सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

भिसा बिनै भारतको बाटो हुँदै काठमाडौँ आएका थिए चिनियाँ सुन तस्कर

बिहीबार, २८ भदौ २०८०, ११ : ५०
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । ६० किलो ७ सय १७ ग्राम सुन तस्करीमा संलग्न एक जना चिनियाँ नागरिक भिसा बिना नै नेपाल प्रवेश गरेको खुलेको छ । सुन तस्करीमा संलग्न समूहलाई केन्द्रीय अनुसन्धान ब्युरोले ‘टोखा समूह’ र ‘लाजिम्पाट समूह’मा वर्गीकरण गरेर पहिलो चरणको अनुसन्धान टुङ्ग्याएको छ । टोखा समूह परिचालन गर्ने चिनियाँ तस्कर याओ पुचेङ्ग बिना भिसा नै नेपाल प्रवेश गरेका हुन् । तस्कर समूहमा उनी ‘एलेक्स’ भनेर चिनिन्छन् ।  

चिनियाँ नागरिक याओ पुचेङ्ग करिब १ वर्षअघि भारत हुँदै नेपाल आएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने,‘पुचेङ्गसँग भारतीय आधार कार्ड र नक्कली नेपाली पासपोर्ट रहेछ, ती कागजातका आधारमा उनी बिना भिसा काठमाडौंमा आएको देखिन्छ ।’

याओ पुचेङ्ग उर्फ ‘एलेक्स’को साथमा नेपाली नागरिकता समेत भेटिएको छ । एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नेपाली नागरिकता लिएका हुन् ।

भारतबाट नेपाल प्रवेश गर्दा कुन नाकाबाट छिरेको भन्नेबारे पुचेङ्गले प्रहरीलाई बताउन सकेका छैनन् । तर, उनले भनेका छन्, ‘भारतबाट नेपाल प्रवेश गरेको हुँ ।’ उनी पाँच वर्षदेखि चीन गएका छैनन् ।

ठमेलको छायासेन्टर स्थित ‘वाल्डो क्यसिनो’ मा जुवा खेल्ने पुचेङ्गले त्यहाँबाट हङहङमा रकम पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि छ । सुन तस्करीको रकम भुक्तानीमा वाल्डो क्यासिनो प्रयोग भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप