मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आत्महत्या रोक्ने मुख्य उपाय सचेतना हो : मुख्यमन्त्री पाण्डे

सोमबार, २५ भदौ २०८०, १३ : १५
सोमबार, २५ भदौ २०८०

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाय सचेतना भएको बताएका छन् । पोखरामा आत्महत्या रोकथामका लागि नीति निर्माताहरु तथा सरोकारवालाहरु बीच सोमबार भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।  

‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र बिभिन्न कारणहरु छन्’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,  ‘आत्महत्या न्यूनिकरण र निरुत्साहित गर्ने मुख्य काम सचेतनले गर्छ ।’

गण्डकी प्रदेशभित्र दैनिक २ देखि ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या एउटा मानसिक रोग भएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने,  ‘आत्महत्या कम गर्न, मानिसलाई यसतर्फ निरुत्साहित गर्न उपचार गराउने भनेको सचेतना जगाउने हो ।’

आत्महत्या न्यूनिकरणको क्षेत्रमा काम गर्ने संघ संस्थासँगको सहकार्यमा यसको रोकथाम र निरुत्साहित गर्न प्रदेश सरकारले पनि कार्यक्रम सञ्चालन गर्ने उनले बताए । ‘मानसिक रोगको उपचार गर्ने छुट्टै अस्पताल तत्काल प्रदेशको साधन स्रोतबाट बनाउन नसकिएला’ मुख्यमन्त्री पाण्डेले भने, ‘तर अस्पतालहरुमा

मानसिक रोगको उपचार गर्ने युनिट राखेर सेवा दिनुपर्छ ।’ प्रदेश सरकारले आफ्नो साधन, स्रोत र क्षमताले भ्याएसम्म आत्महत्या निरुत्साहित गर्ने, मानसिक रोगको सहज उपचारको ब्यवस्था गर्ने उनले बताए ।

विकसित देशहरुमा पनि आत्महत्याको घटना धेरै हुने गरेको बताउँदै उनले आत्महत्या गरिबीको कारण मात्र नभएको बताए । आत्महत्याका घटना, यसका कारण पहिचान गरेर सरोकारावाला सबैको सहकार्यमा गण्डकी प्रदेश भित्र आत्महत्या न्यूनिकरणको कार्यक्रम संचालन गरिनेमा उनले जोड दिए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक संघ संस्था, नागरिक समाज लगायत सरोकारावाहरुको उपस्थिति थियो । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारा सहित विश्व आत्महत्या रोकथाम दिवस २०२३ आइतबार र सोमवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप