शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्व विशेष मेला असोज ३ देखि चितवनमा हुने

आइतबार, ३१ भदौ २०८०, २१ : २७
आइतबार, ३१ भदौ २०८०

चितवन । उद्योग सङ्घ चितवनको आयोजना र नेपाली जुत्ता घरको सहकार्यमा पर्व विशेष मेला, २०८० हुने भएको छ । उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा यही असोज ३ देखि कात्तिक २ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।

एक महिनासम्म सञ्चालन हुने मेलामा जुत्ता, चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोकालगायतका उपभोग्य वस्तुहरू पाइने आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले सुरुआती तीन हप्ता जुत्ताचप्पल मेला हुने र पछिल्लो एक हप्ता खाद्यान्न, लत्ताकपडा, खसी, बोका राखिने जानकारी दिए । यसका लागि विभिन्न उद्योगहरूसँग छलफल भइरहेको उनले जानकारी दिए । उत्पादक तथा उपभोक्ता र सरोकारवालाहरूबीच प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारीकरणको प्रवर्द्धन हुने विश्वास लिइएको उनले बताए । तेह्र वटा जुत्ता कम्पनीहरूले स्टल राख्ने छन् । मेलामा दुई लाखले अवलोकन गर्ने र रु १० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

स्वदेशी उत्पादनबारे आम उपभोक्तालाई स्थलगत अवलोकन गराई स्वदेशी उत्पादनको उपभोगका लागि प्रोत्साहन गर्नु मुख्य उद्देश्य रहेको उनले जानकारी दिए । मेलामा नेपाली उद्योगबाहेक अन्य उद्योगको उत्पादन बिक्री वितरण गर्न नपाइने र सबैको मूल्य सूची टाँस गरिने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नयनराज घिमिरेले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन मेलाको आयोजना गर्न लागिएको बताए । नेपाली उत्पादनका लागि अहिले मुख्य चुनौती न्यून बिजकीकरण रहेको उनको भनाइ थियो ।

नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले अहिले नेपालमा वार्षिक १० करोड जोर जुत्ताको माग भइरहेको जानकारी दिए । अहिले नेपालका उद्योगहरूले १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता भए पनि ६२ प्रतिशतमात्र उत्पादन हुँदै आएको उनले बताए । उनका अनुसार वार्षिक दुई करोड जोरभन्दा बढी जुत्ता विदेशबाट नेपाल आउने गरेका छन् । नेपालमा आत्मनिर्भर व्यवसाय भएर पनि दक्ष कामदार पाउन नसक्दा समस्या भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप