शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार रिसाललाई सम्मान गर्न निवासमै पुगे राष्ट्रिय समावेशी आयोगका पदाधिकारी

सोमबार, ०८ असोज २०८०, १५ : ३४
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ । आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिनासहितको पदाधिकारी टोलीले अनामनगरस्थित रिसाल निवासमै पुगेर उनलाई सम्मान गरेको हो ।     
     
 त्यस अवसरमा टोलीले आयोगको कार्यक्षेत्र, जिम्मेवारी र गरिरहेको कार्यसम्पादनबारे वरिष्ठ पत्रकार रिसाललाई जानकारी गराउँदै कार्य जिम्मेवारीलाई थप प्रभावकारी तुल्याउन राय, सल्लाह र सुझाव माग गरेको थियो ।     
     
 वरिष्ठ पत्रकार रिसालले आफनो दीर्घ जीवनको रहस्य सुनाउँदै कर्तव्य पूरा गर्ने, भोलिको चिन्ता नगर्ने र नढाँट्ने विषयले आफूलाई समाजमा परिचित गराएको बताए । छ्यानब्बे वर्षीय रिसालले भने, “समाजमा ढाँट्न हुन्न भन्ने मान्यता राखिन्छ, तर राजनीतिमा नढाँटी नहुने रैछ, अनि कसरी देशले समृद्धि हासिल गर्न सक्ला ? पनाती पुस्तासम्म देखेको छु, अहिले पनि मेरो जीवन राम्रो छ ।”     
     
 उनले देशको विकास होस्, सबै नेपालीले मिठो मसिनो जे जुट्छ खान पाओस, भोको पेट बस्न नपरोस्, राजनीतिमा लागेका नेताले कसैलाई पनि नढाँटुन भन्ने आफूले कामना गरेको बताए ।      
     
 अध्यक्ष तिमिल्सिनाले नेपाली समाजमा जेष्ठ नागरिकमध्ये पत्रकार रिसाल बौद्धिक, सक्रिय र प्रेरणादायी भएकाले भेटेर छलफल गर्न, अनुभव सुन्न र जानकारी हासिल गर्न तथा आर्शिवाद प्राप्त गर्न आएको जानकारी गराए ।   
     
 पत्रकार रिसालले अब आफ्नो जन्म दिवसमा पुस्तक प्रकाशन गर्ने भन्दा बाहेक अरु इच्छा नरहेको बताउँदै जनचाहनाअनुरुप देश विकासको पथमा नहिँडेकाले ओहदामा बस्नेलाई मुलुकको हितमा काम गर्न सुझाव दिए । 
     
आयोगले ज्येष्ठ नागरिक, कर्णाली, पीछडिएको क्षेत्र, विभिन्न जातजातीलगायत १० वटा क्षेत्रमा कार्यविभाजन गरी काम गर्दै आएको छ । टोलीमा आयोगका सदस्यहरु विष्णुमाया ओझा, हरिदत्त जोशी, पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप