शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारत र चीनले देख्ने गरी राष्ट्रसंघका महासचिवलाई नेपालको चुच्चे नक्सा उपहार दिनुपर्छ : सांसद ढकाल

बिहीबार, २१ भदौ २०८०, १६ : १२
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेबाट समानुपातिक सांसद बनेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका क्रममा नेपालको नक्सा उपहारको रूपमा लिएर जानुपर्ने बताएका छन् ।  

बिहीबार सिंहदरबारमा भएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद ढकालले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा सहभागी हुँदा राष्ट्रसंघका महासचिवलाई चीन र भारतले देख्ने गरी नेपालको चुच्चे नक्सा उपहार दिनुपर्ने बताएका हुन । 

उनले भने–‘संयुक्त राष्ट्रसंघका महासचिवलाई प्रधानमन्त्रीले लाने एउटा जुन उपहार हुन्छ, त्यो उपहार चाहिँ नेपालको चुच्चे नक्सा हुनुपर्छ । त्यो उपहार सारा संसारले देखिने गरेर हाम्रा भारत र चीनका समकक्षीहरूले देखिने गरेर त्यो उपहार दिनका लागि पनि सुझाव दिन चाहन्छु ।’ 

यही भदौ ३१ गतेदेखि भदौ ४ गतेसम्म प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन अमेरिका जाने कार्यक्रम रहेको छ । 

सांसद ढकालले नेपालको शान्ति प्रक्रिया पूरा नगरी संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको भ्रमण असफल हुने त हैन भन्दै प्रश्न समेत गरेका छन् । 

उनले भने–‘संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिकाको भ्रमण गर्दै हुनुहुन्छ । उहाँले नेपालको शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता दुईजना मध्ये एकजना म हुँ, नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याँए भन्ने हैसियत राखेर उहाँ त्यहाँ जानुपर्छ । उहाँलाई शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन कसले रोकेको छ ? यसमा प्रमुख प्रतिपक्षले सहयोग गर्छु भन्दा पनि लम्बाउने काम भयो । यसले गर्दा भ्रमण सफल हुँदैन कि भन्ने चिन्ता रहेको छ ।’ 

सांसद ढकालले नेपालले गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कपि संसदीय समितिमा बुझाउनका लागि आग्रह गरे ।  बीआरआई अन्तर्गत नेपालमा विभिन्न काम भइरहेको भन्ने कुरा आएको बताउँदै के के काम भइरहेको छ भनेर परराष्ट्रमन्त्री एनपी साउदलाई प्रश्न गरे । 

उनले एउटा छिमेकी देशको राजदूतले अर्को छिमेकी देशको बारेमा बोल्नु आपत्तिजनक रहेको भन्दै सम्बन्धित दूतावासलाई ध्यानाकर्षण गराउन माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप