बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक सातामा २३ अंकले घटेर १९९० अंकको विन्दुमा, ४ अर्बको कारोबार !

शुक्रबार, १५ भदौ २०८०, १७ : १३
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । सेयर बजारप्रति आम लगानीकर्ताहरूको नैरास्यता छाउँदा यो साता नेप्से सूचकसँगै कारोबार रकममा समेत तीव्र गिरावट आएको छ । सातामा चार दिन खुलेको बजारमा २३ अंकले घट्दै नेप्से सूचक १९९० अंकको विन्दुमा झरेको छ । 

यस्तै यो साता कारोबार रकम समेत ठुलो परिणामले घट्दै जम्मा ४ अर्ब १० करोड १३ लाख ६७ हजारमा सीमित हुन पुगेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको हो । 

यस साता सबैभन्दा बढी कमर्सियल बैंक समूहको सेयर ३६ करोड ९ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने दोस्रोमा हाइड्रोपावर समूहको १४ करोड ५४ लाख ५८ हजार रुपैयाँ बराबरको र लाइफ इन्स्योरेन्सको १० करोड २२ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

सबैभन्दा कम यस साता कर्पोरेट डिभेन्चरको जम्मा ४ लाख ६७ हजार १८१ रुपैयाँको मात्र कारोबार भएको छ । 

सातामा चार दिन खुलेको बजारमा जम्मा एक दिन सोमबार ५.०९ अंकले नेप्से सूचक बढेकोमा बाँकी तीन दिन २८ अंकले घट्न पुगेको छ । 

मार्केट क्यापिटलाइजेशन ३४ अर्ब ९२ करोडले घट्यो

नेप्से सूचकसँगै यो साता मार्केट क्यापिटलाइजेशन (बजार पुँजीकरण) समेत राम्रै अंकले घट्न पुगेको छ । गएको चार दिनमा सेयर बजारको पुँजी ३४ अर्ब ९२ करोड ५० लाख रुपैयाँले घट्दै २९ खर्ब ७९ अर्ब ९८ करोड २० लाख रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो मार्केट क्यापिटलाइजेशन ३० खर्ब १४ अर्ब ९० करोड ८० लाख रुपैयाँ हाराहारी रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप