आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमालेमा उपाध्यक्ष, उपनेता र सचिव पद रिक्त : क–कसले पाउलान् जिम्मेवारी ?

बिहीबार, ०४ असोज २०८०, १६ : ०२
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेकपा एमालेमा एक पार्टी उपाध्यक्ष, एक सचिव र संसदीय दलको उपनेता पद रिक्त भएको छ । यसअघि संविधान सभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङले उपाध्यक्ष र संसदीय दलको उपनेता दुई पद सम्हाल्दै आएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएसँगै दुवै पद रिक्त हुन पुगेका हुन् । त्यस्तै पार्टी सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी सचिव पदबाट निलम्बनमा परेका छन् । विधान त एमालेमा सात जना सचिवको व्यवस्था छ । रायमाझीको मुद्दा चाँडै टुङ्गो लागे र सफाइ पाए उनले पुन सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेमा रिक्त पदपूर्तिबारे पार्टी र नेताहरूबीच छलफलपछि मात्रै टुङ्गो लाग्ने बताइन् । उनले भनिन्, ‘यो सरसल्लाहमा हुने कुरा हो ।’ नेकपा एमालेको विधान अनुसार २०७८ मंसिरमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले एक वरिष्ठ उपाध्यक्ष र ६ जना उपाध्यक्ष चयन गरेको थियो ।

एमाले पार्टी विधानको धारा –१६ मा राष्ट्रिय महाधिवेशनले अध्यक्ष– १, वरिष्ठ उपाध्यक्ष– १, उपाध्यक्ष– ६, महासचिव– १, उपमहासचिव– ३, सचिव– ७ समेत ३०१ सदस्यीय केन्द्रीय कमिटी ५ वर्षे कार्यकालका लागि निर्वाचित गर्ने व्यवस्था छ । ११ औँ महाधिवेशन आउन अझै झण्डै तीन वर्ष बाँकी रहेको छ । वरिष्ठ उपाध्यक्षबाहेक ६ उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेम्वाङ निर्वाचित भएका थिए । त्यस्तै २०७९ को निर्वाचनपछि दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र कानुनका समेत जानकार रहेका नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत गरेका थिए ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले रिक्त उपाध्यक्ष पदपूर्तिबारे कुनै छलफल नभएको भन्दै शोकमा रहेकाले त्यसबारे तत्काल कुनै निर्णय हुने आफूलाई नलागेको बताए ।

‘अहिले हामी शोकमै छौ, त्यसबारे अहिले नै केही सोचेका पनि छैनौ’, गौतमले भने,‘उपाध्यक्ष पद केही समय रिक्त नै रहन्छ होला भन्ने लाग्छ । यद्यपि छलफल नभएको कुरामा यसै हुन्छ भन्न सकिँदैन ।’

यसअघि उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित हुँदा पनि एमालेले सो पद लामो समय (दसौँ महाधिवेशन) सम्म रिक्त नै राखेको थियो । त्यस्तै एमाले संसदीय दलको विधानमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक रहने व्यवस्था छ । दलको नेता अध्यक्ष केपी शर्मा ओली रहेका छन् भने प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला रहेका छन् । आवश्यकता अनुसार दलको नेताले उपनेता नियुक्त गर्न सक्ने व्यवस्था छ ।

सम्भावित को हुन सक्छन् ?

एमाले नेताहरूका अनुसार रिक्त दुई पदमा औपचारिक छलफल नभए पनि नेताहरूबीच उपाध्यक्ष र दलको नेता को बन्लान् भन्ने चासो बढेको छ । दुवै पदमा आवश्यकता अनुसार अध्यक्षले उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिन सक्ने उनीहरूको भनाइ छ । यस्तोमा उपाध्यक्ष समेत रहेका नेता विष्णु पौडेलले दलको उपनेताको जिम्मेवारी पाउने सम्भावना बढि रहेको नेताहरूको भनाइ छ ।

‘अध्यक्षपछिको पार्टी पदाधिकारीमा सांसद समेत रहेका विष्णु पौडेल हुनुहुन्छ । यो हिसाबले हेर्दा उपनेताको जिम्मेवारी पनि उहाँले नै पाउने सम्भावना बढी छ’, एक नेताले रातोपाटीसँग भने, ‘रिक्त उपाध्यक्षमा भीम रावललाई ल्याउँदा राम्रो हुनसक्छ भन्ने हाम्रो बुझाई छ ।’ नेता रावल गत २०७९ को निर्वाचनपछि पार्टी जिम्मेवारी विहीन छन् । रावललाई पार्टी कामको जिम्मेवारी दिनेबारे सचिवालय बैठकमा छलफल भए पनि ठोस निर्णय गरिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप