शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बोदेसाईन नगरपालिकाका पशु विकास अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बाख्रा पकेट कार्यक्रमको सम्झौता गरेर काम नै नगरि १४ लाख स्वाहा
बुधबार, १३ भदौ २०८०, १५ : २६
बुधबार, १३ भदौ २०८०

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमको झुटा विवरण बनाएर भ्रष्टाचार गरेको आरोपमा सप्तरीस्थित बोदेबसाईन नगरपालिकाका पशु विकास अधिकृत अर्जुनप्रसाद यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/०७८ का तत्कालीन पशुविकास अधिकृत यादव, नगरपालिकाकै निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मण्डल, नगर प्रमुख आतेश कुमार सिंह, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, कृषक समुहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

बाखा व्यवसायी पकेट कार्यक्रमका लागि विनियोजन भएको १४ लाख ७१ हजार ९ सय २१ रुपैँया बजेटको काम नै नगरि ८ जनाले सरकारी सम्पत्ति हानीनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आयोगले जनाएको छ । नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी बोदेबर्साइन नगरपालिका वडा नं. ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गरेको भन्दै झुट्टा बिल बनाएको आयोगगको अनुसन्धानले देखाएको छ । पशु विकास अधिकृत यादव बाखा व्यवसायी पकेट कार्यक्रमको संयोजकको भूमिकामा थिए ।

उनले कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको, झुट्टा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको उजुरी आयोगमा परेपछि छानबिन सुरु भएको थियो । कार्यक्रममै सञ्चालन नगरि यादवले सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्णयार्थ पेश गरी १४ लाख ७१ हजार नौ सय २१ रुपैँया माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको आयोगको छानविनबाट देखिएको छ ।

आयोगले पशु विकास अधिकृत यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेको भन्दै बिगो बमोजिमको जरिवाना र कैद सँजायको मागदावी गरेको छ । त्यतिबेला यादवलाई बोदेबर्साइन नगरपालिकाका कै निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल मण्डलले सञ्चालनमै नरहेको बाखा व्यवसायी पकेट कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै संचालन नगरी सार्वजनिक खरिद ऐन, नियम विपरीत हुने गरी कार्यक्रम संचालन गरेको भनी पेश गरेका नक्कली बिल भरपाई समेतलाई अनदेखा गरी भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेको आयोगको छानविनबाट देखिएको छ ।

उनीहरु विरुद्ध पनि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेको भन्दै बिगो बमोजिमको १४ लाख ७१ हजार नौ सय २१ रुपैयाँ जरिवान र कैद सजाँयको मागदावी गरेको छ । घनश्याम यादवले संचालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरेको र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएका थिए । 

बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख सिंह, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य भगतसमेतले बाख्रा व्यवसायी पकेट कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेका थिए । उनीहरुविरुद्ध पनि आयोगले कैद र जरिवानाको मागदाबी लिइएको आयोगका प्रवक्ता भोला दाहालले बताए । दाहालका अनुसार माँ जगदम्बा कृषक समुहका अध्यक्ष साह र कोषाध्यक्ष शर्माले सम्झौता बमोजिमका कुनै पनि कार्यक्रम नगरी गैरकानूनी लाभ पु–याउने बद्नियतले झुट्टा विल भरपाई एवं कागजात तयार पारेको देखिएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो जरिवाना मागदावी गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप