सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्रीको चीन भ्रमण

चीनले नेपाललाई भू–परिवेष्टितबाट भू–जडित मुलुक बन्न सघाउने

रेलमार्गदेखि सडकमार्ग विस्तारसम्मको सम्झौता
मङ्गलबार, ०९ असोज २०८०, ११ : १३
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । चीनले नेपाललाई भू-परिवेष्टित मुलुकबाट भू-जडित मुलुक बन्न सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा चीनले नेपाललाई भू-जडित मुलुक बन्न सहयोग गर्ने सम्झौता भएको हो ।

नेपाल र चीनले संयुक्तरुपमा सार्वजनिक गरेको वक्तव्यमा लेखिएको छ, ‘दुवै पक्षबिच सडक यातायातमार्फत भू-परिवेष्टितबाट भू-जडित बन्नका लागि चीनले सहयोग गर्ने सम्झौता भएको छ ।’ यसका लागि नेपालले चीनको सडकमार्गलाई ट्रान्जिटकारुपमा प्रयोग गर्न पाउनेछ ।

नेपाल उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण, पूर्व र पश्चिममा भारतसँग जोडिएको छ । जसकारण, नेपाल भू–परिवेष्टित राज्य हो । नेपाललाई उत्तर र दक्षिण छिमेकी मुलुक नै भू–जडित बनाउने घोषणा गर्दै आइरहेका छन् ।

नेपाली पक्षको चाहनाअनुसार चिनियाँ पक्ष अरनिको राजमार्गमा चौथो चरणको मर्मत र विस्तारको काम अघि बढाउन तयार बनेको छ । अरनिको राजमार्गमा सिन्धुपाल्चोकको तातोपानीदेखि काभ्रेको धुलिखेलसम्म सडक विस्तार गरिदिन नेपाली पक्षले आग्रह गरेको थियो । जुन, आग्रह चिनियाँ पक्षले स्वीकार गरेको हो ।

यस्तै, स्याफ्रुबेसी–रसुवागढी सडकमार्गको विस्तार र मर्मतमा समेत चिनियाँ पक्षले सहमत बनेको छ । तर, यसका लागि नेपाली पक्षले साइट क्यिलर सक्नुपर्छ । यसबाहेक, टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्झौता समेत सम्पन्न भएको छ । यसले नेपाल–चीनबीचको केनेक्टिभिटी जोड्ने बताइएको छ भने काठमाडौँको चक्रपथको दोस्रो फेजको विस्तार समेत सुरु गर्ने सम्झौता भएको छ ।

सडकमार्गबाहेक, काठमाडौँ–केरुङ रेलमार्ग निर्माणको सम्भाव्यता गर्न दुवै पक्ष सहमत बनेका छन् । यसका लागि नेपाल–चीन रेलवे कर्पोरेसनको आठौँ कार्यदल बैठक छिट्टै आयोजना गर्ने सम्झौता समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप