शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
‘बिपी विचार, आजको संविधान र अबको बाटो’

सानेपामा संविधानमाथि गर्मागर्मी बहस

बुधबार, ०३ असोज २०८०, १९ : ४०
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा वर्तमान संविधानमाथि गर्मागर्मी बहस भएको छ । ‘बिपी विचार, आजको संविधान र अबको बाटो’ विषयको बहसमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, पूर्व सभामुख दमननाथ ढुंगाना र संविधानविद् नीलाम्बर आचार्य वक्ता थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको सहजीकरणमा भएको बहसमा ढुंगानाले चर्काचर्की निम्त्याए । 

संविधान निर्माण मस्यौदा समितिको संयोजक सिटौला र आचार्यको मतमाथि ढुंगानाले सैद्धान्तिक रुपमै विमति राखे ।

ढुंगानाले वर्तमान संविधानमा बिपी तत्त्व शून्य रहेको भन्दै बहसलाई विवादमा लगे । ‘२०७२ सालमा बनेको संविधानमा बिपी तत्त्व छँदैछैन । बिपीवाद विरोधी संविधान हो । बीपीवादी मान्छे संविधानसभामा नै थिएनन्,’ उनले भने । 

यो संविधान माओवादीको डरमा बनेको भन्दै ढुंगानाले बहसलाई उत्तोजक बनाए । ‘२०४७ सालको संविधान बनाउन  नेतृत्व गरेको मान्छे हुँ ,’ उनले आफ्नो मत राखे, ‘तपाईँ संविधानसभाबाट संविधान बनाउन लाग्नुभयो । संविधान सभामा म छिरेको भए  यो संविधानमा उलटफेर हुन्थ्यो ।’ 

बीपीबाटै संविधानको पाठ पढेको भन्दै मौलिक हक बढी राख्दैमा लोकतान्त्रिक नहुने उनको भनाइ थियो । 

‘तपाईहरुले राखेको मौलिक एउटा पनि प्रयोगमा छैन । यो संविधानमा बिपी तत्त्वसँगै कांग्रेस र लोकतन्त्रिक तत्त्व पनि छकि छैन भन्ने भयो । कांग्रेस झुक्किएको हो कि ? यो संविधान राष्ट्रिय बबन्डर हो कि भन्ने भयो,’ उनी भन्छन् ।

यो संविधान माओवादीबाट डोमिनेट भएर बनेको उनको जिकिर थियो । ‘संविधान बनेको ५ वर्षमै माओवादीले किन बम पट्काएको भनेर प्रश्न गर्नुभयो,’ ढुंगानाको प्रश्न छ, ‘कांग्रेस ठूलो बनेर आफ्नो नेतृत्वमा सरकार बनाउन नसकेको ? यो संविधान माओवादीबाट डोमिनेट हो ।’

वर्तमान संविधानमा माओवादी निर्णायक बनिरहेको उनको बुझाइ थियो । ‘यो संविधान माओवादीको एजेन्डामा बनेको छ । नेपाली जनताको एजेन्डामा बनेको छैन । यो संविधान कार्यान्वयन हुन सकेन । अहिले ऐनहरु बनाउन कसले रोक्यो ? कि दलहरू असफल भएका हुन् ?,’ उनले भने । 

आचार्यले भने ढंगानाले ठिक विपरीत मत राखेका थिए । उनले वर्तमान संविधानमा बिपी विचार रहेको बताए । ‘बिपी कोइरालाले सात सालमा संविधानको कुरा प्रस्ट भन्नू भएको थियो । उहाँको विचार अनुसारको संविधान कृष्णप्रसाद सिटौलाले बनाउनु भयो । अहिलेको संविधानमा भएका राम्रो कुरामा बिपी विचार प्रकट भएको छ। उहाँका विचार विकसित भएर  संविधानमा लोकतान्त्रिक विचारका रुपमा आएका छन् ,’ उनले भने ।

 

संविधानमा बिपीवाद छैन भन्ने कुरा तथ्यले पनि नस्विकार्ने आचार्यको भनाइ थियो । ‘माओवादी तत्त्व लोकतन्त्रमा थिएन । अहिले पनि छैन होला । तर त्यहाँ माओवादी मात्र थिएन । दमननाथजीको जस्तै विचार राख्ने साथीहरू पनि थिएँ । संविधानमा बिपीवाद छैन भन्ने कुरा तथ्यले पनि स्विकार्दैन,’ उनले भने ।

उनका अनुसार अहिलेका संविधानमा संवैधानिक दृष्टिकोण भन्दा पनि राजनीतिक दृष्टिकोण हाबी छ । यो संविधान सहमतिको दस्ताबेज नभई सम्झौताको दस्ताबेज भएको उनले बताए ।

तर संविधानको कार्यान्वयनमा नेतृत्वले देखाएको शैली मात्र बिपीसँग नमिलेको उनले बताए ।

 ‘संविधानमा केही काल्पनिक कुरा राख्दा कार्यान्वयनमा समस्या भयो । हामीले यो ८ वर्षमा सत्ता सत्ता मात्रै भन्यौँ ,’ आचार्यले भने, ‘हामीले कानुन शासन र आर्थिक विकासमा जोड दिनुपर्छ ।  यो संविधानलाई मास्नु हुँदैन । विकसित गर्नुपर्छ । नेताहरुको असफलतालाई संविधानमाथि थुपार्नु हुँदैन ।’ 

यस्तै सिटौलाले पनि संविधानमा अन्तवस्तु केलाउँदै ढुंगानाको अभिमतलाई प्रतिवाद गरेका थिए ।  ‘अहिलेको संविधानको मूल तत्त्वमा बिपी देखिनुहुन्छ ।  २००७ सालदेखि २०६२ को अनआन्दोलनको स्प्रीडमा बनेको छ । यो संविधान माओवादीबाट प्रभावित होइन । माओवादी हामीबाट प्रभावित हो,’ सिटौलाले भने ।

लोकतन्त्रमा विश्वास नगर्ने दललाई नेपाली कांग्रेस बहुदलीय व्यवस्था भएको संविधानमा ल्याएको उनको भनाइ थियो । ‘बिपीलाई यो संविधानमा जोड्ने कुरामा हामी कहीँ रोकिँदा शून्यमा जान्छौँ,’ उनले भने ।

२०७४ पछि बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधान कार्यान्वयन गर्ने भन्दा सत्ता कब्जामा बढी लाग्दा कानुन बन्न नसकेको सिटौलाले बताए । ‘यसले संविधान कार्यान्वयन हुन सकेन । संविधान बनाउनु ठूलो उपलब्धि होइन त्यसको कार्यान्वयनबाट नागरिकले पाउने सेवा ठूलो उपलब्धि हो,’ उनले भने ।

अहिलेको संविधान अनुसार  विकासको मोडल परिवर्तन गर्नुपर्ने उनी बताउँछन् । ‘त्यसपछि मात्र संविधान कार्यान्वयन हुन्छ ।  संविधान कार्यान्वयन नगरेर समस्या सिर्जना भएको हो । संविधान फेर्न कुरा गर्नु हुँदैन  । कांग्रेसले आफ्नो विचारअनुसार संसदलाई प्रभावित गर्नुपर्छ,’ सिटौलाले भने । 

c

ढुंगानाको अभिमतमाथि सिटौला र आचार्यले प्रतिवाद अपुग देखेपछि कांग्रेस महामन्त्री गगन थापाले फ्लोरबाट जवाफ मिश्रित प्रश्न उठाएका थिए । नेतृत्वको कांग्रेसले सदनभित्र लडेर नै अहिलेको संविधान बनेको उनको भनाइ थियो ।

ढुंगानाले संसदको तेस्रो पार्टी माओवादीको सरकार बन्नुका पछाडि अहिलेको संविधानमा दोष देखाएपछि थापाले ढुंगानाले बनाएको २०७४ सालको संविधान स्मरण गराए । उनले भने, ‘ अहिले कांग्रेसको नेतृत्वमा सरकार हुनुपर्छ भन्नेमा म सहमत छु । त्यसका मेरो प्रत्यत पनि भइरहेको छ । तर, २०७४ सालको संविधानले सूर्यबहादुर थापाहरुलाई प्रधानमन्त्री बनाएको कुरा दमननाथ दाइलाई सम्झाउन चाहन्छु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप