बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
विराटनगर सन्देश सभा

विप्लवले भने– नेपाललाई युक्रेन बनाउन खोजिँदैछ

सोमबार, २५ भदौ २०८०, १४ : ५५
सोमबार, २५ भदौ २०८०

विराटनगर । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा बनेको बताएका छन् ।  माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा उनले यस्तो बताएका हुन् । 

समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको बताउँदै उनले स्पष्ट दृष्टिकोण लिएर आएको र यसले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने दाबी गरे । मोर्चालाई देशको कुनाकुना पुर्याउने उनले बताए ।  नेपालमा आज चलिरहेको संसदीय व्यवस्थालाई परिवर्तन गर्दै समाजवादमा जाने बताएका विप्लवले जनयुद्धले ठूलो परिवर्तन आएपनि जनताले अनुभूति गर्न नसकेको बताए ।

दलाल पूँजीपतिहरूले वर्तमान व्यवस्थाको जिम्मामा जाने खतरा देखेको बताउँदै उनले त्यसलाई रोक्न आवश्यक रहेकोमा जोड दिए । अहिले क्रान्तिका नायकहरूलाई अपराधी जस्तो गरिरहेको परिस्थिति बन्नुमा दलाल पूँजीवादको मुख्य हात रहेको बताउँदै उनले अब नेपाली विशेषतासहितको समाजवादमा जानुपर्ने बताए । 

परिस्थितिले फुट र जुट गराउने गरको बताउँदै उनले फुटले रमाउने तत्वहरू रमाएपनि जनता दुःखी भएको बताए । अब सन्देश दिनुपर्छ अब कम्युनिष्टहरू देशलाई आपत परेको बेला, देशलाई निकास दिन मिल्ने र कालोसपना देख्नेहरूलाई सखाप पार्ने उनले बताए । साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको बताउँदै उनले भने, ‘नेपाललाई निकास दिन नेपाली नै हुन्, कसैले युक्रेन बनाउन नखोजे हुन्छ ।’ 

माधव नेपाल र उपेन्द्र यादवहरूले सरकार र सदनमा लडे आफू सडकमा लड्न तयार भएको बताउँदै महासचिव विप्लवले क्रान्तिबाट नडराउने बताए । कार्यक्रममा पूर्वमन्त्री तथा जसपा प्रदेश इन्चार्ज रकम चेम्जोङले कोशी नामाकरण जनताले नरूचाएको बताए । छिमेकी मुलुक भारतमा कुकी समुदायमाथि भएको अत्याचार नरोकिएको बताउँदै उनले नेपालमा पनि त्यही खालको दंगा फैलाउन खोजेको दाबी गरे । 

सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप