सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

शनिबारदेखि प्रहरी–कर्मचारीलाई योग र ध्यान सुरु : कसरी गराउँदैछ गृह मन्त्रालयले यो काम ?

शनिबार, ०६ असोज २०८०, १८ : २७
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले असोज ४ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरीलाई हरेक दिन केही समय योग ध्यानको कार्यक्रम लागू गर्ने जानकारी गराएका थिए । नभन्दै शनिवार उनले सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरेर प्रहरी संगठनमा योग ध्यानको कार्यक्रम अघि बढाउने कामको उद्घाटन गराए । 

सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ गरिएको छ ।

गृह मन्त्रालय र मातहतका विभागहरू, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरू, प्रहरीका माथिल्लो तहका अधिकारीहरूसहित २५० जनाको सहभागितामा एक दिवसीय ध्यान योग शिविर सम्पन्न भएको छ ।

सो अवसरलाई सम्बोधन गरेका राष्ट्रपति पौडेलले शरीर, तन, मन शुद्ध राख्न र शारीरिक, मानसिक रूपमा स्वस्थ बन्न योग ध्यान आवश्यक रहेको बताएका छन् ।  बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म भएको सो कार्यक्रम कर्मचारीलाई शारीरिक र मानसिक रूपमा अझ बढी स्वस्थ बनाउने र कार्यसम्पादनमा त्यसको प्रतिविम्ब देखिने गरी कर्मचारीलाई सशक्तीकरण गर्ने उद्देश्यले योग ध्यान कार्यक्रम सुरु गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

रातोपाटीसँग कुरा गर्दै प्रवक्ता भट्टराईले भने– ‘मन्त्रीज्यूको र हाम्रो आवश्यकता के हो भने घरमा योग ध्यान गर्ने कुरा त छँदैछ । अफिस आएपछि पनि १५ मिनेट योग ध्यान गरेर काम सुरु गर्ने, त्यसले सेवाग्राहीसँग नम्र व्यवहार, तनाव व्यवस्थापन र कार्यसम्पादनमा सकारात्मक नतिजा आउँछ भन्ने नै हो ।

अफिसमा, व्यक्तिगत जीवनमा योग ध्यान गर्दा ३ देखि ८ गुणा क्षमता बढ्छ भन्ने अध्ययनको नतिजा रहेछ । यसले शारीरिक मानसिक रूपमा सकारात्मक नजिता आउँछ भन्ने विश्वास गरेका छौँ ।’  तत्कालका लागि माथिल्लो तहका प्रहरी तथा कर्मचारीका लागि योग ध्यान शिविर राखिएको र बिस्तारै अन्य तहमा पनि यस्तो कार्यक्रम गर्ने योजना रहेको उनले बताए । 

जिल्ला–जिल्लामा योग र ध्यानको कार्यक्रम कसरी लाने भनेर तय गर्न बाँकी रहेको र मन्त्रालयले यसबारे गृहकार्य गर्ने भट्टराईले बताए । देशका सबै ठाउँमा कार्यक्रम लागू गर्ने योजना रहेको बताउँदै उनले कार्यालयमा काम सुरु गर्नुभन्दा अगाडि १५ मिनेट योग ध्यानको अभ्यास गर्ने योजना रहेको बताए । यसका लागि बाध्यकारी नीति नबन्ने तर कर्मचारी तथा प्रहरीले आफूलाई स्वस्थ राख्नका लागि आफैँले स्वैच्छिक रूपमा गर्न सक्ने उनले बताए ।  

यता नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले प्रहरीलाई मात्र नभएर योग ध्यान सबैलाई आवश्यक पर्ने भएकोले सशस्त्रको हेडक्वाटरबाट सुरु गरिएको बताए । योग–ध्यान अध्यात्मको बाटोबाट स्वस्थ हुने, कामलाई एकाग्रता गर्ने, शान्ति, समता, सकारात्मक वातावरण बनाउने भएकोले यो कार्यक्रम उपलब्धिमूलक हुने बताए । 

प्रहरीको आधारभूत तालिममा पनि योग र ध्यानको विषय रहेको बताउँदै उनले सबै राष्ट्रसेवकलाई काममा एकाग्र भएर लाग्नका लागि सुरुवात हुन सक्ने बताए ।  उनले भने– ‘काम सुरु गर्नुभन्दा अगाडि एकाग्र भएर सुरु गर्ने सन्दर्भ हो । आज उद्घाटन भएको छ यसलाई आत्मसात्  गर्दै जाने भन्ने छ ।

यसको मूल उद्देश्य भनेको शान्ति, एकता, भाइचाराको विकास गर्ने भन्ने हो । योग ध्यान गर्नका लागि सबै एकै ठाउँमा जमघट नै हुनुपर्छ भन्ने छैन । बसेकै ठाउँमा पनि, कार्यस्थलमै पनि, घरमा पनि, फुर्सदको खाली समयमा पनि आफ्नो स्वास्थ्य र एकाग्रताको लागि जतिखेर गर्दा पनि हुन्छ ।’  गृह मन्त्रालयले सबै जिल्लाहरूमा रहेका कार्यालयहरूमा योग ध्यान गर्नेबारे परिपत्र गर्ने तयारी गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप