँडै सही ढंगले काम थाल्नुप¥यो । सहि ढंगले निर्णय गर्नुप¥यो । निर्णय गर्ने मात्रै होइन निर्णयलाई लागू पनि गर्नुप¥यो । भन्ने विषयमा आज निर्देशनहरु भए । छलफलहरु भए ।’

त्यसैगरी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरु र विधेयकसँग सम्बन्धित कामहरुको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप