बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

औषधि पसलबाटै लागुऔषधको व्यापार

बिहीबार, ११ असोज २०८०, २१ : ०६
बिहीबार, ११ असोज २०८०

विराटनगर । औषधि व्यवसायी संघ (एनसीडीएस) उदयपुरका महासचिव तथा औषधि व्यवसायी विरेन्द्रकुमार झाले आफ्नो फार्मेसीबाट अवैध लागुऔषध बिक्री गर्ने गरेको खुलेको छ ।

उनले औषधिको अनुचित प्रयोग गरी लागुऔषध बनाएर प्रयोगकर्तालाई बिक्री गर्ने गरेको पाइएको हो । झाको उदयपुर, चौदण्डीगढी नगरपालिका–७ मा गोपीकृष्ण मेकिडल हल सञ्चालित छ । औषधिको होलसेल पसलका रुपमा सञ्चालित सोही मेडिकल हलबाट उनले लागुऔषध बिक्री गरेको पाइएको प्रहरीको दाबी छ ।

केही अघि इलाका प्रहरी कार्यालय बेलटारले सो मेकिडल हलमा छापा हानेर ठुलो परिमाणमा औषधि बरामद गरेको छ । जहाँबाट प्रहरीले ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि दुई कार्टुन बरामद गरेको हो । उक्त  औषधि अवैध छ ।

औषधिसहित पक्राउ परेका झालाई प्रहरीले थप कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएकोमा विभागले धरौटीमा छाडेको छ । यसअघि २०७८ जेठ २० गते झालाई औषधि व्यवस्था विभागले औषधिको अनुचित प्रयोग गरी लागुऔषध दुर्व्र्यसनीलाई बिक्री वितरण गरेको पाएपछि पक्राउ गरेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि लागुऔषध प्रयोगकर्तालाई बिक्री–वितरण गर्दै आएको खुलेको छ । यी तीन वटा औषधि मिलाएर लागुऔषधको रूपमा दुर्व्यसनीहरुले सेवन गर्दछन् ।

क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्दछ । अवैध रुपमा भित्रिने यो औषधिको कारोबार पछिल्लो समय फस्टाएर गएको प्रहरी नै बताउँछ ।

यस्तै प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् । डाइसाइक्लोमाइन औषधि दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गर्दछन् । तर, कमाउ धन्दामा लागेका झाले महँगो मूल्यमा ती औषधिबाट लागुऔषधका रुपमा दुर्व्यसनीलाई बिक्री गर्दथे ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले पछि मुद्दा चलाउने भन्दै झालाई बिहीबार नै ५० हजार रुपैयाँ धरौटी रकम तोकेर छोडेका छन् ।

औषधि ऐन २०३५ को दण्ड सजायका दफा (३)उपदफा (१) र (२) मा औषधिको अनुचित प्रयोग गरेको पाइएमा १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । तर, विभागले झाको हकमा ५० हजार रुपैयाँ धरौटी लिएपछि मुद्दा चलाउने भन्दै तारेखमा राखेर छोडेको हो ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले औषधिको अनुचित प्रयोग गर्ने झालाई पछि मुद्दा पनि चलाउने बताए । पर्याप्त जनशक्ति र साधन स्रोत पनि नभएको कारण केही समस्या आएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप