शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, देशभर पठनपाठन ठप्प
काठमाडौँ । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि जारी आन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको थियो ।
दुई पक्षबीचको वार्तामा बुँदागत रूपमा छलफल भएको भन्दै कानुनमन्त्री धनराज गुरुङले सकारात्मक छलफल भएको दाबी गरे । उनले शिक्षकहरूका मागको बारेमा आज फेरि बैठक बसेर सहमति जुटाउन प्रयास गरिने बताए । सहमति जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने उनको भनाइ थियो ।
यस्तै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बिहीबारको बैठकमा सामान्य छलफल मात्रै भएको बताए । उनले भने, 'औपचारिक वार्ता गर्न समितिका लागि पत्र लेखिँदैछ । आजको लागि माहौल तयार मात्रै भएको हो । पत्र आएपछि औपचारिक वार्ता हुन्छ' अध्यक्ष भण्डारीले सहमति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए ।
विद्यालय शिक्षा विधेयकको विरोधमा महासंघको अगुवाइमा शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।
गत वर्षको तथ्याङ्कअनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका छन् । त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार छ विद्यार्थी छन् । महासङ्घले सामुदायिक विद्यालयका अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।
सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण