मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
चिकित्सा शिक्षा आयोग

योग्यता विवादका बाबजुद चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी दोस्रो कार्यकालका लागि प्रयासरत

पहिलो कार्यकाल सकिँदासमेत मुद्दा छिनोफानो भएन
सोमबार, १८ भदौ २०८०, ११ : ४१
सोमबार, १८ भदौ २०८०

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि यतिबेला छनौट चलिरहेको छ । उपाध्यक्षका लागि गठित सिफारिस समितिले दरखास्त आह्वान गर्दै छनौटको प्रक्रिया अगाडि बढाइरहेको हो ।

समितिमा हालका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीसहित ९ जनाको आवेदन परेको छ । त्यसरी आवेदन परेकाहरुको आइतबार प्रस्तुतिकरण भएको छ भने सोमबार अन्तरवार्ताको समय तोकिएको छ ।

दोस्रो कार्यकालका लागि मैदानमा उत्रिएका प्राडा गिरीको भने योग्यता सम्बन्धी एउटा मुद्दामाथि अझै फैसला हुन सकेको छैन । आयोगको उपाध्यक्ष हुन प्राडा गिरीको योग्यता नपुगेको भन्दै २०७७ साउन ३ गते सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो । जसमा गिरीसँग आयोगको उपाध्यक्ष हुने मापदण्ड पूरा नभएको भन्दै उनको नियुक्ति बदर गर्न माग गरिएको थियो । तर, उक्त मुद्दाको टुङ्गो हालसम्म लाग्न सकेको छैन ।

एक कार्यकाल पूरा भएर दोस्रो कार्यकालका लागिसमेत उनले आवेदन दिएको अवस्था छ । उनको नियुक्तिको विषयलाई लिएर परेको रिटमाथि सुनुवाइ अझै हुन सकेको छैन ।

IMG20230904003936

उक्त मुद्दाको पहिलो तारेख २०७७ साउन २५ गते तोकिएको थियो । हालसम्म २९ पटक पेसी तारेख तोकिएको छ । यो मुद्दामा अब २०८० मंसिर १८ गतेका लागि ३० औं तारेख तोकिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्नुका साथै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो । साथै इजलासले विपक्षीलाई १५ दिनभित्र जवाफ पेस गर्न भनेको थियो ।

२०७७ साउन २७ गते सर्वोच्चले गिरीको नाममा सूचना म्याद जारी गरेको थियो । जसमा आवश्यक कागजातको प्रतिलिपीसहित प्रस्तुत हुन भनिएको थियो ।

यस बिचमा कहिले बेञ्च बस्न नभ्याएको, कहिले पक्षको कानुन व्यवसायीका कारण सुनुवाइ स्थगित गरिएको थियो भने कहिले फाइल मगाउने आदेश भएको थियो ।

अन्तिम पटक २०८० वैशाख ३ गते पेसी तोकिएको थियो । तर, त्यो दिनसमेत हेर्न नभ्याउनेमा राखिएको थियो । पदाधिकारीको योग्यताबारेमा प्रश्न उठाउँदै दायर गरिएको मुद्दामा एक कार्यकाल सकिन लाग्दासमेत फैसला आउन सकेको छैन ।

उपाध्यक्षका लागि सिफारिस समितिमा परेको आवेदनमा कुनै पनि उम्मेदवारले पेस गरेको विवरण योग्यता अनुसार नपुगेको भन्दै २०७६/०३/०९ मा गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको देखिन्छ । आयोगको उपाध्यक्षका लागि गिरीले दुई पटक आवेदन दिएका थिए । २०७६/०३/०९ मा पहिलो पटक आवेदन आह्वान गरेको थियो । त्यो बेला गिरीसहित तीन जनाले आवेदन दिएका थिए । जसमा तीनै जनाको योग्यता नपुगेको भन्दै दोस्रो पटक आवेदन आह्वान गरेको थियो । दोस्रो पटक २०७६ साउन २० गते प्रकाशित दोस्रो पटकको सूचना अनुसार भने गिरी योग्य देखिएका थिए ।

पहिलो पटकको सूचनामा ‘उपाध्यक्ष पदका लागि पर्याप्त दरखास्त प्राप्त हुन नसकेको र प्राप्त भएका दरखास्तहरुमध्येबाट पनि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २४ को उपदफा (१) बमोजिम उपाध्यक्षका लागि तोकिएको सबै योग्यता पूरा गरेको पुष्टि हुने प्रमाणहरु वा स्वयं घोषणा संलग्न गरेको नदेखिएको र दफा २५ बमोजिम उपाध्यक्षको पदमा नियुक्ति हुन अयोग्य रहेको पुष्टि हुने प्रमाण वा स्वयं घोषणाहरु संलग्न भएको नदेखिएको’ भन्दै सूचना जारी गरिएको थियो ।  

सिफारिस समितिले प्राडा गिरीसँगै प्राडा सुरेन्द्र शेरचन र शम्भुकुमार पहारीको नाम सिफारिस गरेको थियो । तर, तीनै जनाको ऐनले तोके अनुसार मापदण्ड पूरा हुन नसकेको देखिएको थियो ।

सिफारिस समितिको सिफारिसको आधारमा २०७६ भदौ २६ गते मन्त्रिपरिषद् बैठकले गिरीलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । उनको कार्यकाल यही भदौ २६ गतेदेखि सकिँदैछ ।

त्यो बेला डा. गोविन्द केसीले आवेदन दिएका गिरीसहितका उम्मेदवारको क्षमतामाथि प्रश्न उठाएका थिए । पत्रकार सम्मेलन गर्दै केसीले उनीहरु सबै आयोगको उपाध्यक्ष बन्न अयोग्य रहेको बताएका थिए ।

दरखास्त दिएका सबैलाई चिन्ने र उनीहरुको क्षमताभन्दा उपाध्यक्ष पद माथिको रहेको केसीले बताएका थिए । दरखास्त फिर्ता लिई सही व्यक्तिलाई उपाध्यक्ष बनाउन सहयोगी बन्नसमेत उनीहरुलाई केसीले आग्रह गरेका थिए ।

त्यो बेला गिरीसँगै डा प्रमोदकुरमा सरार्फ, डा. पारस पोखरेल, डा. निलाम्बर झा, डा. रामेश सिंह र डा. निलमणी उपाध्यायले आवेदन दिएका थिए ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २४ मा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष सिफारिस गर्दाको आधार तोकिएको छ ।

७ वटा आधार तोकिएकामा प्रमुख आधारका रूपमा योग्यता छ । दफा २४ को उपदफा (क) मा मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा २० वर्षको अनुभव भएको वा चिकित्सा शिक्षा क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाको क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको भन्ने उल्लेख छ ।

नेपाल मेडिकल काउन्सिलको बेवसाइटमा भने अझै पनि गिरी एमबीबीएस डाक्टरको रुपमा देखिएका छन् । पहिलो कार्यकालमाथि नै प्रश्न उठिरहेको बेला दोस्रो कार्यकाल हात पार्नका लागि गिरीले सक्रियता देखाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप