शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादीको अभियान

‘समाजवादको भविष्य उज्ज्वल छ, हाम्रो जीत सुनिश्चित छ’

शनिबार, १६ भदौ २०८०, १० : ३४

नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरुले पुनः शीर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा हामी यो अभियानको सुरूआत गर्न गइरहेका छौं। गत महिना सम्पन्न हाम्रो पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले देशको राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालनका कार्यक्रमहरू बनाई अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। पार्टीको सोही निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आज भदौ १६ गते देशका ६ हजार ७ सय ४३ वडाहरूबाट एकैसाथ अभियानको उद्घाटन भइरहेको छ। सर्वप्रथम म यो अभियान सफलताको शुभकामना दिँदै अभियानले पार्टीभित्र नयाँ उर्जा सिर्जना गर्ने र जनतासँगको सम्बन्धलाई पुनः बलियोसँग स्थापित गराउने विश्वास व्यक्त गर्दछु। 

परिवर्तनको नेतृत्व गरेको हाम्रो पार्टी यतिबेला इतिहासकै चुनौतीपूर्ण अवसरका बीच खडा छ। इतिहासले हामीमाथि ठूलो जिम्मेवारी सुम्पेको छ। हाम्रो पार्टीको नेतृत्वमा भएको जनयुद्ध र १२ बुँदे समझदारीका आधारमा भएको जनआन्दोलनका बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्ने जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ। परिवर्तनको रक्षा गर्दै संविधानमा उल्लेखित समाजवाद निर्माणको आधार खडा गर्ने, सुशासन, सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। हो, इतिहासको यही अत्यन्तै गम्भीर, संक्रमणकालीन र संवेदनशील जिम्मेवारी पूरा गर्ने मोडमा हामी छौं।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गरिरहँदा मैले के देखेको छु भने सिंगो पार्टी एकढिक्का भएर अगाडि बढने हो भने हाम्रा अगाडि खडा भएका सबै चुनौती सामना गर्न सक्नेछौँ र पार्टीलाई देशकै बलियो र भरोसायोग्य पार्टीका रूपमा रूपान्तरण गर्न सक्नेछौं। समाजवादका आधार तयार पार्ने नयाँ चरणको आन्दोलनको नेतृत्व लिन पार्टीलाई सक्षम बनाउने अठोटका साथ यो अभियानले सफलता प्राप्त गर्ने मैले विश्वास लिएको छु। 

राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको छ। तर हामीले आफैले गरेका राम्रा काम पनि जनतासम्म पुर्‍याउन सकेका छैनौँ।

आज हामी देशका सबै वडामा अभियानको नेतृत्व गर्दै भेला भएका छौँ। आजको दिन पार्टीको जीवनका लागि, देशको उज्ज्वल भविष्यका लागि र जनताका सपना पूरा गर्ने ऐतिहासिक दिनसमेत हुनेछ। जनसम्बन्धबाट पार्टी विमुख हुँदै जाने परिस्थितिसँगै सिर्जना भएको संकटलाई चिर्न समेत यो अभियानले नयाँ प्राणको काम गर्ने आशा हामीले लिएका छौँ। त्यसैले यो अभियानले एकातिर आजको युगको नेतृत्व गर्ने विचार निर्माणका लागि आधार तयार गर्नेछ भने अर्कोतर्फ त्यो नेतृत्वका लागि आवश्यक क्रान्तिकारी र सबल संगठनको निर्माण गर्नेछ। यसका साथै यो अभियानले जनतामाझ पुगेर आजको युगसापेक्ष अग्रगामी सभ्य राजनीतिक संस्कार र चिन्तनको समेत विकास गर्न मद्दत पुग्नेछ। 

अहिले मेरो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको छु। सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छ। एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ। 

राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको छ। तर हामीले आफैले गरेका राम्रा काम पनि जनतासम्म पुर्‍याउन सकेका छैनौँ। यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीचको एकता सुदृढ गर्नेछ।

सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको छ। मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवम् स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अब्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निशुल्क शैयाको व्यवस्थादेखि स्वास्थ्यक्षेत्रमा सुधार र सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रसंशा भइरहेको छ।  

वित्तीय तथा मौद्रिक नितीको सन्तुलनमार्फत् निजि क्षेत्रलाई समेत विश्वासमा लिई सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको छ।

जनयुद्धका शहीद घोषणालाई राजपत्रमा प्रकाशन गर्नु र बाँकी रहेकाहरूलाई शहीद घोषणा, जनयुद्ध दिवसमा दिइएको सार्वजनिक विदा लगायतका निर्णयहरूले राजनीतिक आन्दोलन र परिवर्तनमा योगदान गर्नेहरूको सम्मान भएको छ। लघुवित्त पीडितहरूको आन्दोलनलाई सरकारले सम्बोधन गर्न पहल गरेको, इतिहासमा पहिलो पटक पाठ्यपुस्तक समयमै विद्यालयहरूमा पठाइएको, किसानहरूलाई रासायनिक मल समयमा उपलब्ध गराइएको, बिपन्न र असहायका निम्ति निशुल्क स्वास्थ्य सेवा प्रभावकारी तुल्याइएको, आर्थिक सुधार लगायतका कामहरूले सरकारको संकल्प र प्रतिवद्धता व्यवहारमा रूपान्तरण भएको छ। 

वित्तीय तथा मौद्रिक नितीको सन्तुलनमार्फत् निजि क्षेत्रलाई समेत विश्वासमा लिई सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको छ। उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार, अर्थतन्त्रका सूचकांकहरू सकारात्मक दिशातर्फ उन्मुख छन्। २०८० असार मसान्तसम्म शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ।

विदेशी विनिमय सरुञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्रुन पुग्ने अवस्था रहेको छ। विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ। जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलाउने निर्णय भएको छ। यही भाद्र ११ गते मात्रै नेपाल राष्ट्रबैंकले लचिलो वजार नीति अनुसार चालुपुँजी कर्जासम्वन्धी मार्गदर्शन संशोधन गरेको छ। यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्वि र बजारमा आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यसैगरी सरकारले चालेका जनमुखी कदमहरूले जनतामा परिवर्तनप्रति असन्तोष बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने तथा प्रमुख राजनीतिक दल र नेताहरूलाई बदनाम गरी राष्ट्रलाई नै असफल बनाउने षडयन्त्रहरूलाई गतिलो जवाफ दिएर जनतामा आशा जगाएको छ। जनतामा “अब चाँहि केही हुन्छ” भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार भएको छ। यो आजको कामको परिणाम मात्र नभई नेपाली जनताको न्याय र मुक्तिको उद्देश्यमा आधारित महान जनयुद्ध र जनआन्दोलनको क्रममा खाएको मुक्ति या मृत्युको सपथ र नयाँ परिवेशमा हामीबाट गरिएको संकल्पको निरन्तरता हो।

आठौं महाधिवेशनको दस्तावेजमा सांस्कृतिक रूपान्तरणका लागि हाम्रो आजको अवस्था सुहाउँदो सांस्कृतिक क्रान्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने प्रस्ताव गरिएको छ।

“दृढ इच्छाशक्तिका साथ अभेद्य सङ्कल्प गरे के हुँदैन र” भन्ने मान्यता आज व्यवहारमा पुष्टि भएको छ। सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा वर्तमान सरकारले गरेका कामहरूले पार्टीको आन्तरिक जीवनमा देखिएका आशंका र अविश्वासहरू पनि मेटाउँदै एकतालाई सुदृढ गर्न सहयोग पुर्‍याएको छ। देशभरिका जनता र कमरेडहरूमा आशा र उत्साह बढेको छ। अभियानका क्रममा यी सबै विषयहरु जनतामाझ सम्प्रेषण गर्ने र जनताका आशा, अपेक्षा, आलोचना, सुझाव तथा प्रतिक्रियालाई ग्रहण गर्दै सुशासन र सामाजिक न्यायका पक्षमा सरकारले चालेको अभियानलाई अझै सशक्त बनाइनेछ।

यी उपलब्धीका बाबजुद परिवर्तनलाई नरूचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्वहरूले सरकारविरूद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने, यो वा त्यो रूपमा सरकारका कामको प्रशंसा र चर्चाबाट जनताको ध्यान विमुख गर्ने षड्यन्त्रहरू भइरहेका छन्। सरकारलाई काम गर्न नदिन बिभिन्न कोणबाट भइरहेका यी हर्कतहरू गलत त छन् नै, तर, यो घेराबन्दीले झनै जिम्मेवार ढंगले सबल, सक्षम भएर क्रान्तिकारी आन्दोलनमा अविचिलित रूपमा अघि बढ्नैपर्ने कार्यभार समेत हाम्रोसामु थपिदिएको छ। त्यसैले हाम्रो अस्तित्व हामीमा नै निर्भर छ भन्ने कुरा विर्सिनु हुँदैन। हामीले कस्तो विचार विकास गर्छौं, हामीले कस्तो संगठन निर्माण गर्छौं, हामीले जनताका मुद्दाहरूलाई के–कसरी र कुनस्तरमा उठान गर्छौ, हामीले आफ्ना कमजोरीप्रति कस्तो आत्मालोचना र आत्मसमीक्षा गर्छौ, हामीले हाम्रा राम्रा कामहरूको प्रचार के कसरी गर्न सक्छौं भन्ने जस्ता कुराले हाम्रो र सिङ्गो कम्युनिस्ट आन्दोलन एवम् समाजवादी क्रान्तिको आधार तयार पार्ने आन्दोलनको भविष्य निर्भर गर्दछ। वर्तमान सरकारले गरेका लोकप्रिय र जनमुखी कामहरूबारेमा आमपार्टी पंक्ति र जनतामाझ व्यवस्थित प्रचार प्रसार गर्न नसक्दा भ्रमपूर्ण प्रचार गर्नेहरूले ठाउँ पाएकाले सरकारबाट भएका कामहरूलाई एकीकृत माध्यमबाट जनताका बीचमा पुर्याउन सिङ्गो पार्टी एकजुट भएर लाग्न जरूरी छ। यी कामलाई जनतामाझ स्थापित गर्ने जिम्मेवारी र चुनौतीसमेत तपाईं हाम्रासामु छ।

मैले केन्द्रीय समितिको बैठकमा समेत यो कुरामा विशेष जोड दिँदै तीन महिने अभियानका माध्यमबाट हाम्रो पार्टी आठौं महाधिवेशनको मूल स्पिरिटका आधारमा विचारको विकास, संगठन निर्माण र सांस्कृतिक रुपान्तरण गर्न सक्षम हुने विश्वास व्यक्त गरेको थिएँ। पार्टीको आठौं महाधिवेशनमा हामीले नयाँ परिस्थितिले निम्त्याइरहेको नयाँ संकटको सामना गर्न सर्वाधिक महत्वको कुरा वैचारिक–राजनीतिक स्पष्टता कायम गर्ने निष्कर्ष निकालेका थियौँ। आठौं महाधिवेशनको दस्तावेजमा सांस्कृतिक रूपान्तरणका लागि हाम्रो आजको अवस्था सुहाउँदो सांस्कृतिक क्रान्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने प्रस्ताव गरिएको छ। यस दृष्टिबाट समाजवादको आधार तयार पार्नका लागि निश्चित योजनासहित सबै नेता र कार्यकर्ताहरू जनतासँग जोडिएर उत्पादन कार्यमा सहभागी हुनुका साथै सामूहिकरूपमा विचार, संस्कृति र समाजवाद निर्माणको विषयमा गम्भीर बहस छलफलको प्रक्रियाबाट अगाडि बढ्न जरूरी छ।

अभियानका क्रममा हामीले सबै जनताका घरमा पुग्ने योजना निर्माण गरेका छौँ। यसको अर्थ हामी लाखौं जनतासँम्म पुग्नेछौँ। जनताका कुरा सुन्नेछौँ। जनताको सुझाव र आलोचना ग्रहण गर्नेछौँ। हिजो अत्यन्तै भीषण संघर्षका कठिन क्षणमा हामीलाई जनसमुदायले विश्वास गरेर साथ दिएकै कारणले हाम्रो आन्दोलनले सफलता प्राप्त गरेको हो। आज जनतासँगको सम्बन्ध कमजोर भएको स्थिति छ। तर, विर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनको पक्षमा छन्, जनता समृद्धि चाहन्छन् र जनता सुशासन चाहन्छन्। अनि यो सँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ – नेपाली समाजको परिवर्तन र रूपान्तरण केवल माओवादीले मात्रै गर्न सक्छ। माओवादीकै नेतृत्वमा मात्रै समृद्ध नेपाल सम्भव छ। तसर्थ कमरेडहरु, जनतासँग हामीले भन्न सक्नुपर्दछः हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ, हामी सुध्रिन चाहन्छौँ, त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ। कमरेड लेनिनले भन्नुभएको छ, ‘‘यदि तपाईं इमान्दार हुनुहुन्छ भने आलोचनाबाट डराउनु हुन्न, बरु जहाँ–जहाँ जनता छन्, त्यहाँ गएर काम गर्नुपर्दछ। र आफूलाई रूपान्तरण गर्नुपर्छ। इमान्दार मानिसले मात्रै साँचो अर्थमा वास्तविक आत्मालोचना गर्न सक्छ।

हामीले अभियानका क्रममा स्थानीय सन्दर्भमा समेत सुशासन, सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच र सामाजिक न्यायसहितको विकासका लागि जोड दिन जरूरी छ। अहिले स्थानीय तहहरू केही श्रोत र साधनबाट सम्पन्न छन्। प्रदेशहरूमा आफ्नै सरकार निर्माण भएका छन्। हाम्रै संघर्षको फलस्वरूप केन्द्रीकृत राज्यसत्ता विकेन्द्रीत भई संघीयता कार्यान्वयनको तहमा गएको छ। तर स्थानीय तह र प्रदेशहरूले जनताको अपेक्षाअनुरूप जनताका मुद्दाहरूको सम्बोधन गर्न सकेनन्, सुशासन कायम गर्न सकेनन्, विकास निर्माणका कामहरु अघि बढाउन सकेनन् र सामाजिक न्याय कायम गर्न सकेनन् भने यसको बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने तत्वहरूले टाउको उठाउने मौका पाउनेछन्। त्यसैले अभियानकै क्रममा स्थानीय तहमा समेत जनतासँग जोडिएका सुशासन, सामाजिक न्याय र विकासका कामहरूमा पार्टीले विशेष चासो दिन जरूरी छ।

मैले बारम्बार भन्दै आएको छु– अबको हाम्रो लडाईं स्थायित्वका निम्ति, समृद्धिका निम्ति, विकासका निम्ति हो। किनकि सर्वत्र हामीले विरासतमा राम्रो चीज प्राप्त गरेका छैनौं, यहाँ बेथितिको डङ्गुर छ। कुशासनका चाङ छन्, ठूला ठूला सेटिङहरू छन्। यी बेथितिहरूलाई सच्याउने, सेटिङहरू भत्काउने र देशलाई साँच्चै नै सुसंस्कृत, सभ्य र समृद्ध बनाउने लडाईंमा हामी छौँ। सरकारको नेतृत्वको नाताले मैले यो चुनौतीलाई स्वीकार गरेको छु। अब यसलाई गन्तव्यमा पुर्‍याउन सोहीअनुरूपको बलियो र क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता रहेको मैले केन्द्रीय समिति बैठकमा समेत उल्लेख गरेको थिएँ। त्यसैले यो तीन महिने अभियानले सरकारले अघि बढाएको पहलकदमी र पार्टीले अघि सारेको अभियानलाई लक्ष्यमा पुर्‍याउन ठोस भूमिका खेल्नेछ। यहाँहरू यही स्पिरिट र क्रान्तिकारी भावनाले जनतामाझ जानुहुनेछ, बलियो क्रान्तिकारी र सबैको भरोसाको माओवादी पार्टी निर्माण गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वास लिएको छु।

अहिले अभियानका क्रममा हाम्रो सक्रियता र जनतामाझ हामी पुग्ने अवस्थाले राजनीतिक प्रणालीप्रति जनताको गुम्दै गएको विश्वासलाई समेत फर्काउने र रूपान्तरणका लागि उर्जा प्राप्त गर्ने अवस्था सिर्जना हुनेछ। कमरेड लेनिनले भनेझैँ अत्यन्त उन्नत सिद्धान्तको आधारमा चल्ने पार्टीले मात्रै जनताको नेतृत्व गर्न सक्छ। अहिले नेपाली समाजको नयाँ चरणको क्रान्ति अर्थात समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो पार्टी यही अग्रदस्ता बन्नुपर्ने अनिवार्यता रहेकोमा पुनः जोड दिन चाहन्छु।

नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको छ। पहिलो संगठित राजनीतिक आन्दोलन २००७ साल वरिपरि सम्पन्न भयो। यसले राणाशासन समाप्त गर्‍यो। दोस्रो महत्वपूर्ण आन्दोलन २०४६ सालको हो, जसले निरङ्कुश पञ्चायती व्यवस्था समाप्त गर्यो। तेस्रो १० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको अवधि थियो। जसको बलमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो।

पार्टी रुपान्तरणको यो विशेष अभियानमा हामी तपाईंको घरदैलौमा आउँदैछौं। मलाई राम्रैसँग बोध छ– माओवादी आन्दोलनसँग यहाँहरुको विशेष आत्मीयता छ, विशेष अपेक्षा छ र केही असन्तुष्टि पनि।

अब नयाँ अर्थात् समाजवादको आधार निर्माणको चरणमा नेतृत्व गर्ने नयाँ राजनीतिक शक्ति आजको आवश्यकता हो। हाम्रै पार्टीले नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्छ। यसका लागि कम्युनिस्ट आन्दोलनलाई युग, समय, चेतना र नयाँ पुस्ताको सपनाहरूसँग एकाकार गर्न सक्नुपर्दछ। साधारण नेतृत्वले पार्टी बनाउँछ। साधारण नेतृत्वले सरकार बनाउँछ। साधारण नेतृत्वले चुनावको पनि नेतृत्व गर्छ। तर, विशेष नेतृत्वले मात्रै आन्दोलन बनाउँछ, इतिहास बनाउँछ र बनाउँछ नयाँ युग। त्यसका लागि हामीले आफ्नै पुनर्गठन, सबलीकरण र रचनात्मक रूपान्तरण गर्नुपर्दछ। अनि मात्र यो पार्टीले नयाँ वैचारिक र राजनीतिक संश्लेषणको आधारमा समग्र वामपन्थीहरूको एकता र सुदृढीकरणको नेतृत्व गर्नसक्छ। युगको नेतृत्व गर्ने यो अवसरलाई गुम्न दिनुहुँदैन। 

मैले बारम्बार भन्दै आएको छु, मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन। देश र जनताप्रति सर्मपित हुँदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्नेबाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन। जीवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति, परिवर्तन र जनताका पक्षमा बित्यो। अब जनताले चाहेको सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा गरेको छु। हिजो क्रान्तिको क्षणमा होस् या आज शान्तिको क्षणमा होस्, मेरा हरेक पाइला, हरेक क्षण, हरेक समय देश र जनताकै पक्षमा बितेको छ। मेरो नेतृत्वले नेपाली समाजमा के–कति परिवर्तन ल्यायो वा ल्याएन, यसको समीक्षा जनता र इतिहासले गर्ने नै छन्। मैले यो पनि भन्ने गरेको छु, अबको मेरो बाँकी जीवन नेपाली समाजको चरित्र अनुरुप वैज्ञानिक विचारको विकास गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्नेतर्फ केन्द्रीत हुनेछ। समाजवादी क्रान्तिको तयारी गर्ने हाम्रो संकल्पसँगै हाम्रो काँधमा इतिहासले एउटा ठूलो जिम्मेवारी दिँदैछ। त्यसैले यो तीन महिने अभियान इतिहासले सुम्पेको यो जिम्मेवारीको ठोस आधार तयार पार्ने समयसमेत हो। हामीले अभियानमार्फत कस्तो विचारको विकास गर्छौं र कस्तो पार्टी निर्माण गर्छौं भन्ने कुरामा हाम्रो भविष्य, हाम्रा लाखौं नेता र कार्यकर्ताको भविष्य समेत निर्भर छ। तसर्थ, यो अभियानका क्रममा तपाइका हरेक पाइला, सोँच, चिन्तन, कार्यशैली समय हामी सबैको, नेपाली जनताको र विश्वका श्रमजीवी जनताको भविष्य निर्माणमा अघि बढ्नेछन् भन्ने विश्वास लिएको छु।

पार्टी रुपान्तरणको यो विशेष अभियानमा हामी तपाईंको घरदैलौमा आउँदैछौं। मलाई राम्रैसँग बोध छ– माओवादी आन्दोलनसँग यहाँहरुको विशेष आत्मीयता छ, विशेष अपेक्षा छ र केही असन्तुष्टि पनि। अहिले माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनेपछि यहाँहरुमाझ अब केही हुन्छ, श्रमजीवि जनताले देखेको सपना पुरा हुन्छन्, शोषण र विभेद अन्त्य भई सामाजिक न्यायसहितको समाजको स्थापना हुन्छ भन्ने आशा पुनः पलाएको छ। सरकारले गरेका सुशासनमुखी कामबाट राजनीतिप्रति नै भरोसा जागेको छ। हामी वाचा गर्दछौं, हाम्रा कदमहरु अग्रगमनबाट विचलित हुने छैनन्। जनताले देखेका सपना, जनताका अपेक्षा पुरा गर्ने दिशामा हाम्रो राजनीति र हाम्रो संगठन गतिशील हुनेछ। कतिपय गल्ती, कमजोरी रहेपनि इतिहासबाट पाठ सिक्दै यो अभियानमार्फत हामी जनताको बलियो, क्रान्तिकारी र भरोसायोग्य पार्टी बन्ने छौं। अभियानका क्रममा यहाँहरुको रचनात्मक र उर्जाशील सहभागिताका लागि हार्दिक अपील गर्न चाहन्छु।

अन्त्यमा, सम्पूर्ण कमरेडहरू केन्द्रीय समितिको स्पिरिट र निर्णयअनुसार तोकिएको जिम्मेवारी र कार्यक्षेत्रमा खटौं, पार्टी र जनताबीच नङ–मासुको सम्बन्ध स्थापित गरौं। घेराबन्दी र चुनौतीहरू छिचोल्दै सकारात्मक भाष्य र सुनौलो भविष्य निर्माणमा केन्द्रित होऔं। समाजवादको भविष्य उज्ज्वल छ, हाम्रो जीत सुनिश्चित छ। धन्यवाद, अभिवादन।

(जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन समारोहमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्पकमल दाहाल ‘प्रचण्ड’
पुष्पकमल दाहाल ‘प्रचण्ड’
लेखकबाट थप