आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राजतन्त्र माओवादीले नभई बिपीको विचारबाट फालियो : पूर्वसभामुख ढुंगाना

शुक्रबार, ०५ असोज २०८०, १६ : २६
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभई बिपीको विचारबाट फालिएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए । उनले बिपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहेको बताए । 

पूर्वसभामुख ढुंगानाले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजतन्त्र राख्ने पक्षमा बिपी भएको बताए । उनले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो गर्यौं भन्ने ठाउँ नरहेको बताए ।

उनले भने, ‘मेरो अनुभवले यो भन्छ कि २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ । राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो ? त्यो संविधानले सक्दैन थियो । राजासँग हामी लडेका थिएनौँ ? बिपी कोइरालाको विचार हेर्नुस् त । उहाँले राजालाई संविधानसभा भित्र बस्छौ कि बस्दैनौ ? भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो । बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो । यो माओवादीले फालेको हो र ? बिपीको विचारले फालेको हो । बिपी फालिहाल्नेमा हुनुहुन्न थियो । संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ । होइन भने फाल्छौँ भन्नुभएको थियो । त्यसकारण यो माओवादीले फालेको होइन । फालेर राम्रो ग¥यो त ? त्यो पो चाहियो छ ।’

कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं एमाले नेता अग्नि खरेलले संविधान संशोधनको मामिलालाई धेरै नकारात्मक रुपमा लिँदा २०४७ सालको संविधानको हालत जस्तै हुने बताए । उनले २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐनले अहिलेको संघीयताको भन्दा बढी स्थानीय तहमा अधिकार दिएको बताए । उनले संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानमाथि नै प्रश्न उठेर परिवर्तन गर्नुपरेको बताए । उनले संविधान संशोधन जरुरी रहेको र संघीयतालाई अझै पनि परीक्षण गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा माओवादी नेता एवं पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अहिलेको संविधान टिकाउनुपर्ने बताए । उनले अहिलेको संविधानलाई आवश्यक स्थानमा परिमार्जन र संशोधन गर्नुपर्ने बताए । उनले संशोधन र परिमार्जनका लागि कुनै आयोग गठन हुनुपर्ने बताए । निर्वाचन प्रणाली संशोधन हुनुपर्नेमा आफू सहमत रहेपनि गणतन्त्र, धर्म निरपेक्ष, संघीयता र अन्य फण्डामेण्टल कुरा कुरामा संशोधन गर्न नसकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप