शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन काठमाडौँ ल्याउने समूहका एकजना चिनियाँ भारतमा पक्राउ

बुधबार, २७ भदौ २०८०, २२ : ५६
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न एकजना चिनियाँ नागरिक भारतमा पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले सुन बरामद गरेपछि काठमाडौंबाट भागेका चिनियाँ नगरिक पेङ योङ सिन ‘आसिन’ पक्राउ परेका हुन् ।

भारतको सिलगुढीमा आसिन पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । काठमाडौँमा सुन बरामद भएपछि भागेका आसिनलाई भारतीय प्रहरीले ‘जासुस’को आरोपमा पक्रेर मुद्दा चलाएको थाहा भएको छ ।

साउन ४ मा सशस्त्र सीमा बलले पक्राउ गरेर उनलाई  पश्चिम बंगालको सिलगुढीस्थित खोरिबारी थानालाई जिम्मा लगाएको थियो । भेपमा ल्याएको सुनबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेपछि नै आसिन सिलगुढीतर्फ लागेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । सीआईबी स्रोतका अनुसार अहिले उनी सिलगुढीस्थित जेलमा छन् ।

पेङ योङ सिन हङकङबाट काठमाडौँमा सुन पठाउने लिन र विद्युत्तीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहका नाइके चिनियाँ नागरिक दाओजिन वाङसँग निकट छन् । तस्करीको उद्गम थलो हङकङबाट ६० किलो सुन पठाउने समूहमा ५ जना मध्ये आसिन पनि रहेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

हङकङ, नेपाल र चीन भ्रमण गरिरहने आसिनको कनेक्सन हङकङमा सुन पठाउने समूहसँग देखिएको छ । भारतीय सशस्त्र सशस्त्र सीमा बलले उनको साथबाट नेपाली पासपोर्ट र नागरिकता बरामद गरेको छ । चिनियाँ नागरिकको साथमा नेपाली पासपोर्ट भेटिएपछि भारतीय प्रहरीले उनलाई ‘जासुस’को आरोपमा मुद्दा चलाएको बताइएको छ ।

अधिकारीहरुका अनुसार आसिनले नेपालबाट नागरिकता र पासपोर्ट बनाएका छन् । ‘भारतीय प्रहरीले चिनियाँ भनेर सोधपुछ गर्दा नेपाली नागरिकता देखाएपछि उनी पक्राउ परेका हुन्’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘त्यसपछि जासुसीको आरोपमा मुद्दा चलाएको थाहा भएको छ ।’

आसिन काठमाडौँबाट भारततर्फ भागेका हुन् । उनी दाओजिन वाङ र ६० किलो सुन पठाउने समूहका अर्का सदस्य चोङ चिङ छ्वान उर्फ श्यामसँग निकट थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप