सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फार्मेसीका नाममा भइरहेका गैरकानुनी काम रोकिनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

सोमबार, ०८ असोज २०८०, १८ : ५८
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैर कानुनी कामहरु बन्द हुनु पर्ने बताएका छन् ।

नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी नै नपढेका मानिसहरुले फार्मेसी चलाउने गरेको, दर्ता नै नगरी फार्मेसी चलाउने गरेको, नवीकरण नै नगरी फार्मेसी चलाउने गरेको, अर्कैको सर्टिपिकेट राखेर फार्मेसी चलाउने जस्ता गैर कानुनी काम फार्मेसीको क्षेत्रमा भइरहेकाले यस्ता गतिविधि तत्कालै रोकिनु पर्ने बताएका छन् । 

स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको नेतृत्वमा फार्मेसीहरुको अनुगमन तीव्र पारेको बताउँदै मन्त्री बस्नेतले कानुन विपरीत सञ्चालित फार्मेसीहरुलाई सचेत गराउनेदेखि सिल गर्नेसम्मका कारबाही अगाडि बढाइएको जानकारी दिए । 

उनले भने,‘फर्मासिस्टको तुलनामा फार्मेसीको संख्या बढी रहेको पाइएको छ । यो हुनु हुँदैन । कानुन विपरीत अर्कैको फोटो झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारबाही गर्छौ ।’ देशमा फार्मेसी पढेकाले काम नपाएर बस्नु पर्ने तर नपढेकाहरुले अर्कैको फोटो झुन्ड्याएकै भरमा फार्मेसी चलाउने प्रवृत्ति अन्त गर्नु पर्नेमा मन्त्री बस्नेतको जोड थियो । 

स्वास्थ्य क्षेत्र सुधारका लागि आफू दिनरात नभनी लागिपरेको दाबी गर्दै मन्त्री बस्नेतले निजी अस्पतालहरुमा समेत विपन्नका लागि १० प्रतिशत शय्या निस्शुल्क गर्न सक्नु, पावरका भरमा काजमा रहेका साढे ८ सय स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्न सक्नु र केन्द्रीय अस्पतालहरुका साढे ३ हजार जनरल शय्या विपन्नका लागि निस्शुल्क गर्न सक्नु चानचुने कुरा नभएको बताए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जनताले गुणस्तरीय औषधिका साथै औषधिका विषयमा सही सूचना प्राप्त गर्नका लागि फार्मेसीमा फर्मासिस्ट हुनै पर्ने बताए । उपभोक्तालाई औषधिका विषयमा सही सूचना प्रदान गर्ने जिम्मेवारी पनि फर्मासिस्टको भएको महानिर्देशक ढकालले बताए । 

नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले औषधि क्षेत्रको विकासमा फार्मेसी र फर्मासिस्टहरुको अहं भूमिका रहेको स्मरण गरे । फर्मासिस्ट औषधि पशलेमात्र हो भन्ने मनसायबाट फर्मासिस्ट गाइडेड हुनु नपर्नेमा पाण्डेको जोड थियो । 

कार्यक्रममा नेपाल फार्मेसी संघका अध्यक्ष किरण ढकालले फार्मेसी र फर्मासिस्ट एउटै सिक्काका दुई पाटो भएकाले यसको विकासमा सरकारले पनि ध्यान दिनु पर्ने बताए । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघकी उपाध्यक्ष मिना भट्टले नेपालमा सहायक स्तरमा फर्मासिस्टको संख्या १२ हजार र ६ हजार फर्मासिस्ट गरी कुल १८ हजार फर्मासिस्ट भएको जानकारी दिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप