शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

छोराको उपचारमा ढिलासुस्ती भएपछि ऋचाले भनिन्–  चिकित्सालयलाई स्वास्थ्य भन्दा पैसा प्यारो

शुक्रबार, २९ भदौ २०८०, १९ : ०८
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । नेपालका अस्पताल र स्वास्थ्यकर्मीको व्यवहार प्रतिका आक्रोशले सामाजिक सञ्जाल बेलाबेलामा तात्ने गरेको छ । यस्तैमा अभिनेत्री ऋचा शर्माले पनि सामाजिक सञ्जाल मार्फत स्वास्थ्य क्षेत्रप्रति आक्रोश पोखेकी छन् । 

टाउकोमा चोट लागेका छोरा आभ्यानको उपचार गर्न चण्डोलको कोपिला क्लिनिकमा पुगेकी उनले त्यहाँका कर्मचारीले गरेको व्यवहार र स्वास्थ्य भन्दा पैसालाई दिएको महत्वको विषयमा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् ।

‘आज बिहान ११ः३० मा छोरा आभ्यानको प्रि–स्कुलमा मेचबाट लडेर टाउकोमा चोट लागेको र टुटुलको आएको छ भनेर फोन आएपछि म केही मिनेटमै त्यहाँ पुगेँ । म त्यहाँ पुग्दा छोरा दुखेर रोइरहेको देखेपछि मैले स्कुलको प्रधानाध्यापिकासँग मिलेर त्यहाँबाट मात्र दुई घर पर चन्डोलस्थित कोपिला क्लिनिक लिएर गएँ’, उनले अगाडि भनेकी छन् ‘त्यहाँ पुग्ने बित्तिकै रिसेप्सनमा मैले इमरजेन्सीमा डाक्टर बोलाइदिनुस् मेरो बच्चालाई चोट लागेको छ भन्दा ‘हुन्छ तर पहिला मेम्बरसिप रजिस्ट्रेसन गराउनुहोस् किनकि यो तपाईंको पहिलो चोटि हो । रेजिस्ट्रेसन शुल्क ४ हजार ८०० र थप डाक्टर जाँच शुल्क’ भन्ने जवाफ पाएँ ।’ आफूले सबै गरौला डाक्टर बोलाइदिनुस् भन्दा फेरि पहिला रेजिस्ट्रेसन गर्नुस् भनेको र त्यहाँको व्यवहार देखेर घिन नै लागेको उनले उल्लेख गरेकी छन् ।

‘मैले मेरो बच्चालाई लिएर तुरुन्त उसलाई देखाइरहेको डाक्टरका लगें । कुरा ४५ सयको थिएन, कुरा एउटा बच्चाको चिकित्सालय जस्तो ठाउँ, त्यो पनि निजी सुविधा विश्वास दिलाउने ठाउँमा चिकित्सालयलाई एउटा बच्चाको स्वास्थ्य भन्दा पैसा कमाउने भाँडो बनाउने दुःखद दुष्प्रयासको थियो । कुरा चोट कत्तिको थियो होइन, कुरा कुनै पनि बिरामीले पाउनुपर्ने आकस्मिक र आपातकालीन अवस्थामा मेडिकल सुविधाको थियो । म बोल्दैछु किनकि कति आमा र बिरामीका परिवारले त कस्तो विपत आइपर्दा पनि बोल्ने ठाउँसम्म पाउँदैनन् । आज एउटा नायिका होइन, एउटा आमाको गुनासो हो र एउटा सचेत नागरिकको’ उनले थपेकी छन् ।

थुप्रै फिल्म अभिनय गरेकी ऋचा पछिल्लो केही समययता अभिनय भन्दा बाहिर छिन् । आमा बनेपछि छोरा आभ्यानलाई समय दिन उनले अभिनयबाट केही समय आफूलाई टाढा राखेकी हुन् । ऋचा अभिनीत पछिल्लो फिल्म ‘ची मुसी ची’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप