बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कार्यवाहक प्रधानमन्त्री खड्काले गरे मन्त्रीहरुसँग सामूहिक छलफल

सोमबार, ०१ असोज २०८०, २० : ३४
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । रक्षा मन्त्रालयमा सोमबार सबै मन्त्रीहरूसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले आ–आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुनेगरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवाप्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको थियो । 

छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षामा खलल पुर्‍याउने र नागरिकमा वितृष्णा फैलाउने तत्त्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिए । साथै संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्ति–सुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महँगी नियन्त्रणमा नतिजा आउने गरी तथा आम नागरिकले राहत महसुस गर्नेगरी समयसीमा तोकेरै काम गर्नुपर्नेमा जोड दिए ।

यस्तै, छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । 

बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा कार्यवाहक प्रधानमन्त्री खड्काले जोड दिए ।

छलफलमा सहभागी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्ति–सुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ–आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप