बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
मेनपावरको ठगी

जब कुवेतका लागि ९७५ विशेषज्ञ डाक्टरको विज्ञापन गरियो...

बिहीबार, १४ भदौ २०८०, १० : ४३
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । केही दिन अगाडि सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल बन्यो । कुवेतमा नेपाली विशेषज्ञ डाक्टरको लागि रोजगारीको अवसर भन्दै सार्वजनिक गरिएको उक्त विज्ञापनमा नेपालबाट ९७५ विशेषज्ञ डाक्टर माग गरिएको थियो । 

त्यसमा तलब समेत कसैले अपेक्षा नगरेको थियो । ७ लाख ३२ हजार देखि १२ लाख ७० हजार सम्म तलब पाउने गरी विशेषज्ञ डाक्टर माग गरिएको थियो ।

यसका लागि सबै अनलाइनबाटै अन्तरवार्ता हुने भनेको थियो । दिनको ८ घण्टा काम, महिनामा २६ दिन काम गर्नुपर्ने भन्ने थियो । तीन वर्षको कार्यअनुभव गरेका, एमबीबीए तथा एमडी डाक्टरको लागि विज्ञापन गरिएको थियो । उक्त विज्ञापन सार्वजनिक भएसँगै धेरै नेपाली डाक्टरले चासो देखाए । कतिपयले थोरैको सङ्ख्यामा रहेको नेपाली विशेषज्ञ डाक्टर विदेश पलायन हुने भन्दै चिन्ता पनि व्यक्त गरे ।

321400698_544349120704485_6731448461025699653_n

यता सामाजिक सञ्जालमा विज्ञापन भाइरल बनिरहेको थियो । तर, वैदेशिक रोजगार विभागका महानिर्देशकको फोन तारन्तार बजिरहेको थियो । उक्त विज्ञापनको विषयमा महानिर्देशक मदन दहाल त्यतिबेला सम्म अनविज्ञ नै थिए । त्यसपछि महानिर्देशक दहालले विज्ञापन हेरे । उनी आफैँ चकित परे ।

पहिलो कुरा त नेपालमा भएभरका सबै विशेषज्ञ डाक्टर लैजाने गरी विज्ञापन गरिएको थियो । दोस्रो कुरा भनेको विभागसँग कुनै प्रकारको स्वीकृति समेत लिइएको थिएन। विभागसँग स्वीकृति मागेको खण्डमा एकाएक त्यत्ति धेरैको सङ्ख्यामा विशेषज्ञ डाक्टरलाई विभागले स्वीकृति दिने कुरा समेत भएन।

विज्ञापनबारे चौतर्फी चासो बढिरहेको थियो । यता विभागको भने टाउको दुखाइको विषय बनिरहेको थियो ।

‘मैले फेसबुक चलाउँदिनँ । विज्ञापन सार्वजनिक भएपछि तारन्तार फोन आए । सबै नेपाली डाक्टर सक्याउने भयौ भनेर गाली समेत गरे । म आफैँ चकित परेँ । राज्य नै नभएको आभाष भयो । राज्य लाचार बन्यो कि क्या हो जस्तो लाग्यो । र मैले तुरुन्तै यो विषयमा कदम चालेँ,’ दहालले भने ।

खोजतलास गर्दै जाँदा नेपाली डाक्टरलाई कुवेत पठाउने भन्दै विज्ञापन गर्ने ओमेगा इन्टरनेसनल रहेको पाइयो । त्यसपछि विभागले अनुसन्धान गर्दै जाँदा विभागको पूर्व स्वीकृति विनै सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइयो ।

सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रूपमा गन्तव्य मुलुकमा पठाउने शङ्कास्पद काम गरेको पाइएपछि विभागले उक्त कम्पनीको लाइसेन्स नै निलम्बन गरेको छ ।

369695850_276490828454380_4809550616440226358_n

नेपाल मेडिकल काउन्सिलको तथ्याङ्क अनुसार हाल नेपालमा १० हजार ८० जना विशेषज्ञ डाक्टर छन् । ती मध्ये २ हजार ९७० महिला र ७ हजार ११० पुरुष डाक्टर छन् । जसमा ९ हजार ३३९ जना एमडी/एमएस डाक्टर र ७४१ एमडीएस डाक्टर छन् ।

१३५२/०७४/०७५ इजाजतपत्र नम्बर रहेको ओमेगालाई विभागले अर्को निर्णय नहुँदासम्मको लागि निलम्बन गरेको हो ।

वैदेशिक रोजगार ऐनको दफा ६१(४) बमोजिम निलम्बन गरिएको विभागले जनाएको छ । विभागलाई प्राप्त भएको सूचना अनुसार ओमेगाले यसअघि समेत व्यक्तिगत श्रम स्वीकृतिको आधारमा नेपाली विशेषज्ञ डाक्टरहरूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै विज्ञापन गरेको थियो । उक्त दफा अनुसार इजाजतपत्र बढीमा ६ महिनासम्म निलम्बन गर्ने सक्ने व्यवस्था छ ।

सोही आधारमा थप अनुसन्धान पुरा गरेर निर्णय नहुँदासम्मको लागि निलम्बन फुकुवा नहुने महानिर्देशक दहालले बताए ।

‘राज्य हुँदाहुँदै लाचार जस्तै बनाएको देखिन्छ । यो देशमा जसले मन लाग्यो त्यही गर्न पाइन्छ जस्तो लागेको जस्तो देखियो । कानुन विपरीत जानेलाई कानुनी दायरा ल्याउनु हाम्रो कर्तव्य,’ दहालले भने ।

371001385_857855419041659_6010324203137951929_n (1)

ओमेगाले यसअघि पनि विभिन्न देशमा नेपाली विशेषज्ञ डाक्टरको लागि रोजगारीको अवसर भन्दै विज्ञापन गरेको देखिएको उनको भनाइ छ । ओमेगामाथिको अनुसन्धान नसकिएको र अनुसन्धानको क्रममा थप कुराहरू खुल्ने बताए ।

ओमेगाले यसअघि २२ डिसेम्बर २०२२ मा सामाजिक सञ्जालमा राखेको सूचना अनुसार कुवेतमा ल्याब टेक्नेसियन, रेडियोलोजी सहित १ हजार ७०८ जनालाई रोजगारीको अबसर भन्दै विज्ञापन गरेको थियो ।

 त्यस्तै डेन्टल टेक्नेसियन, डेन्टल हाइजेनिष्ट, डेन्टल एक्सरे लगायतका पदका लागि समेत विज्ञापन गरेको देखिएको छ । ओमेगाले यसअघि पनि कुवेतमा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन पटक पटक विज्ञापन गरेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप