आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो ‘८० सालको गाईजात्रा’– गजुरेलले भने– ‘कमेडी हेर्ने संस्कार हराउँदै गएछ’

सोमबार, २५ भदौ २०८०, ११ : ३९
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । गाईजात्राको अवसर पारेर हास्य कलाकार मनोज गजुरेलको समूहले आयोजना गरेको गाईजात्रे कमेडी कार्यक्रम ‘८० सालको गाईजात्रा’ सकिएको छ । गत १० भदौदेखि विराटनगरबाट सुरु भएको कार्यक्रम २३ भदौमा दाङमा पुगेर सकिएको हो ।

काठमाडौँ लगायत देशका विभिन्न १० स्थानमा ‘८० सालको गाईजात्रा’ कार्यक्रम प्रदर्शन भएको कलाकार मनोज गजुरेलले जानकारी दिए । कोरोना महामारीका समय केही वर्ष भर्चुअल गाईजात्रा गरेका गजुरेलले यो वर्ष भौतिक कार्यक्रम बनाएका हुन् ।

‘८० सालको गाईजात्रा’ मनोजको अलवा शैलेन्द्र सिम्खडा, सुबोध गौतम, गायक टीका भण्डारी, कमेडी च्याम्पियनका सुन्दर खनाल र म्याक्सम गौडेल, कमेडियन सीता न्यौपाने, प्रभात लामा र रुबिना अधिकारी सहभागी थिए ।

नेतादेखि अभिनेतासम्म, मन्त्रीदेखि कर्मचारीसम्म, सर्वसाधारणको घरदेखि शीतल निवाससम्म यो पटकको गाईजात्रामा कलाकारले झटारो बझारेका थिए ।

हरेक वर्षको गाईजात्रामा फरक पात्रको रूपमा दर्शकका अगाडि उभिँदै आएका मनोज गजुरेल यो पटक स्वर्गीय मदन भण्डारी र अमेरिकी धनाढ्य एलन मस्कका हजुरबा एलियन मस्कका रूपमा देखिएका थिए ।

‘बीपी कोइरालाको स्वर्गालयमा मदन भण्डारीको प्रवेश’ शीर्षकको प्रहसनमा बीपी कोइरालासँग भण्डारीको स्वर्गको भेट काल्पनिक प्रहसनमा नेपाली राजनीतिदेखि भ्रष्टाचार, समाजका चर्चित घटना र हत्याकाण्ड व्यङ्ग्यका खुराक विषय थिए ।

कार्यक्रममा यो दर्शकले सबैभन्दा बढी रुचाएको खुराक बन्यो । जसले दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य समेत गराएको थियो । प्रहसनमा गजुरेललाई बीपी  कोइरालाको रूपमा चक्र दुवाडीले साथ दिएका थिए ।

Capture२

कार्यक्रममा गजुरेलको एलियन मस्कको प्रस्तुतिमा कलाकार प्रभात लामाले महावीर पुनको रूपमा साथ दिएका थिए । मेक्सम गौडेलको छबि लामिछानेदेखि सुन्दर खनालको चिप्लाउने अंकलको गेटअफ समेत कार्यक्रममा रहेको थियो ।  खनाल र गौडेलको प्रस्तुति ‘कार्यक्रम द चिप्लेटी शो’ मा युवाको विदेश मोह, नेताको शिक्षादेखि कर्मचारीको हाजिरसम्म विषयमा ब्याङ्ग्य हानिएको थियो ।

त्यस्तै, कार्यक्रममा सुबोध गौतम र सीता न्यौपानेले स्टयाण्ड अफ कमेडी प्रस्तुत गरेका थिए । उनीहरूको कमेडीको विषय  राजनीतिक नेतादेखि समावेशी कोटासम्म परेका थिए ।  गाईजात्रा कार्यक्रममा शैलेन्द्र सिम्खडाको कविता शैलीले पनि बेग्लै रौनक थाप्छ । काजु, दाजु, भाउजूदेखि नायक, नायिकासम्म उनले सबैलाई उडाएका थिए । रुबिना अधिकारीको जोडदार नृत्य रहेको कार्यक्रममा गायक टिका भण्डारीको प्यारोडी पनि रहेको छ ।

विगतका वर्षको तुलनामा यो वर्षको जाइजात्रा कार्यक्रमको अनुभव बेग्लै रहेको कलाकार मनोज गजुरेलले बताए । उनले गाईजात्रा हेर्ने संस्कार मर्दै गएको पाइएको बताए ।  ‘विभिन्न प्रायोजकलाई कार्यक्रमका शो बेचेकोले हामीलाई दर्शकको कमी त भएन’ गजुरेलले भने– ‘तर टिकट काटेर कमेडी हेर्ने भीड लाग्ने पहिले जस्तो दर्शक अहिले देखिएनन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप