शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको विषयमा मन खोलेर बोले रोनाल्डो, ‘हामी साथी होइनौँ तर, हामीबीच अब प्रतिद्वन्द्वीता पनि छैन’

बिहीबार, २१ भदौ २०८०, १० : २८
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनल मेस्सीसँगको आफ्नो प्रतिद्वन्द्वीता समाप्त भइसकेको बताएका छन् । उनले आफू र मेस्सीको जोडीले यसअघि नै विश्व फुटबलको इतिहासलाई परिवर्तन गरिसकेको धारणा पनि व्यक्त गरेका छन् । 

वास्तवमै आफ्नो समयका यी दुई महान् फुटबलरले एक दशकभन्दा लामो समयदेखि विश्व फुटबलमा राज गर्दै आएका छन् । यी दुवै खेलाडीले मिलेर विश्व फुटबलमा हालसम्म ७९ वटा उपाधि जितिसकेका छन् । 

विश्व फुटबलमा रोनाल्डो र मेस्सीमात्र यस्ता खेलाडी हुन् जसले आठ सयभन्दा बढी गोल पनि गरेका छन् । ‘अहिले म त्यस्तो अवस्था देख्दिन । प्रतिद्वन्द्वीता समाप्त भइसकेको छ,’ रोनाल्डोले भनेका छन्, ‘कुनै समय हामीबीचको प्रतिद्वन्द्वीता राम्रो पनि थियो । असङ्ख्य फुटबल प्रेमीले त्यसलाई मन पनि पराएका थिए ।’

समर्थकमाझ पनि आफूहरुबीचको प्रतिद्वन्द्वीता अस्वास्थ्य नरहेको दाबी रोनाल्डोले गरेका छन् । ‘जुन समर्थकले रोनाल्डोलाई मन पराउँथे ती समर्थकले मेस्सीलाई कहिल्यै घृणा गरेनन् । 

मेस्सीको समर्थकको सम्बन्धमा पनि यही कुरा लागू हुन्छ । वास्तवमा हामीले विश्व फुटबलको इतिहासलाई नै परिवर्तन गरेका छौँ । विश्वभर हामीले आफूलाई अगाध स्नेह गर्ने समर्थकहरू पाएका छौँ यो सबैभन्दा ठुलो उपलब्धि हो,’ रोनाल्डोले भनेका छन् । 

रोनाल्डोले मेस्सी र आफू आ-आफ्नो बाटोमा अगाडि बढिरहेकाले पनि प्रतिद्वन्द्वीताको प्रश्न उठाउन नमिल्ने बताएका छन् । ‘मेस्सी आफ्नो बाटोमा अगाडि बढिरहेका छन् । म पनि आफ्नै मार्गलाई पछ्याइरहेको छु । अहिले हामी युरोप दुवै युरोपबाहिर आ-आफ्नै तरिकाले फुटबल खेलिरहेका छौँ । उनले अहिले पनि उत्कृष्ट फुटबल खेलेको मैले देखिरहेको छु । सायद उनको आँखामा मैले पनि त्यस्तै गर्दै छु,’ रोनाल्डो भन्छन्, ‘तर, वास्तविकता के हो भने अहिले म हामी दुईबीचमा कुनै प्रतिद्वन्द्वीता देख्दिन ।’ 

रोनाल्डोले थुप्रै पटक एउटै मञ्चमा भेटघाट गरेको क्षणको स्मरण पनि गरेका छन् । उनी भन्छन्, ‘१५ वर्ष लामो खेल जीवनमा हामी थुप्रै पटक एउटै मञ्चमा उभिएका छौँ । यसका बाबजुद हामी साथी हौँ भनेर म दाबी गर्न सक्दिन । मैले आजसम्म मेस्सीसँग बसेर खान खाएको छैन । तर, व्यवसायीक रुपमा भने हामी असल मित्र हौँ र हामी एक अर्कालाई निकै सम्मान गर्छौँ ।’

अर्जेन्टिनालाई विश्वकपको उपाधि चुमाउने कप्तान मेस्सी अहिले अमेरिकी क्लब इन्टर मियामीबाट व्यवसायी फुटबल खेल्छन् । दुई सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा बिताएर उनी गत जुनमा इन्टर मियामीमा आबद्ध भएका हुन् । 

अर्जेन्टिनाका कप्तान मेसी विश्व फुटबलकै महान् खेलाडी हुन् । उनले हालसम्म विश्व फुटबलमा ४४ वटा उपाधि चुमिसकेका छन् । इन्टर मियामीलाई पनि उनले सन् २०२३ को लिग्स कपको उपाधि जिताइसकेका छन् । मेसी सात पटकका बेलन डी’ओर उपाधि विजेता खेलाडी पनि हुन् ।

अर्कोतिर, पोर्चुगिज स्टार रोनाल्डो पनि समकालीन फुटबलका अर्का महान् खेलाडी हुन् । उनी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेर गत जनवरीमा साउदी अरेबियन क्लब अल नासरमा आबद्ध भएका थिए । त्यसयता उनले अल नासरलाई साउदी व्यवसायी लिगको उपाधि पनि चुमाएका छन् ।

अल नासरलाई उनले गत महिना अरब क्लब च्याम्पियन्स कपको उपाधि दिलाएका थिए । पोर्चुगलका कप्तान रोनाल्डो विश्व फुटबलमा एकमात्र यस्ता खेलाडी हुन्, जसले एक्लै आठ सय ५० गोल गरिसकेका छन् । रोनाल्डोले हालसम्म पाँच पटक फिफा बेलन डी’ओर अवार्ड हात पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप