शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ राजदूतलाई परराष्ट्रमन्त्रीले स्पष्टीकरण लिनुपर्छ : दीक्षित

‘गृहमन्त्रीबाट हटाइए नारायणकाजीले सबैको पोल खोल्नुपर्छ’
मङ्गलबार, १९ भदौ २०८०, २० : ४८
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा ‘चिनियाँ राजदूतले गैरकूटनीतिक अभिव्यक्ति दिएको आरोप छ । चिनियाँ राजदूत सोङले भनेका थिए, ‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत् निर्यात गर्‍यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत् आयात गर्‍यो। भारतसँग भइरहेको विद्युत् व्यापारबाट नेपालले घाटा ब्यहोरी रहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ?’

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. दीक्षितले भने, ‘चिनियाँ राजदूतले जे भन्नुभयो, हाम्रो यतिका वर्षको सम्बन्ध बिगार्ने नै किसिमको कुरा उहाँले गर्नुभयो । यो चाहीँ मेरो विचारमा परराष्ट्रमन्त्रीले तत्कालै चिनियाँ राजदूतलाई बोलाएर अभिव्यक्तिबारे स्पष्टीकरण दिनुहोस् भनेर भन्नुपर्छ ।’ यो उहाँले तत्कालै भन्नुपर्छ । परराष्ट्र मन्त्रालयको तहबाट नै चिनियाँ गभर्मेन्टलाई (बेईजिङ) लाई भनेर तिम्रो राजदूतले यस्तो यस्तो अभिव्यक्ति दिएको छ, यो विल्कुलै हाम्रो हितको कुरा होइन । यसको लागि तिमीले तुरुन्तै यो राजदूतलाई फर्काऊ भनेर हामीले भन्न सक्नुपर्छ ।’ दीक्षितले चिनियाँ राजदूतलाई फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई नै नेपालले पत्राचार गर्नुपर्ने बताए । उनले नेपालले चुच्चे नक्सा जारी गर्दा सबै मित्रराष्ट्रहरूलाई पत्राचार गरेको भए राम्रो हुने धारणा राखे । 

अहिलेको सरकारले भ्रष्टाचार निर्मूल पार्छु र सुशासन कायम गर्छु भनेर ठुलो गफ गरे पनि काम भने गर्न भने नसकेको आरोप लगाए । सुन काण्डमा माओवादीका नेता कृष्णबहादुर महरालाई चिट नकाटिएकोमा पनि उनको आक्रोश थियो । उनले भने,‘महरालाई चिट काटेको छैन । वर्षमान पुनको त्यत्रो तस्बिर बाहिरियो, उनलाई पनि केही गरेको छैन । अहिले प्रचण्डले भ्रष्टाचार निर्मूल पार्छु भन्ने विल कुल आँखामा छारो हाल्ने काम हो । अहिलेका तीनै वटा मुद्दा टुङ्गो लाग्दैनन् ।’

दीक्षितले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शीर्ष नेताहरू मिलेर बाइपास गरिएको टिप्पणी गरे । उनले भने,‘अहिले उनलाई हटाउन लागिएको कुरा आएको छ, नारायणकाजीलाई सुरुदेखि नै हटाउन खोजिएको थियो । नारायणकाजीलाई हटाउने बित्तिकै भ्रष्टाचारका चार वटै काण्ड समाप्त हुन्छ । अहिले एनी हाउ, नारायणकाजी हटाऊ अभियान चलेको छ । गिरीबन्धु टी काण्डमा ओली र एमाले पनि मुछिएको छ । त्यसैले सबै मिलेर नारायणकाजी हटाऊ अभियान नै चलेको छ । ठुला ठुला भ्रष्टाचारमा शीर्ष नेताहरू सबै मुछिन लागे । माथिल्लो तहका सबैलाई छुन आँटेपछि गृहमन्त्री हटाउने षड्यन्त्र हुन थालेको छ । प्रचण्डको भ्रष्टाचार हटाउने कुरा देखावटी मात्रै हो ।’

उनले भने, ‘कांग्रेसको सिद्धान्त नै खत्तम भयो । उसबाट के आशा गर्ने ? गृहमन्त्री अहिले हटायो भने गलत हुन्छ । जथाभाबी गर्ने होला । गृहमन्त्री श्रेष्ठ अहिलेसम्म भ्रष्टाचारमा संलग्न छैनन् । कुनै पनि हालतमा गृहमन्त्री हटाउन हुन्न । गृहमन्त्रीबाट नारायणकाजीलाई हटाए उनले मिडियामा सबैको पोल खोल्नुपर्छ । जनताको लागि त्यो जरुरी छ । नारायणकाजीले आफै राजीनामा दिनुहुन्न । यी सबै फुत्किन्छन् । नेपाल असफल राष्ट्रतर्फ गइसकेको छ । नेपाल डुबिसकेको छ ।’

सो क्रममा उनले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहको पछिल्लो फेसबुक स्ट्याटसको पनि विरोध जनाए । उनले भने,‘बालेन शाहको पनि आक्रोश देखियो । प्रहरीको अपराध थियो भने, मलाई त त्यो पनि लाग्दैन । शनिबारको दिन अफिसियल गाडी हिँड्न पाउँदैन । सिंहदरबार जलाउँछु भन्न पाइन्छ ?हेर्नुहोस्, धेरै पहिले सिंहदरबारमा आगो लागेको थियो । कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए । राजा वीरेन्द्र थिए । सिंहदरबार आगो लागेको कारण कीर्तिबाबुले राजीनामा दिनुभयो । सरकारी संरचना त बचाउनुपर्छ । बालेनको मनस्थिति असन्तुलित देखियो । यस्तो पाराले भोलि सुकुम्बासी टोलमा पसेर के गर्ने हो कि ? नाङ्लो पसलेलाई पक्राउ गर्ने हो कि ? उनको ओहोदासँग त्यो स्ट्याटस सुहाएन । मेयर भनेको सरकारकै अङ्ग हो । गृह मन्त्रालयले स्पष्टीकरण माग्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप