मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश सभा

बजेट माग्दै विपक्षी दलले बनाए सदन गाह्रो, बजेट हेरफेर गर्न कानुनसम्मत अप्ठ्यारो

२० गतेका लागि तोकिएको बैठक भदौ २४ गतेका लागि सारियो
बुधबार, २० भदौ २०८०, २० : ०५
बुधबार, २० भदौ २०८०

काठमाडौँ । दुई महिनापछि पुनः सुरु हुन थालेको बागमती प्रदेशसभा सञ्चालन हुन सकेको छैन । आफूसँग गरेका शर्त सम्झौता कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलहरूले प्रदेशसभा सञ्चालनमा बाधा उत्पन्न गरिरहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाले सत्तापक्षसँग गरेको शर्त सम्झौता कार्यान्वयनको माग गर्दै प्रदेशसभा सञ्चालन हुन नदिने चेतावनी दिएपछि बैठक प्रभावित बनेको हो । 

यस क्रममा भदौ १८ का लागि आह्वान गरिएको बैठक बस्दै नबसी सूचना टाँस गरेर २० गते १ बजेका लागि बैठक आह्वान गरियो । तर, प्रतिपक्ष दलहरूको अडान कायमै रहेपछि २० गतेका लागि तोकिएको बैठक २४ गतेका लागि सार्नुपरेको छ ।

बैठक सञ्चालनको लागि प्रदेशसभा सचिवालयमा १८ र १९ गते लगातार सत्तापक्ष र प्रतिपक्ष दलका मुख्य नेताहरूसँग छलफल भएको थियो । तर, उक्त छलफलमा दुवै दलले आ–आफ्नो अडान नछाडेपछि बाध्यात्मक परिस्थितिमा बैठक सारिएको सचिवालयले जनाएको छ ।

बजेट माग गर्दै विपक्षी दल

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको अगुवाइमा भएको छलफलमा प्रतिपक्षी दल एमाले र राप्रपाले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आफ्ना योजना समेट्नुपर्ने माग राखे । 

विपक्षी दलले विशेष गरी निर्वाचन क्षेत्रअनुसार बजेट विनियोजन गर्नुपर्ने, प्रत्यक्ष र समानुपातिक सांसदलाई समेत बजेटको व्यवस्था गर्नुपर्ने लगायत माग बजेट पास गर्दा राखेका थिए । उक्त समयमा सरकारले बजेट पारित गर्न एमाले र राप्रपासँग क्रमशः ४५ र २५ करोड रुपैयाँसम्मको योजना समावेश गर्ने सहमति गरेको नेकपा एमालेका एक नेताको दाबी रहेको छ । 

एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले सरकारका कारण नै संसद् बैठक स्थगित गरिएको बताए । 

मन्त्रीकेन्द्रीत बजेट राख्ने अनि अरू सांसदको निर्वाचन क्षेत्रका नागरिकलाई अपहेलित गर्न मिल्छ र ? सरकारले यो कुरा मिलाउन सहमति गरेको थियो । बजेटलाई सन्तुलित बनाउनु पर्छ भन्ने हाम्रो पुरानै माग हो ।’ उनले भने, ‘कसरी गर्ने त्यो सरकारको काम हो । विभेद गर्न पाइन्न ।’

कानुनसम्मत अप्ठ्यारो

प्रमुख सचेतक पौडेलको भनाइअनुसार सरकारले तत्काल बजेट कार्यक्रमलाई सन्तुलित बनाएर मात्र सदन चल्ने देखिन्छ । तर, सत्तारुढ भने फरक शैलीबाट अघि बढेको छ ।

सरकारले विपक्षीले दिएको योजना  तथा कार्यक्रम बजेटमा समावेश गर्ने विषयमा गत असारमा नै मन्त्रिपरिषद्बाट निर्णय गरेको छ । तर, सो निर्णय अनुसार एमाले र राप्रपाले दिएका कार्यक्रमहरू बजेटमा समावेश गर्न प्रक्रियागत समस्या हुने देखिन्छ ।  

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बजेट कार्यक्रममा नयाँ योजना समावेश गर्न सक्ने अवस्था अत्यन्त न्यून रहेको छ । प्रदेशको पहिलो त्रैमासिक अवधिसम्म बजेट कार्यक्रम संशोधन तथा रकमान्तरका काम गर्न सक्ने अवस्था नरहने आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता उपसचिव लक्ष्मीकुमार रिमाल बताउँछन् ।   

बजेट संशोधन तथा कार्यक्रम थपघटको विषय सदनबाट पारित गरेर आउनुपर्ने अन्यथा सो विषय कार्यान्वयन हुन सक्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार नयाँ कार्यक्रम बजेटमा समावेश गर्न मिल्ने अवस्था रहन्न भने रकमान्तर गर्दा बजेटमा कार्यक्रम परेको हुनुपर्छ । 

यता प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार विपक्षी दलको मागका विषयमा सरकारले सकारात्मक रूपले अघि बढाइरहेको छ । तर, एमाले र राप्रपाले सरकारको प्रक्रियागत काम नै नबुझी सदन रोक्ने काम गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप