शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

अनुसन्धान निष्कर्ष : ६० किलो सुन तस्करीको मुख्य योजनाकार चिनियाँ नागरिक याओ पुचेङ्ग

हङकङबाट लिनले पठाउँथे सुन
मङ्गलबार, २६ भदौ २०८०, १३ : ३८
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुनबारे केन्द्रीय अनुसन्धान ब्यूरोले करिब ३८ दिन अनुसन्धान गरेको छ । राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । विभागले सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई दिएको हो ।

सुन बरामद गरेको ५६ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरोले ‘संगठित अपराध’ मुद्दाको अनुसन्धान पूरा गरेर अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । मंगलबार ब्यूरोले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदै छ ।

असार ३० मा हङकङकबाट काठमाडौँ आएको सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको थियो ।

सुन प्रकरणमा अहिलेसम्म ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७ जना चिनियाँ, ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भारतीय नागरिक थाप्तेन छिरिङ र बेल्जियन नागरिक दावा छिरिङ छन् ।

नेपालका ‘हाई प्रोफाइल’सँग सम्पर्कमा रहेका दावा छिरिङ सुन तस्करीको मुख्य योजनाकार नभएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ । काठमाडौँमा बसेर परिआउँदा ‘जे पनि गर्ने’ स्वभावका दावाले सुन तस्करीमा संलग्नहरुका लागि फ्ल्याट खोजिदिने, युवती मिलाइदिने र ठमेलस्थित होटल भियानामा खाने–बस्ने व्यवस्था मिलाउनले गरेका थिए । होटल भियना उनकी पत्नी अमला रोकाको नाममा छ ।

‘व्यवस्थापनको पाटोमा दावाको संलग्नता देखिएको छ,’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘व्यवस्थापन गरेबापत दावाले सुन कारोबारीबाट कमिशन लिने गरेको देखिन्छ ।’

दावा लामो समयदेखि काठमाडौँमा बस्दै आएका थिए । उनले नक्कली कागजात पेस गरेर काभ्रेबाट निमा तामाङको नाममा नेपाली नागरिकता लिएको गृह मन्त्रालयले गरेको छानबिनबाट देखिएको छ ।

अहिलेसम्मको अनुसन्धानबाट चिनियाँ नागरिक याओ पुचेङ्ग सुन प्र्रकरणको मुख्य योजनाकारको रुपमा देखिएका छन् । सुन तस्कर समूहमा ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग नै सुन ल्याउने समूहका मुख्य योजनाकार भएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘हाम्रो नियन्त्रणमा रहेकामध्ये सुन तस्करीमा पुचेङ्गको मुख्य भूमिका देखिन्छ ।’

याओ पुचेङ्ग उर्फ ‘एलेक्स’को साथमा पनि नेपाली नागरिकता भेटिएको छ । एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता लिएका हुन् ।

पुचेङ्ग ठमेलको छायाँ सेन्टरस्थित ‘वाल्डो क्यसिनो’ खेल्न गइरहन्थे । पुचेङ्गले वाल्डो क्यासिनोमार्फत अनधिकृत रुपमा रकम हङकङ पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ ।

छायाँ सेन्टरमा सञ्चालित वाल्डो मार्फत ‘हुण्डी कारोबार’को शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । ‘क्यासिनोमा खेल्नका लागि चिप्स किन्नुपर्ने हुन्छ, तर, एलेक्सले लाखौँ रुपैयाँ चिप्स नकिनेर नै क्यासिनोमा डिपोजिट गर्ने गरेको देखिन्छ,’ सीआईबीका एक अधिकृत भन्छन्, ‘वाल्डोमार्फत अनधिकृत रुपमा रकम ट्रान्सफर भएको देखिन्छ ।’

केन्द्रीय अनुसन्धान ब्यूरोले वाल्डोको एकाउन्ट हेर्ने अधिकारीसँग बयान लिएको छ । पुचेङ्ग भदौ १ मा पक्राउ परेका थिए ।

लिनले पठाउँथे सुन

हङकङबाट ‘लिन’ नामका चिनियाँ नागरिकले सुन पठाउने गरेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । लिनले पठाएको सुन पुचेङ्गको योजना अनुसार काठमाडौँमा गालेर भारतसम्म पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

पुचेङ्गभन्दा माथिल्लो लेयरमा देखिएका छन् चिनियाँ नागरिक श्याम । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार सबैभन्दा माथिल्लो तहका सुन तस्कर हुन् लिन ।

६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको थियो । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा आचार्यले हङकङ गएर सुन पठाउने समूहको सूचना संकलन गरेर फर्केका छन् । सीआईबीले सुनको अनुसन्धानमा इन्टरपोलको पनि सहयोग लिएको छ ।

काठमाडौँबाट पुचेङ्ग र तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङले सुन बजारमा पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । सुन नेपाली बजार र भारतमा लैजाने भूमिकामा थिए बुटवल घर भएका सुमन खरेल र दोलखाका किशोर बस्नेत । किशोर बस्नेत दावा छिरिङका सहयोगी हुन् । 

सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष  शिव कुमार सर्राफलाई पनि सुमन र किशोरले सुन दिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

कसको भूमिका के ?

६० केजी सुन प्र्रकरणमा ३ जना भन्सार अधिकृतसहित विमानस्थल भन्सार कार्यालयका ७ जना कर्मचारी पक्राउ परेका छन् । भन्सार अधिकृतहरु सन्तोष चन्द, गणेश पौडेल र पुष्पा जोशीले आफ्नो सिफ्टमा कार्गोमार्फत आएको सुन ‘भन्सार पास’ गर्ने भूमिका निर्वाह गरेका थिए । सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका जाँचकी  कुमार ढकाल, एक्स–रे हेर्ने नासु सरोज श्रेष्ठ, नासुहरु कमल परियार र वीरेन्द्र नेपाली थुनामा छन् ।

सुन प्रकरणमा ७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौँमा सुन ल्याउने र नेपालीलाई परिचालन गरेर भारतीय बजारसम्म सुन पठाउने काम चिनियाँ नागरिकले गरेका हुन् । चिनियाँ जीक्वाङ लिन साउन ४ मा पक्राउ परेका थिए ।

चिनियाँ नागरिक टियान मी र वेन तोङ दम्पती रेष्टुरेण्ट सञ्चालक हुन् । ठमेलमा उनीहरुले चलाएको केटीबी रेष्टुरेण्ट पनि सुन प्र्रकरणमा जोडिएको छ । डिङ सेग्फा र ली–नेङकाई एयरपोर्टबाट सुन ओसारेर टोखास्थित सुन गाल्ने कारखानामा लैजाने भूमिकामा देखिएका छन् ।

याओ पुचेङ्ग ‘एलेक्स’ मुख्य योजनाकार मध्येका हुन् । ली वेन सुङ्ग पनि व्यवस्थापकको भूमिकामा देखिएका छन् ।

ब्रेक प्याडमा सुन मगाउने कम्पनी दोलखा मेलुङ गाउँपालिका–३  घर भएका दिलिप भुजेलको नाममा दर्ता भएको भेटिएको छ । सामान्य आर्थिक अवस्थाका दिलिपले २० हजार नगद लिएर कम्पनी दर्ता गर्न कागजात दिएको सीआईबीको अनुसन्धानबाट थाहा भएको छ । दिलिप मजदुर हुन् ।

भन्सार एजेन्ट राजेन्द्र राईले प्रज्ञापन पत्र भरेर भन्सारबाट सुन जिम्मा लिएका थिए । सुन नेपाली बजार र भारतमा लैजाने भूमिकामा थिए बुटवल घर भएका सुमन खरेल र दोलखाका किशोर बस्नेत । किशोर बस्नेत दावा छिरिङका सहयोगी हुन् ।

बेल्जियन नागरिक दावा छिरिङले काठमाडौँमा बसेर सुन तस्करीमा संलग्न चिनियाँलाई कमिशन लिएर सहयोग गर्ने ‘ब्यवस्थापक’को भूमिका निभाएको प्र्रहरीको अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप