बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टिकट बेचेर नाडाले कमायो सवा करोड

शनिबारसम्ममा ६५ हजारले अवलोकन गरेको दाबी
आइतबार, ३१ भदौ २०८०, १५ : ४१
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । १५औँ संस्करणको नाडा अटो सो, २०२३ आज समापन हुँदै छ । गत मङ्लबार अर्थात् भदौ २६ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको अटो सो भदौ ३१ गते (आज) समापन हुँदै छ । 

कुल छ दिन सञ्चालन हुने अटो सो लक्ष्यको करिब नजिक पुगेको आयोजक नाडाले जनाएको छ । अटो सोको पाँचौँ दिन अर्थात् शनिबारसम्ममा झन्डै ६५ हजार (६४ हजार ९ सय) अवलोकनकर्ताहरूले अवलोकन गरेको संयोजक अनुपकुमार बरालले रातोपाटीलाई जानकारी दिए । 

‘हामी लक्ष्यको निकै नजिक पुगिसकेका छौँ,’ संयोजक बरालले भने, ‘हाम्रो लक्ष्य ७५ हजार हो । पाँचौँ दिनसम्ममा ६४ हजार ९ सय जनाले सोको अवलोकन गरिसकेका छन् भने अन्तिम दिन थप ८–१० हजार जनाले अवलोकन गर्ने प्रायः निश्चित छ ।’

आर्थिक शिथिलताका बाबजुद पनि सर्वसाधारण अटो पारखीहरूको उत्साहलाई देखेर आयोजक नाडा थप उत्साहित भएको उनले बताए । अटो सोमा दुई पाङ्ग्रेदेखि चारपाङ्ग्रे, विद्युतीय गाडीहरूको खरिद–बिक्री उत्साहप्रद रूपमा भएको पनि उनले बताए । 

‘अटो सोमा केकति गाडी बुकिङ भए, कसको कुन ब्रान्डको गाडी कति खरिद बिक्री भए भन्ने यकिन तथ्याङ्क त प्राप्त भएको छैन तर यस पटक राम्रै व्यापार भएको हाम्रो अनुमान छ । विद्युतीय सवारीमा आएको लहर नयाँ ब्रान्डदेखि प्रतिष्ठित पुराना ब्रान्डहरूले समेत राम्रै व्यापार गर्न सफल भएका छन् । टाटा, हुन्डाई, सुजुकी, निसान, किया, बीवाईडीसहित नाडा अटो सोमार्फत नै भर्खरै नेपाल भित्रिएका नयाँ ब्रान्डहरूले समेत उत्साहजनक रूपमा व्यापार गर्न सफल भएका छन् । यो हिसाबले यस पटकको नाडा अटो सो भव्य रूपमा सम्पन्न हुँदै छ भन्ने हामीले विश्वास लिएका छौँ,’ उनले भने । 

अटो सोमा अतिरिक्त सवा करोडको व्यापार

१५औँ संस्करणको अटो सोमा अतिरिक्त सवा करोड रुपैयाँ बराबरको व्यापार हुने देखिएको छ । उसो त यो गाडी खरिद–बिक्रीमार्फत नभएर अटो सोमा उपस्थित अवलोकनकर्ता (भिजिटर) लाई टिकेट बेचेर आर्जन हुने पैसा हो । 

आयोजक नाडाकै अनुसार शनिबार बेलुकासम्ममा ६४ हजार ९ सय जना अवलोकनकर्ताले अटो सोको अवलोकन गरिसकेका छन् । प्रतिटिकेट २०० रुपैयाँ शुल्क तोकिएकोमा अनलाइनमार्फत काट्दा नाडाले २० प्रतिशत छुटको व्यवस्था गरेको छ । यस्तै विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरेकोमा १५० रुपैयाँ मात्र लाग्ने व्यवस्था नाडाले गरेको छ । 

यसो गर्दा आयोजक नाडाले शनिबारसम्ममा मात्र अवलोकनकर्ताबाट करिब १ करोड ४ लाख रुपैयाँ उठाइसकेको छ । यद्यपि कुल अवलोकनकर्तामध्ये कम्तीमा २० प्रतिशत विद्यार्थी रहेको हुन सक्ने नाडाको भनाइ छ । 

‘६५ हजार अवलोकनकर्तामध्ये कति विद्यार्थी छन् र कति सर्वसाधारण छन् भन्ने हिसाब निकाल्न बाँकी नै छ । विद्यार्थीको सङ्ख्या २०–३० प्रतिशत हुन सक्छ,’ संयोजक बरालले रातोपाटीसँग भने । 

अन्तिम दिन आइतबार थप ८–१० हजार अवलोकनकर्ताहरूबाट थपिने टिकेट शुल्कबापत औसत १५ लाख रुपैयाँले नाडाको अतिरिक्त आम्दानी सवा करोडमाथि पुग्ने देखिन्छ ।                                                  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप