बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस नेतामाथि भएको आक्रमणप्रति मुख्यमन्त्री पाण्डेद्वारा भर्त्सना

बुधबार, २० भदौ २०८०, २१ : १३
बुधबार, २० भदौ २०८०

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको भर्त्सना गरेका छन् ।

विज्ञप्तिमार्फत उनले नेता यादवमाथि आक्रमण गर्ने व्यक्ति, समूह जो कोही भए पनि कडा कानुनी कारबाहीका लागि माग गरेका छन् । “यस्ता घटनाले आम नागरिकमा त्रास पैदा गराएको छ, समाजमा दण्डहीनता र अराजकता बढ्ने खतरा रहन्छ, आम मानिसमा कानुनी राज्यको प्रत्याभूति दिलाउन, आपराधिक प्रवृत्तिको विरुद्ध एकताबद्ध हुन सबै पक्षसँग अनुरोध गर्दछु”, मुख्यमन्त्री पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री पाण्डेले टाउकोमा गम्भीर चोट लागि उपचाररत नेता यादवको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रयोग गरी साङ्घातिक आक्रमण भएको थियो । 

नेता यादवमाथि आक्रमण गरेको आरोपमा नुवाकोट घर भई काठमाडौँ बालाजु बस्ने श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप